
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको भर्खरै केन्द्रिय कार्यसमिति चयन भएको छ । हाल अमेरिका निवासी राजु सिटौला महासचिवमा चुनावी प्रतिस्पर्धाबाट वसजयी भएका छन् । नेपाली साहित्यकै लागि अनेसास भनिने यस संस्थाको भावी कार्ययोजना के के छन्? र ती कसरी सफल कार्यानेवयन हुन्छन् ? यी र यस्तै पाँच प्रश्न भर्खरै निर्वाचित अनेसास महासचिव राजु सिटौलाई छ । प्रश्नमा सम्पादक जीवन खत्री
१, अनेसासको महासचिवमा विजयी हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई छ । अब कार्यकाल सम्हालेपछि यहाँले गर्ने कार्यहरू के के हुन्?
– हार्दिक धन्यवाद । संस्थाको भावी कार्यक्रमहरू कस्ता रहनेछन् भन्ने विषयमा त अध्यक्ष ज्यूको नेतृत्वमा कार्यसमितिले निर्णय गर्ला तर महासचिवको पदीय दायित्व अनुरुप मैले गर्ने कार्यहरू संस्थाको आजीवन सदस्यहरूको व्यक्तिगत विवण अद्दावधिक गर्ने, संस्थाको वेबसाइटलाई चुस्त दुरुस्त राख्ने र आजीवन सदस्यहरुलाई संस्थाको कार्यक्रमहरू सबन्धी सूचनाहरु कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहनेछन् ।
२, चुनाब नहोस् भन्ने धेरैको चाहना भए पनि लोकतान्त्रिक पद्धति मार्फत यहाँ विजयी हुनु भएको छ । यहाँको प्रतिद्वन्दीकोको योजनाहरूलाई कसरी हेर्नुभएको छ । उहाँलाई कसरी समेट्नुहुन्छ ?
– वास्तवमा स्वस्थ रुपमा चुनावी प्रतिस्पर्धा हुनु संस्थाको लागि राम्रो हो । यसमा मतदाताहरूले उम्मेदवारहरूलाई आफ्नो कुरा सुनाउने र आफ्नो अधिकार प्रयोग गर्न अवसर पाउछन् । जहाँसम्म आफ्नो प्रतिद्वन्दीको योजनाहरूलाई सम्बोधन गर्ने कुरा छ मलाई लाग्छ हाम्रा उम्मेदवारहरूको योजनामा त्यस्तो ठूलो अन्तर छैन । नेपाली भाषा-साहित्यलाई अगाडि बढाउने कुरा, कृतिहरुको अनुवाद गर्ने कुरा, अनेसासको भवन बनाउने कुरा । सबैको यस्तै योजनाहरू नै हुन् । प्रश्न हामीले कतिसम्म गर्न सक्छौ भन्ने हो । दुई वर्षे कार्यकाल समयको मेलो नै नपाई सकिहाल्छ । तर भ्याएसम्म र सकेसम्मका योजनाहरूलाई समेट्ने र अगाडि बढाउने कार्य हुनेछ ।
३, देश विदेश भने पनि प्रविधीले एउटै आँगन बनाएदिएको छ हामीलाई । जहाँ रहे पनि सबैले नेपाली भाषालाई माया गरिहरनु भएको छ । जहाँ बसेर पनि नेपाली भाषामा साहित्यिक कृतिहरू लेखिएका छन् । तर नेपाली भाषाका कृतिहरू अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने खासै उपस्थिति छैन भन्दा हुन्छ । किन यस्तो भयो? नेपाली साहित्य कमजोर नै हो कि? सम्बन्धित निकायको असक्षमता? तर पनि तपाईँहरूको त पहुँच पनि छ, क्षमता पनि र अब एउटा भव्य टिम पनि छ । के गर्नु सक्नु हुन्छ यो दुई वर्षे कार्यकालमा?
– निश्चय पनि नेपाली साहित्यकारहरूको कृतिलाई विश्वव्यापी रुपमा छरिएर रहनुभएका नेपालीहरू बिच पुर्याउन अनेसासले भूमिका खेल्न सक्छ । अहिलेको अवस्था भनेको अनेसासका आफ्नै कार्यक्रमहरू सम्बन्धी सूचना हामी हाम्रो २८०० भन्दा बढी आजीवन सदस्यहरू माझ पुर्याउन सकिरहेका छैनौ । मेरो उद्देश्य भनेको अनेसासका सबै आजीवन सदस्यहरुलाई संचारको माध्यमबाट अनेसाससँग जोड्नु हो । त्यस्तो गर्न सकियो भने हामीले नेपाली साहित्यकारको कृतिको बारेमा पनि बढी भन्दा बढी पाठकहरूलाई सूचना पुर्याउन सक्छौ र यसले केही प्रभाव अवश्य देखाउने छ ।
४, अनेसास नेपाली भाषा साहित्यलाई माया गर्ने एउटा पुरानो संस्था हो? हरेक दुई वर्षमा विशिष्ट कृतिहरूलाई पुरस्कार समेत दिन्छ । ती कृतिहरू पुरस्कारका लायक हुन् भने तिनीहरूलाई अनुवाद गरेर विश्वबजारमा पुर्याउने कार्य अनेसास कार्यसमिति र, बोर्ड अफ ट्रष्टीले किन नगरेको होला? अबका दिनमा के गर्ने योजना छ?
– हामी नेपाली कृतिहरूलाई अनुवाद गर्ने सम्बन्धमा धेरै कुरा गर्छौ । तर कृति अनुवाद गरेर मात्र त भएन । त्यस्ता कृतिहरू विश्व बजारमा कसरी पुर्याउन सकिन्छ ? त्यसको लागि उपयुक्त माध्यमहरू के के हुन सक्छन् ? भन्ने कुराको पहिचान गरेर काम गरियो भने मात्र केही हुन सक्छ । मलाई लाग्छ विश्व वजार र पाठकहरू समक्ष हाम्रा अनुवादित कृतिहरूलाई पुर्याउने उपयुक्त माध्यम खोज्नु नि पहिलो आवश्यकता हो ।
५, अनेसास बिशेषत विश्वभरि छरिएका नेपाली साहित्यलाई माया गर्ने र नेपाली भाषामा लेख्ने स्रष्टाहरूलाई जागरण गर्ने पनि संस्था हो भन्ने मेरो एक खालको बुझाई छ । तर प्रवासमा बसेर साहित्य सृजना गर्नेहरू अधिकांशलाई सस्ता, सतही सृजना गर्ने तर कुरा ठूला गर्ने । आर्थिक पहुँचको भरमा कृति प्रकाशन गर्ने, एकाध पुरस्कारहरू समेत कसकसो फुत्काउने भन्ने आरोप कहिले कसो सुनिन्छ । साँच्चै तेस्तै हो कि ?
– गम्भीर चिन्तन सहितको साहित्य सृजना भएको निकै कम देख्न पाईन्छ । किन यस्तो होला ? हामीले के गर्न सकिएला
नेपालमा जुन स्तरको लेखन हुन्छ विदेशमा रहेर त्यही स्तरमा लेख्ने लेखकहरू हुनु नभएको होइन । तर एउटा यथार्थ के हो भने विदेशमा बसेर व्यवसायिक रुपमा लेख्न त्यति सजिलो छैन । धेरै कृतिहरू सौखिन रुपमा पनि लेखिएका छन् । अनि कतिपयले मिडियाबाजी पनि गर्छन् । तर अनेसासको काम भनेको निम्न स्तरको कृतिलाई राम्रो भनेर ट्याग लगाउनु होइन । हाम्रो काम लेखकहरूलाई लेख्नको लागि हौस्याउनु चाँही पक्का पनि हो । सौखिन रुपमा लेखिएका कृतिहरूलाई केही समय मिडियाले उचाले पनि तिनिहरूको आयु लामो हुँदैन । प्रवासमा रहेर लेख्ने लेखकहरूबाट गम्भिर चिन्तन सहित लेखिएका कृतिहरू आउँदै नआएका भन्ने पनि होइन तर यो क्रम बिस्तारै बढ्दै छ । अनेसासले यसको लागि आवश्यक वातावरण बनाउने कुरामा भूमिका खेल्नसक्छ र खेल्नुपर्छ ।
***
प्रतिक्रिया
-
४