
– जमुना पौड्याल
१.
समान सृष्टि गरेको छ प्रकृतिले कसैलाई भेद छैन
विभेद गर्नुपर्छ भन्ने लेखिएको दस्तावेज वेद छैन
आस्था,श्रद्धा र ज्ञानको भण्डार वेदमै नभएको कुरा
विकृति बनाएर भित्र्याउँदा समाजलाई खेद छैन
२.
भित्रभित्रै दुर्गन्ध हुनेले बाहिर अत्तर छरेर हुँदैन
गिद्धले झै आफ्नो स्वार्थका लागि तल झरेर हुँदैन
अनित्य छ मानव चोला मर्नुपर्छ एक दिन पक्कै
अमरत्वको बाटो रोजौँ नीच कर्ममा परेर हुँदैन
३.
पहाडको छाती फोडेर झर्ने शक्ति हेरौँ छहराको
सधैँ दृढ र अटल स्वाभिमानी शिर हेरौँ पहराको
विवेक र चेतनाको बिस्कुन छ मान्छेको मगजैभरि
बगरको बग्रेटो हैन अघि बढ्न सिको गरौँ लहराको
४.
विश्वास र भरोसा गर्न सके मातृभूमि नै संसार हो
पाखुरीको बल र पैतालाको भर जीवन किनार हो
सुनचाँदी,हिरामोती सबै फल्छ यहीँ उर्वर भूमिमा
पोखौँ श्रम आफ्नै देशमा बाँच्ने प्रमुख आधार हो
५.
खोक्रा फुस्रा आश्वासन बाँडे भोट माग्न आउनेले
बिलखबन्दमा पारे जनता आस्था बिरुद्ध धाउनेले
नाराजुलुस ताँती लर्को भिडभाड देखेर नेता छान्दा
आखिरमा फुस्सा लोप्पा ख्वाए सिनोसत्ता पाउनेले
***
प्रतिक्रिया
-
४