– जीवन आरोही
ओ, भरिया दाइ
मस्तिष्क ढाकरमा भरेर उज्यालो सपना
सखारै आइपुग्नु घर, घुर्यानको बाटो
आगनीमा खाली छ मान्द्रो
बिस्कुन फिजाउँन सपनाहरूको
सम्झनु,
जाँगरहरु भरेर जब बाँझो खेत जान्छ किसान,
भविष्य सजाएर आँखामा
जब पाठशाला जान्छ नानीहरू
वा आइपुग्छ देश सम्झेर प्रवासबाट
नथाकिकन उज्याला सपनाहरूको बिहान
तब पो खस्छ
मोती बनेर भकारीमा भोकको ओखती
भरिन्छ,कलिला मस्तिष्कहरूमा चेतना
र रित्तो हुनेछैन हाम्रो वसन्ती गाउँ
बरू झरिरहेको हुनेछ
क्षितिजबाट घामसँगै सहकाल
ओठमा ईन्द्रेणी मुस्कानहरू बोकेर
केटाकेटीहरू खेलिरहेको हुनेछ, बलेसीमा भाँडाकुटी ।
वा लेखिरहेको हुनेछ
स-साना अक्षरहरूले देशको बाङ्गोटिङ्गो नक्सा
जसलाई हेरेर
बिस्तारै उठाउनु छ आँगनीमा स्वाभिमान
हिँड्नु छ आफ्नै जाँगरले
पुर्ख्याैली पौरखको बाटो
अक्करे भीरहरूमा लेखेर जीवनकथा
राखिदिनुछ लेख्न बाँकी इतिहासका पृष्ठहरूमा
ओ, भरिया दाइ !
मस्तिष्कमा बोकेर उज्यालो सपना
सखारै आईपुग्नु घर, घुर्यानको बाटो
टिपेर अलिकति जाँगर आगनीको
राखिदिनु छ देशको पोल्टाभरि
देश जो
हामी उठे स्वास फेर्छ –परिवर्तनको
हामी हाँसे, देश हाँस्छ –खुसीको
हाँस्छ फूल जस्ता हाम्रा भविश्य र सपना
र निदायौँ भने
निदाउनेछ आँगनीमा आउँदा आउँदैको उज्यालो,
वा अस्ताउन सक्छ कुनै पराया क्षितिजमा
हो,
उमंगहरू भरेर पाखुरीहरूमा
गीत गाउँदै चराहरूले जसरी
जब उठ्छ
यहिँ माटोको स्वाभिमानी स्वरहरू
तब सँगसँगै उठ्नेछ
कोदालीको बिँडसँगै यो देशको झण्डा
ओ, भरिया दाइ
मस्तिष्कमा बोकेर उज्यालो सपना
सखारै आईपुग्नु घर, घुर्यानको बाटो
किनकि
यही आँगनीमा उठाउनु छ अर्को चोमोलुङ्मा
नयाँ युगको
जो पग्लिजाने हिउँको होइन
हाम्रो स्वाभिमानको हुनेछ ।
***
प्रतिक्रिया
-
४