गजल १

जवानी पगाल्ने थिए ओठ तिम्रा
म सन्तुष्ट हुन्थेँ पिए ओठ तिम्रा

चल्यो मन्द मन्द तिमीमा सुगन्ध
गुलाफै सरी फक्रिए ओठ तिम्रा

किन निस्किएन हिजोजस्तो डाँको ?
अचानक किन हल्लिए ओठ तिम्रा ?

यसै ओंठबाट हराएन लाली
म निर्धो हुँदा बेचिए ओठ तिम्रा

यता प्याससङ्गै मर्‍यो जिन्दगानी
त्यता खाससङ्गै जिए ओठ तिम्रा

गजल २
दिन नि तिम्रो यादमा रात भइहाल्छ
पुछ्दा पुछ्दै आँसु वर्षात भइहाल्छ

चैतको पत्कर सरी जिन्दगी मेरो
झिल्को मात्रैले नि उत्पात भइहाल्छ

फूलले गर्दैछ विश्वास भमराको
रस चुसे पश्चात् अज्ञात भइहाल्छ

राख्न आऊ एउटा फूल छातीमा
भोलि सागरमा मुलाकात भइहाल्छ

प्रतिक्रिया

सम्बन्धित खवर