– रविन विष्ट
गजल १,
मेहनति माहुरी जस्तो, बनिएन उद्यमी जस्तो
जिन्दगीले बनाइदिएको छ, कठपुतली जस्तो
आफ्ना रहरलाई खोक्रो, बनाइरहेछ कोही ,
चुक झिकेको निबुवा, रस झिकेको कागती जस्तो
समय भएको छ कुँजो ,आफ्नै कारागारमा,
अनि यादहरू चैँ, भएका छन औषधि जस्तो
तिमी बसिरहेछौ भरिएको, शान्त तलाउ झैँ,
तिमीमा समाहित हुन, बगेको हुँ म नदी जस्तो
गजल २,
म सिपालु ठान्थें सधैँ, कुरा चलाउन
तिमी ज्यादा जान्ने रैछौ, छुरा चलाउन
सानो कुरा गर्नै हुन्न, आगो ओकाल्दछन
हुन्न बाबा अचेलका, भुरा चलाउन
जान्न भन्छु जब जब, तिम्रो समिपमा
अनायासै थाल्छौ तिमी, चुरा चलाउन
न ठान्नु ल दुनियाँ ले , “रवि” बिग्रीएछ,
बियोगमा थालेको हुँ, सुरा चलाउन
***
प्रतिक्रिया
-
४
