
– पवन लामिछाने
गजल १,
तिम्रो यादको तलतल जहाज चढेर आउँछ
यो मुटुको दमकल जहाज चढेर आउँछ
झर्दैनन् कोहि झर्दैनन् आफ्नै आँसु बोकी
अचेल लाग्दैछ बादल जहाज चढेर आउँछ
एउटा म भइ हालेँ, एउटा हजुर हुनुहुन्छ
विदेशमा अर्को पागल जहाज चढेर आउँछ
गरिबले जमिन छोड्न पनि मृत्यु पर्खनुपर्छ
धनीले पिउने बोत्तल जहाज चढेर आउँछ
तमसुकमा यत्ति लेखेर ऊ शहर छिरेको हो
फर्कदा यही चप्पल जहाज चढेर आउँछ
गजल २,
मनभित्रको हुरी कसले देखेको छ ?
जिब्रोको खुकुरी कसले देखेको छ ?
हामीसँगै हाँसेको दुनियाँले देख्यो
सम्बन्धको दूरि कसले देखेको छ ?
कसरी बग्यो होला यादहरुको नदी
आँखाको मजबुरी कसले देखेको छ ?
लगाएको आरोप कागजले बोल्यो
भएको मन्जुरी कसले देखेको छ ?
उल्लासको मेलामा हरायो मनुष्य
पीडाको माधुरी कसले देखेको छ ?
***
प्रतिक्रिया
-
४