– स्पन्दन विनोद

१,
लामखुट्टेको सहरमा उडुस उपियाँले यसै लुट्छ लुट्छ
आहारा सजिलै पाएपछि झम्टिन जो पनि जुट्छ जुट्छ
चरित्रको चित्र अर्काले बनाओस् यस्तो कुनै नियम छ र?
सीमा नाघेपछि प्राकृतिक नियम हो बाँध फुट्छ फुट्छ

२,
थोरै प्रगति गरोस् दुनियाँको कान भर्छन् आजकल मान्छे
कति सजिलै माथि चढ्छन् र तल झर्छन् आजकल मान्छे
देखावटीपनले पनि हद नागिसक्यो यो झुटो दुनियाँमा
लासमाथि टाउको ठोकेर नाटक गर्छन् आजकल मान्छे

३,
मलाई यौटै कुरा सोचेर तर्सिरहने बानी परेको छ
बगेको खोलालाई पनि पर्खिरहने बानी परेको छ
यो छाती भित्रको पृथ्वी किन यति भारि बनाइस् दैव
नबोल्नेहरूलाई पनि सम्झिरहने बानी परेको छ

४,
मौका छोपेर भावनाले मन छुनेहरूलाई सजिलै चिन्नुपर्छ
आफ्ना कमजोरी लुकाउन रुनेहरूलाई सजिलै चिन्नुपर्छ
जिन्दगीमा सुख पाउन धेरै कुरा केही गर्नु पर्दैन महोदय
भनाई र गराईमा फरक हुनेहरूलाई सजिलै चिन्नुपर्छ

५,
कोही देश लुट्छन् कोही भित्ता फोर्छन्
कोही परदेशबाट देशको नक्सा कोर्छन्
भक्तहरू मन्दिर पस्नुको आसय यौटै हुन्न
कोही भेटी चढाउँछन् कोही भेटी चोर्छन्

***

प्रतिक्रिया

सम्बन्धित खवर