– सबिन निरौला
१)
भो छट्पटीमा अनिदो रहेका रात नदेखाउनु
साथ टुट्न सक्छ सम्बन्धको खात नदेखाउनु

आफ्नो सुखभन्दा अरुको दु:खमा रम्छ मान्छे
भाग्य पनि चोरी हुनसक्छ सौगात नदेखाउनु

फुल्न नपाउँदै चुँडिदै जान्छन् कोपिलाहरू
डाँठ कुहिएर झर्दै गरेका पात नदेखाउनु

फुल्छ फल्छ सबैको अवश्य कुहिन्छ जिन्दगी
झर्नु पर्छ एकदिन कसैले औकात नदेखाउनु

चाहेर मात्र हुन्नन् पुरा कतिपय सपनाहरू यहाँ
नपाउने कुरामा रहर अनि चाहत नदेखाउनु

२)
किन किन म पनि आजभोलि जल्ने भाको छु
खै किन हो त्यसै आगो बिना बल्ने भाको छु

हिजोसम्म आफ्नै धुनमा बस्ने म, एक्कासी
अर्काको आरिस गर्दै रिसले ढल्ने भाको छु

हुन त गरुँ पनि के? उँधो गतिमा छ चल्दैछ देश
तै पनि सरकारकै आदेशमा चल्ने भाको छु

टार्ने गाँस छैन्, बस्ने बासको पनि कुनै भर छैन
साहुलाई मात्र हैन आफैँलाई छल्ने भाको छु

किन किन म पनि आजभोलि जल्ने भाको छु
खै किन हो त्यसै आगो बिना बल्ने भाको छु

***

प्रतिक्रिया

सम्बन्धित खवर