– पदमप्रसाद भट्टराई
मैले झरीमा भिजेर
दरर दर्केको पानीमा रुझ्दै
आहालमा रमाएको भैँसी
गोठमा उघ्राइरहेको गाई
खेतका गरागरामा दबदब हिलो
आलीमा बसेर खाएको दही-चिउरा
सम्झिरहेछु
सबेरदेखि अबेरसम्म
माटोसँग हातेमालो गर्दै
भिजेर, ओभाएर
रुझेर, रंगिएर
धान रोपाइँ गरेका दिनहरु
‘मैजारो’ लाई पर्व जस्तै मनाएको
सम्झिरहेछु
ती खोलापैनीहरू
बढेर बाढी आएको
बाटोमाथि पानी दौडेको
वारिपारि गर्न पौडेको
ती दिनहरू ती रातहरू
गड्याङ्गुडुङका ती त्रासद मातहरू
सम्झिरहेछु
त्यहाँ पानी बर्षदा
यहाँ गर्मी बढेर पसिना बर्सन्छ
त्यहाँ चिसो झरी झरिरहदां
यहाँ तातो बाफ, तातो हावा बहिदिन्छ
त्यहाँ मलाई कसैले सम्झिदिँदा
यहाँ मलाई हिक्कहिक्क बाडुली लागिदिन्छ
अनि त सबैलाई
सम्झिरहेछु
***
प्रतिक्रिया
-
४
