– शीतल थोकर तामाङ्ग

ऊ मसँगै छेउमै बसेर बिँडी तानिरहन्छ
उस्लाइ मैले बनाएकै बिँडी चाहिन्छ
उस्ले सल्काएको बिडी
आधाउधी भएपछि म पनि तान्छु एक सर्को
लामो स्वासको गतिसङ्गै
फु ssss स उड्छ धुवाँ
धुवाँ सङ्गै मन पनि उडी जान्छ
र सुसेल्न थाल्छ जिन्दगीको आयामहरूसँगै

मैले उस्लाइ ठ्याक्कै कहिले भेटेँ याद छैन
तर सङ्ग सङ्गै गोठालो गाको र
चिप्लेटी ढुङ्गाको आडैमा बसेर पहिलो पटक
सालको पातको बिडी बेरेर सङ्गै सुर्काको याद छ।

मैले ऊसँग जीवनभर कसरी र के गरेर जीवन बिताएँ सम्झना छैन
तर ऊसँग बिताएको चार बिसा यामहरू हिजोजस्तै लाग्छ

ख्याल ख्यालमै घरजम बस्यो
ख्याल ख्यालमै बा-आमा भन्यो
ख्याल ख्यालमै उ मुग्लान पस्यो
चुनाबोटे चौतारीमा उसैको पर्खाइमा बसेर
ख्याल ख्यालमै मैले आधी बैँस काटिदिएँ

त्यो एक्लोपन
त्यो मेलापात
र बिडीँको एक सुर्को
जिन्दगी त ख्यालैमा बितीजाँदो रहेछ बाबै

फेरि बिडीँ सल्काउछु
धुँवा फु ssssस उड्छ
अब त धुवासँगै
जिन्दगीमा खेलेको बयली र तरेका तरेलीहरूको
सम्झना पनि बिस्तारै उडीजान्छ
मन मस्तिष्क हलुङ्गो भै जान्छ
बितिगएका कुराहरू सम्झनामा आउनै मान्दैन
मन त भुलिरहन्छ यतै
मन त डुलिरहन्छ यतै

घरी बाख्राको पाठोसगैँ नाचिदिन्छ मन
कतिञ्जेल नाच्न सक्छु हेक्का राख्नै सक्दिन
घरी कुवाबाट पोखिएको पानी सङ्गै बगिदिन्छ मन
कति परसम्म बग्न सक्छु सोच्नै सक्दैन मन

फेरि फर्केर मन उ सङ्गै आउँछ
उ मेरै छेउमा बसिरहन्छ।
पुलुक्क हेर्छ मलाइ
म बिडीँ सल्काएर उस्लाइ दिन्छु।
र आधाउधी भएसी मैले लिन्छु
धुवा फुsssस उड्छ
धुवासँगै मनभित्रका सम्झनाहरू पनि उडीरहन्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर