उषा शेरचन नेपाली साहित्यमा परिचित नाम हो । यामकुमारी र झपटकुमारी भट्टचनकी सुपुत्री उषा शेरचन २०१२ भदौ ६ गते पोखरामा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त शेरचन हाल पुलचोक, ललितपुर बस्नुहुन्छ । २०३५ सालमा गोरखापत्रमा ‘जिन्दगी’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा झुल्किनुभएकी शेरचनको पहिलो कृति ‘नजन्मेका आस्थाहरू’ (२०४८) कवितासङ्ग्रह हाे । तेस्रो रङ कथा सङ्ग्रह, आधि उपन्यास उहाँका चर्चित कृतिहरू हुन् । उहाँका केही मुक्तकसङ्ग्रह तथा गीति एल्बमहरू पनि प्रकाशित छन् । शेरचन पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), भूपी स्मृति सम्मान (२०५७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ ।

उषा शेरचनको भर्खरै बेग्लै म कथा सङ्ग्रह प्रकाशित भएको छ । यसै कृतिमा आधारित रहेर सम्पादक जीवन खत्रीले शेरचनसँग गरेको पाँच प्रश्न र उत्तरहरू :

१, बेग्लै म कथा सङ्ग्रहका बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न, जुन पढेर पाठक यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

-मैले कथा लेख्दा विद्यालय अथवा विश्वविद्यालयमा पढाउने हिसाबका सिद्धान्त अर्थात् कथाका आकार र प्रकार वा ढाँचा भित्र भन्नाले सैध्दान्तिक हिसाबले कहिल्यै लेखिन । त्यसैले कथामा हुनु पर्ने सैध्दान्तिक नियमको परिधिभित्र कैद हुन्नन् मेरा कथाहरू । मैले त समाजमा उठाउन अत्यावश्यक मुद्दाहरू र समाजमा व्याप्त कुरीति, विसङ्गति, मानवीय सम्बन्धले निम्त्याउने विभिन्न उलझन, समस्या र मानसिक अवस्थाका अनेकन उहापोह र जटिलताका साँधहरू भत्काउँदै समाज रुपान्तरणका लागि चाहिने तत्वहरू त्यो पनि सकारात्मक हिसाबले भने उठाइरहेकी हुन्छु एउटा मानव भएको नाताले र मानवीय संवेदनाको हिसाबले । मेरा कथाहरू पढ्दा पनि कथाका सैध्दान्तिक हिसाबले बौध्दिकता र कलात्मकताका हिसाबले नपढेर मानवीय सम्बन्ध र संवेदन आदिबारे कथामा पात्रहरूको माध्यमबाट दिन खोजेका कुरा वा मुद्दालाई गहिरोसँग भित्री तहमा पुगेर पढ्नुपर्ने कथाहरू भने पक्कै हो है फेरि । मेरो कथाका पात्रहरू मुर्धन्य साहित्यकार पारिजात दिदीको कालजयी ‘शिरीषको फूल’ उपन्यासका पात्रहरूजस्ता बौध्दिक पात्रहरू पनि हुन्नन् तर समाजमा अधिकांश भाग ओगटेका पात्रहरू हुने भएकोले बौद्धिकता खोज्नु पनि उपयुक्त नहोला ! त्यसैले मेरा कथाहरू पढ्दा अपेक्षा सहित नभइ अपेक्षा रहित पढ्नका लागि आग्रह भने अवश्य गर्छु आदरणीय पाठकगणसँग !

२, यसको लोकार्पण कार्यक्रम फेसबुकबाट गर्नुभयो । अलि भिन्न पनि देखियो । किन यसो गर्नुभो? हुन त यस अघिका कृतिहरू प्रत्यक्ष बिमोचन पनि गर्नु भएकै हो । दुवै अनुभव भयो । के फरक हुँदो रहेछ ?

– हजुर हजुर मेरो पहिलो कथा सङ्ग्रह ‘तेस्रो रङ्ग’ प्रकाशित भएको ठिक एक दसकपछि दोस्रो कथा सङ्ग्रह “बेग्लै म”को मुहार, मुहार पुस्तिका मार्फत सार्वजनिकरण गर्नु सबैभन्दा उपयुक्त र सान्दर्भिक लाग्यो ! आफ्नो सन्तानको मुहारलाई आफू स्वयले देखाउनुको अनुभव पनि बटुलौँ र आजको उच्च प्रविधिको विकास अर्थात् डिजिटल युग अनि सामाजिक सञ्जालको सदुपयोग पनि गरौँ न त भन्ने लाग्यो ।
राजधानी न हो आयदिन अनेकन कार्यक्रमहहरू भइरहेका हुन्छन् ! त्यसैले अत्यधिक कार्यक्रमहरू जुध्नु स्वभाविकै भयो । फेरि सबै ठाउँमा जाने साहित्य प्रेमी साहित्यकार र पाठकगण भने सबै उहीँ उहीँ। कति ठाउँमा जाने? कसकसको मन राख्ने? अनि कति ठाउँमा भ्याउने? समय दिनु माथि पनि पुस्तक पनि किनि देउ फेरि । भार माथि भार थपिने कुरो यो पनि छ !
भौतिक हिसाबले जेजस्तो भव्य कार्यक्रम गरे तापनि पोस्ट गर्ने त आखिर सामाजिक सञ्जालमा नै हो । त्यसमा पनि विशेषगरी फेसबुकमै भने पनि भो !
भर्चुअल वर्ल्डको जमानामा भर्चुअल निम्तो दिनु वा सूचित गर्नु नै सबैभन्दा बढी सजिलो माध्यम लाग्छ मलाई !
मैले आफूलाई साँच्चिकै भाग्यमानी मान्छु कि मलाई मेरा अग्रज दाजुदिदीहरू, समकालीन साथीभाइहरू र अनुज भाइबहिनीहरू सबैको माया सद्भावना र हार्दिकता उतिकै मात्रामा प्राप्त छ । यति हुँदाहुँदै पनि राजधानी न हो साहित्यिक सामाजिक र साङ्गीतिक कार्यक्रमहरू अत्यधिक भइरहनेगर्छ ! यस हिसाबले उहाँहरू सबैलाई माया र सद्भावनाले बोलाए तापनि कतै सजाय पो दिइरहेकी छु कि? भन्ने भान पनि  हुन्छ । हुनत मलाई यस्तो भान भए तापनि उपस्थिति हुनुहुने आदरणीय साहित्य प्रेमी बन्धुहरूलाई त्यस्तो नलाग्न पनि सक्छ त्यसो त ! मेरो मनको फितूर मात्रै पनि हुनसक्छ !
विनम्रता, दम्भ, घमण्ड अर्थात् अभिमान बेग्लाबेग्लै कुराहुन् तथापि कहिलेकाहीँ विनम्रतालाई अभिमानको आँखाले पनि हेर्ने गरिन्छ त कहिले कमजोरीको हिसाबले। तर मेरो हकमा भने विनम्रता नै बढी हो नकि दम्भ वा अभिमान वा कमजोरी नै ।
लेख्ने लत लागेपछि नलेखि बस्न पनि नसकिने फेरि ।
त्यसो त पुस्तक निकाल्दैमा केके नै हुने पनि होइन ? ननिकाल्दैमा केके नै बित्ने पनि होइन ? र पनि लेखिरहन्छौँ हामी र पुस्तक प्रकाशन गरिरहन्छौँ हामी। किन लेख्छौँ होला हगि यति कष्ट सहेर ? कहिलेकाहीँ अचम्मित हुन्छु आफैं ! लेख्नु हाम्रो नियति नै हो त ? भन्ने पनि सोच्छु कहिलेकाहीँ । हुनत मान्छेले जे गर्छन् आफ्नो आत्मसन्तुष्टि कै लागि गर्छन् । म पनि आफ्नै आत्मअभिव्यक्तिकै लागि लेखिरहेकी हुन्छु । र,आफ्ना सिर्जनात्मक कृतिहरू नगन्य मात्रामै सही, यसरी प्रकाशित गरिरहेको हुन्छु ।
यसपटक मैले अन्य हिसाबले केही नगरि सिधै फेसबुक लाइभमा मात्रै सार्वजनीकरण गर्ने सोचमा पहिल्यैदेखि नै थिएँ ! किनभने यहाँ रहेका अधिकांश कथा पनि कोरोनाकालमा पुरै एक बर्ष घरभित्रै बस्दा लेखिएका कथाहरू हुन् । र, उतिबेला पनि सामाजिक सञ्जालले नै सबैसँग जोड्ने काम गरेको थियो ।
त्यसैले यसपटक मेरो दोस्रो कथा सङ्ग्रह “बेग्लै म” मैले बाहिर कुनै पनि स्थानमा भव्य हिसाबले कार्यक्रमको आयोजना नगरी सिधै फेसबुकमा जेठ १४ गते मेरो व्यक्तिगत वा पारिवारिक हिसाबले कुनै विशेष शुभ दिन केही होइन ? तर पहिलो कथा सङ्ग्रह २०७० जेठ १४ गते लोकार्पण भएको हिसाबले दस बर्ष पूरा गरेको खुसियालीमा दोस्रो कथा सङ्ग्रह पनि आज अर्थात् सोमवार जेठ १४, २०८१ नै यहाँहरू माझ प्रस्तुत गरौ न त भन्ने लागेर सिधै फेसबुक लाइभमा आएर म स्वयंले नै स्वयंको कृति यसरी प्रस्तुत गर्न पाउँदा मलाई पनि अति नै हर्षको अनुभूति भयो ! र, १४ हजार बढिले हेर्नु अनि अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, बेलायत र पोर्चुगल आदि देशबाट जनाउनुभएको उपस्थितिले भावुक पनि बनायो मलाई ! जुमबाट लोकार्पण भए तापनि सिधै फेसबुक लाइभबाट यसप्रकारको नौलो र पहिलोपटक भएको लोकार्पणको दिल खोलेर तारिफ पनि गर्नुभयो सबैले ।
तर फेरि:-
“सीमान्त श्रद्धेय दिज्ज्यू !
नमस्ते !
हजुरलाई प्रतिष्ठानका संरक्षकका रूपमा छत्रछाया पाउनु हाम्रो अहोभाग्य हो । त्यसमा पनि अनवरत साधनारत हजुर(स्रष्टा उषा शेरचन)को कथासङ्ग्रह ‘बेग्लै म’ को लोकार्पण गर्न पाउनु अझ गौरवको कुरा हो । हार्दिक आभारसहित हामी सममयमै हजुरको प्रेमिल उपस्थिति र केन्द्रीय आकर्षणमा कार्यक्रम निर्धारित समयमै प्रारम्भ गर्ने छौं ! !
मोमिला”
खासमा मैले यसपटक भर्चुअल वर्ल्ड फेसबुक लाइभमा मात्रै लोकार्पण गर्ने सोचेको थिएँ। तर नेपाली कलासाहित्य प्रतिष्ठानकी अध्यक्ष सशक्त कवि एवम् ललित निबन्धकार मोमिला जोशी बहिनीले भर्चुअल वर्ल्डमा मात्रै लोकार्पण गरेर कहाँ हुन्छ र दिज्जु ? भौतिक वर्ल्डमा पनि गर्नुपर्छ । हजुरले नगर्ने भए सानै सही नेपाली कलासाहित्यको तर्फबाट हजुर संरक्षक भएको नाताले गर्छौँ नि त सानो सानो हिसाबले भन्नु भएपछि मैले पनि नाइँ भन्नै सकिन !
मेरो दोस्रो कथा सङ्ग्रह “बेग्लै म” को भर्चुअल लोकार्पण २०८१ साल जेठ १४ गते का दिन फेसबुक लाइभमैँ सिधै प्रसारण भएको तर भौतिक लोकार्पण भने जेठ २३, बुधबारका दिन नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले बिबिसीको मास्टरसेफ उपविजेता संतोष शाहले दमकल चोक, झम्सिखेल/  पुल्चोक ललितपुर स्थित मिथिला थाली बाई सेफ सन्तोष शाहले भर्खर मात्रै खोलेको रेष्टुरेन्टमा नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले गरिदिएकोमा अध्यक्ष मोमिला बहिनी लगायत सम्पूर्ण पदाधिकारी भाइबहिनीहरूप्रति साँच्चिकै आभारी छु ।
र, भर्चुअल र भौतिक दुवै तरिकाले लोकार्पण गर्न पाउँदा दुवै हातमा लड्डु मिलेझैँ अनुभूति भइरहेको छ मलाई !

३, विश्वेश्वरप्रसाद कोइराला, भूपि शेरचन देखि भर्खर सिक्दै गरेका भाइबैनाहरू सम्म समेत संगत गर्नुभयो । आजका पुस्ताहरूले पनि उत्तिकै माया दिएका छन् । त्यति लामो अनुभव साहित्यमा बटुल्नु भएको छ । हिजो र आजमा के फरक छ?

-मैले माथि पनि भनिसकेँकी  म आफूलाई साँच्चिकै भाग्यमानी मान्छु किनभने मलाई मेरा अग्रज दाजुदिदीहरू, समकालीन साथीभाइहरू र अनुज भाइबहिनीहरू सबैको माया सद्भावना र हार्दिकता उतिकै मात्रामा प्राप्त छ । हिजो लेख्ने साहित्यकारहरू थोरै थिए । खास गरेर तीसको दसक अगाडि लेखक कविहरू कम थिए, सिर्जना पनि कमै संख्यामा हुन्थ्यो अनि सोही अनुपातमा समालोचकहरू पनि हुने भएको कारण गीत संगीतजस्तै साहित्य सिर्जनाको पनि स्वर्णकाल थियोे भन्ने लाग्छ ! तर अहिले साहित्य सिर्जना निकै नै फस्टाएको तर समालोचकको भने खडेरी परेको कारण हामी कतिको पानी छौँ? भनेर दुधको दूध पानीको पानी छुट्याउने समालोचक भने कोही पनि छैनन् भने पनि हुन्छ !
हुनत अहिले फेरि समालोचकले पनि कस-कसको कृति पढ्ने ? दिनदिनै च्याउझैँ उम्रिएका कृतिहरू पढ्न भ्याउने कहिले ? अनि यस्तो महङ्गीलाई थेग्नु पर्ने अवस्थामा बिना पैसा भन्नाले सित्तैमा सबैका सिर्जना पढेर त्यो पनि अपगाल आउने अर्थात् अनावश्यक मनमुटाव खेप्नुपर्ने र गालीगलौज सुन्नुपर्ने विधामा हात हाल्ने किन?
यदि नेपाल प्रज्ञाप्रतिष्ठान वा राज्यसत्ताले समालोचनाको परियोजना तयार गरेर क्रमिक रुपमा एक एक दसकको हिसाब भन्नाले तीस, चालीस, पचास, साठी र सत्तरी दसक छुट्याएर अझै सकिन्छ भने विधागत हिसाबले सबै दसकमा प्रकाशित सबैका कृति पढेर समालोचना गर्नकै लागि समालोचकज्युहरूलाई राज्यसत्ता वा प्रज्ञाप्रतिष्ठानले पूर्णकालिन जागिर दिएर राख्ने वा एकमुष्ट रकम तोकिदिएर प्रोजेक्टको हिसाबले गर्न लगाएपछि पो बल्ल असली समालोचना निस्कन्छ ! र कसको लेखन कस्तो छ? कसको स्थान कहाँ छ? भनेर दुधको दूध पानीको पानी छुट्याइदिन्छन्।
किनभने समय भनेकै पैसा हो त्यसमाथि झन् आजको महङ्गीले आकाश छोएको यो युगमा ! आजको युग भनेकै अर्थतन्त्रको युग हो !
नत्र त राजनैतिक आस्थाको हिसाबले चिनेजानेकाको साथीभाइको हिसाबले वा पत्रपत्रिकामा स्तम्भ चलाउनुपर्ने बाध्यताको हिसाबले वा अन्य केहीले साँच्चिकै कृतिलाई नै मनपराएर स्वतस्फूर्त हिसाबले गरिने समालोचनालाई पूर्णरूपमा भएको मान्न सकिदैन नै !
यो मेरो नितान्त निजी सोच हो । सहमति र असहमति जनाउने पूर्ण अधिकार तपाईंहरू सबैलाई छ है फेरि!

४, यहाँलाई मुक्तक साम्राज्ञी भनिएको पाईन्छ । किन भनिएको होला? यसरी सबैले सम्मान गर्दा यहाँलाई कस्तो लाग्छ ?

– उतिबेला नेपालका अत्यन्तै चर्चित साहित्यकार पूर्वमन्त्री एवम् कुलपति आदरणीय कवि केदारमान व्यथित दाजुले काठमाडौं ज्याठास्थित आफ्नै निवासमा कवि गोष्ठी गरिरहनु हुन्थ्यो ! उक्त कवि गोष्ठीमा कविताका साथसाथै मुक्तक पनि सुनाउने गर्थें मैले । त्यतिबेलासम्म मुक्तक लेख्ने नारी हस्ताक्षर खासै नभएको कारणले अग्रणी म नै भएको हुनाले दाइले “मुक्तक सम्राज्ञी” भनेर स्नेहवश सम्बोधन गर्नु हुने बेलामा नइ, नइ नहुदै तर दुवैसँगसँगै कार्यक्रममा आउने गर्नुहुन्थ्यो । सोही सम्बोधनलाई आज पर्यन्त बोकिरहनु भएकोछ नइ र बिशेष गरि नरेन्द्रराज प्रसाईं भाइले अनि त त्यही उपाधिको गरुङ्गो भारी बोकिरहन गाह्रो र साह्रो छ मलाई भने ।

५, लामो समय पछि फेरि कथा कृतिका रुपमा आउनुभयो । कृतिमा पक्कै केही बिशेष होला । नेपाली कथामा के रिक्तता थियो र ‘बेग्लै म’ प्रकाशन गर्नुपर्छ भन्ने लाग्यो? यदि कथाका पाठकले यो कृति नपढे के छुट्ला?

– हजुर हजुर भाइ । अब उप्रान्त कथा नलेख्ने मेरो सोचका कारण लामा मझौला र लघुकथा भन्नाले समँग भएका भएभरका कथा सबै राखेर प्रकाशन गरेकीहुँ ।
गहन समालोचक एवं निबन्धकार विदुषी बौद्धिक सुन्दरी कुमारी लामा बहिनी शब्द सापटी लिदैँ:- “साहित्यकार उषा शेरचनकाकथाहरू विसंगतपूर्ण समय, उत्पीडन र हिंसामाझ टुसाउने प्रतिरोध र आशा नियाल्ने आँखीझ्याल हुन् । साथै दमन र विद्रोह; प्रेम र सम्बन्धका जटिलता; परिचय र अस्तित्व खोजका फरक स्वरसहितका समयवी चेतनाहुन् । ‘बेग्लै म’का कथाहरू जीवनका विविध रङ्ग र अनुभूतिका दस्तावेज हुन्  ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर