– पहल असीम

गजल १
जिन्दगीको घाउ नुनचुकमा सुकेको छ आलो हुँदैन ।
यो जन्जिरमा अब पछुताउनलाई पनि पछुतो हुँदैन ।

छ आफन्तको माया, साथीभाई भनेर के गर्नुहुन्छ ?
लासलाई काध हाल्ने मलामी पनि लासको हुँदैन ।

माईतीको इज्जत छ, घर धान्नु, इज्जतदार बन्नु
छोरी डोली अन्माउनेबेला तिमी रोएको राम्रो हुँदैन ।

रगतका आँशुले सिंचिएर सुकेको हो यो जिन्दगी
अब कसैले अमृतको धारो बगाएपनी हरियो हुँदैन ।

वक्ररेखाको गणितमा फसेर बाङ्गो भएको हुँ
बाबू त्यो असीम त्यो जिन्दगी अब सोझो हुँदैन ।

गजल २,
त्यसपछि जिन्दगीमा मैत्रीपूर्ण अवसर देखियो
आहा दाजुभाइ मिलेपछिको घर सुन्दर देखियो

आज सबैको निधारमा घाम उदाएझैँ भैरहेछ
गाउँका हरेक घरधुरीको जगमा अक्षर देखियो

रगत छादेर लडेको परिणाम के पायौँ हामीले?
र कुन धर्मको प्रवचनमा कहाँ ईश्वर देखियो ?

रगतको नाता र अर्को नातामा यति फरक भेटेँ
मलाम जादा पनि उत्सव मनाउने शहर देखियो

यो कोलाज यो परिश्रम असीमको होइन रहेछ
यति सुन्दर यात्रामा पनि जिन्दगी बन्जर देखियो
***

प्रतिक्रिया

सम्बन्धित खवर