– हिरा लामा
…………….
.• नाम के हो नि ?
— मेरो आफ्नो नाम छैन ।
• नाम भन्न डर लाग्छ ?
— साच्चै के , मेरो नामै छैन ।
• के भनेर बोलाऊँ त ?
— जे मन लाग्छ त्यै !
• उसो भए सुन्तली है त !
— म सुन्तला जस्ती छु र ?
• हेर्दा तेस्तै देखिन्छ । चाखे पछि थाहा हुन्छ ।
— चाख्नेले त खुर्सानी जस्तो छु भन्छन् ।
• भन्नाले तिमी जुठो खुर्सानी पो हौ ?
— किन ? जुठो चल्दैन र तपाईंलाई ?
• चोखो खानुको छुट्टै मजा हुन्छ नि ! हाहा ।
— यो ठाउँ नै यस्तो । अनि घरको नि जुठै त होला नि !
• तेई भएर त यता आको नि !
— ल ल , अब गफ मात्र हो कि काम पनि ? तपाईंको त गफ मात्र त हो ! हाहा ।
सुन्तलीको पछिल्लो प्रश्नले एकछिन अप्ठ्यारोमा पार्यो , मलाई । झ्वाट्ट जवाफ फुरेन । म अल्मलिएँ । बसेको दस मिनेट नहुँदै उनी हतारिईन् । बीस दिन पहिला आउँदा नि गफ मात्र भएको थियो । सुन्तला जस्तै मीठो गफ ! त्यसपछि त मोहनी लागे झै भयो । त्यतै मात्र तानिने मन ! मन बलियो हुँदै गए पछि शरीर कमजोर हुने रहेछ । मनले शरीरलाई डोर्याउने रहेछ र आज फेरि मेरो त्यही शक्तिशाली मनले शरीरलाई बसपार्क नजिकको ” रिफ्रेश होटल एण्ड लज ” सम्म तानेर ल्याएको छ ।
म अल्मलिएको देखेर उनले नारायणीको प्रशोधित पानी जसलाई ” टुबोर्ग” नाम दिएको छ ,टेबलमा भएको दुई रित्तो गिलासमा भरिदिईन् र मादकताले भरिएको नजरले हेर्यो मलाई ।
* “कति वर्ष भयो? ” उनलाई हेर्दै प्रसङ्ग विहिन एउटा प्रश्न राखेँ ।
* “के ? म ? ” पहिलाको जसरी नै हेर्दै मेरो प्रश्नको उत्तर प्रश्नमै भनिन् । अनि हाम्रो प्रश्नोत्तर शुरु भयो ।
* हैन , यो पेशा अङ्गालेको !
— तीन वर्ष जति ! एस एल सी दिएपछि हो ।
• दिक्क लाग्दैन ?
— आफ्नो पेशादेखि दिक्क मान्नु हुन्न । अँ , तपाईंको बिहे भयो ?
• अँ , भैसक्यो !
— कति वर्ष भयो ?
• तीन वर्ष !
— दिक्क लाग्दैन ?
• त्यो मेरो पेशा हैन । आफ्नो पेशादेखी सन्तुष्ट छु ।
— के गर्नु हुन्छ नि , तपाईं ?
उनले मलाई फेरि थुनामा पारिन् । अघि सम्म जे जति भनेँ , सबै सत्य भनेँ । पेशाको कुरा भनौ कि नभनौ भयो । भनेँ भने हाम्रो बसाई यो भन्दा अघि बढ्दैन , यो थाहा छ । मैले प्रसङ्ग मोड्न चाहेँ ।
• कति पढेकी छौ ?
— बार्हको जाँच देर बसेको ।
• कुरा मीठो गर्छौ नि !
— कुरा मात्रै ? म मान्छे नि मीठो छु ।
• खुर्सानी त पिरो पो हुन्छ ।
— खुर्सानी जति पिरो , उत्ति मीठो । हाहा ।
उनले मलाई फेरि अलमलमा पारिन् । हुन पनि हो , पिरो नहुने खुर्सानी के खुर्सानी ? खुर्सानीको आफ्नो धर्म भन्नू नै पिरो हुनु न हो ! के भनौं के भएँ , म । यतिबेला सम्ममा हामीले दुई बोतल बियर रित्याई सकेका थियौ । त्यसपछि मेरो आँखा हो कि मन हो अलि अलि घुम्न थाल्यो । रमरम , झमझम भयो मन । म उनलाई एक तमास हेर्न थालेँ । उनी बेडबाट जुरुक्क उठिन् र लगाईरहेको जिन्सको निलो ज्याकेट खोलीन् र म नजिकको चेयरलाई लगाई दिईन् । जिन्सको बाक्लो आवरण फाले पछि उनी देखा परिन् – भित्री पातलो सेतो आवरणमा ! उनको त्यो रुप देखेपछि सानो विध्युतिय तरङ्ग मभित्र सल्बलायो । मलाई छोएर गयो त्यो तरङ्ग । र चलाएर गयो केही अङ्ग । म झनै हेर्न थालेँ उनलाई । हेरिरहेँ , उनलाई । उनी अर्को बेडमा गएर बसिन् । म एक्लो भएँ । अघि सम्म सङ्गै थियौँ, एउटै बेडमा । बस्ने बित्तिकै उनी फेरि उठिन् र ज्याकेट भएको ठाउँमा आईन् , पकेटबाट चुरोट निकालिन् , एस्ट्रे नजिकको लाईटर उठाईन् र बालिन् सूर्या चुरोट । मलाई चूरोट मन पर्दैन । चुरोट तान्ने मान्छे त झनै मन पर्दैन । उनले चुरोट स्वाट्ट तानिन् र ” तान्नु न तपाईं नि !” भन्दै म तिर चुरोट बढाईन् । म बाध्य थिएँ – मन नपर्ने चुरोट र चुरोट तान्ने मान्छेलाई मन भित्रबाट हेरिरहेँ ।
” भो चुरोट त कैले नि खान्नँ !” यो भन्दै म झ्यालतिर गएँ । उनी पून: पल्लो बेडमा बसिन् । झ्यालको पर्दा हल्लेको हो कि मन ? मन हल्लेको हो कि तन ? तन हल्लेको हो कि मात्तेको ? झ्यालको नजिक पुगेर विस्तारै हल्लेको पर्दा एक कुनामा जम्मा पारेर बाहिर हेरेँ । बस , ट्याक्सी , बाईकको चाप बिस्तारै कम हुँदै रहेछ । यति बेलासम्ममा म कोठा बाहिरको वातावरणदेखि अनभिज्ञ थिएँ , यद्यपि ट्याक्सी , बाईक तथा बसहरुको आवाज भने सुनिरहेकै थिएँ । छेउछाउका पसल र दोहोरी साझमा बजेका विभिन्न हिन्दी र नेपाली गीतहरु पनि मसम्म आउँदै थिए । कोठा बाहिरबाट मैले आफूलाई कोठा भित्र ल्याएँ । कोठा अनि आफैलाई नियालेँ । म , उनी , रित्तो बियरका बोतल , रित्तो प्लेट , एस्ट्रे , चुरोटको ठुटो , दुईवटा रित्तो बेड, भित्ताको एक कुनामा चुपचाप सङ्ग बसेको टिभी सेट अनि भित्तामा बिपाशा र जोन अब्राहमको एउट ठूलो आकर्षक अनि कामुक तस्बिर ! तस्बिर हेर्न थालेँ । हेरिरहेँ ,एकछिन सम्म ।
” तपाई घरमा नि यस्तै स्लो हो ?”एक्कासि प्रश्न गरिन् उनले । म उनीतिर फर्केँ । जुस पिउदै रहेछ । यो पटक त झन घाँटी मै समाते जस्तो लाग्यो । म केही बोलिनँ । म फेरि भाग्न चाहेँ ।
” तिमी आफ्नो पेशा प्रती सन्तुष्ट छौ ?” म उनको नजिकै गएर सोधेँ ।
” अघि नै भनिसकेँ नि ! ” निर्धक्क हुँदै भनिन् । “बरु एउटा यो मगाम् है !” मीट आईटमको माग गरिन् , त्यसपछि उनले । मैले ” हुन्छ ” भनेँ ।
” तर ,समाजले त तिम्रो पेशालाई घृणा गर्छन् नि !” यो पटक उनलाई भित्रबाटै चलाउन खोजेँ ।
” साला यो समाज नि अचम्म कै छ । मलाई स्वीकार्छ , मेरो पेशालाई स्वीकार्दैन । मलाई उपभोग गर्छ , आनन्द र सन्तुष्टि लिन्छ तर यो पेशालाई घृणा गर्छ । पाखण्डी समाज भनेको यहि त हो ! ह्या छोड्दे यस्ता समाज ! गोली मार ! माई लाईफ माई च्वाईस !” उनी रुष्ट देखिन् , समाज प्रती ।
” अनि , कस्ता कस्ता मान्छे आउँछ त तिमीलाई भेट्न ?” यो प्रश्नको उत्तर पाउने आशा थिएन तर उनले मलाई गलत बनाई दिईन् ।
उनले भनिन् ,” कस्तो मान्छे चाहियो तपाईलाई ? सबै खाले आउँछन् । ठुला मान्छे । साना मान्छे । रातो मान्छे । कालो मान्छे । सेतो मान्छे । खैरो मान्छे । सबै तह र तप्काका मान्छे आउँछन् । व्यापारी आउँछन् । विध्यार्थी आउँछन् । डाक्टर आउँछन् र पत्रकार आउँछन् ।
साला,अस्ति एउटा पत्रकार रातभर बसेर भोलिपल्ट यहि पेशा बारे नाना थरी भन्दै थियो । पत्र पत्रीका , एफ एम , सामाजिक सन्जाल सबैतिर त्यसकै चर्चा !” उनलाई उक्त पत्रकारदेखि अचाक्ली नै रिस उठेको रहेछ । करिब पाँच मिनेट जति लाग्यो , त्यो टपिकबाट बाहिर आउन ।
त्यसपछि उनी बेडबाट उठिन् । नजिकैको टावल कम्मरमा बेरिन् र पेन्ट खोलिन् । म चाहिँ देखे नि नदेखे झै गरि बसेँ । एक्कासि पछाडिबाट उनको हात मेरो कपालमा सल्बलाउन आईपुग्यो । कस्तो अप्ठ्यारो लाग्यो । थाहा छैन किन ! सायद म शारीरिक अनि मानसिक रुपले तयार थिईनँ । म तात्न सकिरहेको थिईनँ ।उनी भने मलाई उक्साई रहेकी थिईन् । एक पटक मेरो नजर फेरि भित्ताको बिपाशा ,जोहनमा गएर अडियो । दुबैले मलाई गिज्याएको जस्तो लाग्यो । आफ्नो यस्तो अवस्था देखेर आफैलाई लाज लाग्न थाल्यो। पहिलो पटक हुँदै थियो यस्तो ।
” नट नाऊ !” एक्कासि मेरो मुखबाट यो शब्द हामफाल्यो ।
” देन ह्वेन ?” उनको प्रश्न आयो ।
” ह्वेन द होल सिटी स्लीप्स !” मेरो उत्तर । ”
” यु आर अ कोल्ड गाय !” उनको प्रतिक्रिया !
उनको पछिल्लो लाईनले मलाई फेरि हान्यो भित्र कतै ड्याम्म ! मैले आफैंलाई चिमोटेर हेरेँ । दाहिने हात छातीको देब्रे कुनामा थुपुक्क राखेर हेरेँ । म ठिकै भएको थाहा पाएँ । मैले घर सम्झेँ । घरको रातहरु सम्झेँ । हिजो सम्म बिताएका यस्तै होटलका रातहरु सम्झेँ । तैपनी तात्न सकिनँ । त्यसपछि म फेरि उनलाई अन्तै डुलाउन चाहेँ र भनेँ , ” घर कहाँ हो नि ? अनि घरमा को को छ त ?”
” तपाईं पत्रकार हो कि ग्राहक ? कति केरकार हो ?” उनी झर्की यो पटक । ” ह्या , यस्तै हो भने जान्छु म !” यति भनेर उनी अर्को बेडतिर लागिन् । अनि मलाई हेर्न थालिन् ।
उनले जान्छु भने पनि उनी जाने छैन । यो मलाई थाहा थियो । किनभने यो उनको धन्दा हो र धन्दामा बेईमानी गर्दैनन् उनीहरु र अर्को कुरा उनले ५ जनाबाट पाउने रकम म एक्लैले लगानी गरेको थिएँ ! थाहा छैन मैले यत्रो रकम किन लगानी गरे ,उनको शरीर माथी ! मेरो शरीरको तृष्णा मेटाउन ? खै त मेटिएको ? कहिले सम्म उठ्छ शारीरिक तृष्णाको छाल ? विगत ५ वर्षदेखि यसरी नै म मेट्न खोज्दैछु थुप्रै थुप्रै सुन्तलीहरु सङ्ग , साटेर मेरो शरीर ! खै त तृष्णाको यो छाल कम भएको ?
” म दुबै हुँ !” म अचानक चिप्लिएँ । चिप्लिए पछि थाहा भयो भन्न नहुने कुरा भनेछु भनेर । अघि सम्म मलाई हेरेर बसेको मान्छे मेरो उत्तर सुनेपछि भुइँ तिर हेर्न थाली । केही बोलिन । बरु एउटा चुरोट र टुबर्गको माग गरी अनि त्यसपछि चिकेन आईटम खान थाली ।
करीब पाँच मिनेट पछि उनी बिस्तारै बोल्न थाली -” तपाईं केलाई घर भन्नुहुन्छ ? ढुङ्गा , सिमेन्ट , रड , बालुवा , काठले बनेको भौतिक संरचनालाई घर भन्नुहुन्छ भने त्यो घर मेरो पनि छ । त्यो घरमा आमा छ । दाई छ । भाइ पनि छ । बहिनी पनि छ । तर घर भएर पनि घर विहीन मान्छे हुँ । सबै भएर पनि एक्लो मान्छे हुँ । अचेल घर भन्न पनि मलाई डर लाग्छ । आठ कक्षामा पढ्दै थिएँ , म आफ्नै बुवाबाट यौन हिँसाको सिकार भएको , आफ्नै घरमा । बुवाले मलाई पहिला त कुरा बाहिर ल्याईस् भने मार्छु भनेर डर देखाउनु भो , पछि चाहिँ मैले जे भन्यो त्यही पूरा गर्दिनु भो । बिस्तारै ममा पनि लत बस्यो । एस एल सी दिने बित्तिकै मेरो बिबाह भयो तर बुवाको लत छुटेन । एक न एक बहाना बनाएर हरेक महिना मलाई लिन आउनु हुन्थ्यो । एकदिन मैले घरसङ्ग नाता तोडेँ । बुवासङ्ग नाता तोडेँ । अनि म काठमाडौ हानिएँ र कोठा लिएर पढ्न थालेँ ।
एघार क्लासको बीच तिर हो , द्वन्दकालमा चन्दाको कुरालाई लिएर नक्कली माओवादीहरुसङ्ग बुवाको झगडा भएछ । अनि एक रात केही अज्ञात व्यक्तिहरुले बुवाको हत्या गरेछन् ।
एकै सासमा उनले आफ्नो कथा भनी । म सुन्दै गएँ ।
यसपछि अचानक रोकिई उनी ।
” सुन्तली ! ” म बोल्न पुगेँ त्यसपछि ।
” सुन्तली हैन , नवीना हो , मेरो नाम !” भुईतिर हेर्दै उनले आफ्नो नाम बताइन् । केही बेर अघिसम्म प्यार प्यार बोलिरहने , जिस्की रहने मान्छे एकाएक शान्त र गम्भीर भयो ।
” म नवीन , सिटी एक्स्प्रेस दैनिकको सम्पादक । तर विश्वास गर , तिम्रो जीवनको यो पाटो म बाहिर ल्याउने छैन । म नि अलि भावुक भएर भनेँ । मलाई थाहा छैन , नविनाको कथा कति साँचो हो , कति झुठो हो । अक्सर झुठो कथा बुन्न माहिर हुन्छन् राती रमाउने ” सुन्तलीहरु ” । उनी मेरो लागि नविना होला । अरुको लागि रविना अनि अर्कै अर्कोहरुको लागि सुविना , कविना आदि आदि तर पनि पत्याएँ , मैले उनको कथा ।
म निक्कै भावुक हुँदै गएँ । केही घन्टा अघि नविनाको शरीर किन्न आएको मान्छे म ! मैले त्यो कुरा भुलेछु । उसकै शरीरसङ्ग खेल्न आको मान्छे अब ” भो ! अब नखेल यो खेल ” भन्न थालेछु । ओहो ! विचारको यो खेल ! विचारको यो तरलता ! विचारको यो द्वैधता ! विचारको यो परिवर्तनशीलता !
” तर पेट मेरो मात्र छैन । बुवा बितेपछी सबै लथालिङ्ग भयो । घरको पेट नि मैले नै हो हेर्ने ! यो पेशाबाट राम्ररी चल्दैछ , पेटहरु ! ”
म फेरि के भनुम के भयो । नविनाको कथा र व्यथा मैले हटाउन पनि त सक्तिनथेँ । म चुप लागेँ । बोल्ने कुरा नभए पछि मान्छे असाहय हुने रहेछ । म नविनाको अगाडि त्यही बनेँ ।
” हुन्छ , म प्रयास गर्छु ! आज कसैले यति भन्यो । सधैको फलाम जस्तो गरुङ्गो मन आज कपास भयो । ” यसो भन्दै उनले पुलुक्क हेरी मलाई । कस्तो अप्ठ्यारो लाग्यो । मैले पनि त्यसरी नै हेरेँ उनलाई । त्यसपछि उनी बसेको ठाउँबाट उठेर आईन , हग गरिन् र भनिन् , ” सुत्ने हैन अब ?”
” सुत्ने ???” म आफैंसङ्ग कुरा गरेँ ।
” हुन्छ ,सुतौ न त अब !” मैले स्वीकृति दिएँ ।
” यता कि उता ?” दुबै बेड देखाउदै सोधिन् नविनाले । म एकछिन अक्मकिएँ । दुबै बेड हेरेँ र भने ,” जता सुते नि हुन्छ । ठिकै छ ,तिमी यहाँ सुत ,म चाहिँ झ्यालतिरको बेडमा सुत्छु !” यति भनेर म लागेँ पल्लो छेउको बेडमा र पल्टेँ । पल्टिएरै उनलाई हेरेँ । अचम्म मानेर हेर्न थालिन् उनी मलाई । खै किन हो , मैले उनलाई हेर्न सकिनँ वा भनौं हेर्न चाहिनँ । त्यसपछि सिरक घम्लाङ्ग ओढेँ । सिरक ओढेपछी मैले नविना देखिनँ अनि नविनाले मलाई । सिरक भित्र पसेपछि ममा अर्को विचार आयो । मलाई लाग्यो – नविनाको कथा फेक कथा हो । जसरी सुन्तली नाम दिई , त्यस्तै वनावटी कथा पस्की दिई मलाई । नविना आफ्नो वास्तविक जीवनलाई वनावटी कथाको आवरणले ढाक्दै छन् अनि सिरक बाहिरबाट मलाई हेर्दै सायद भन्दै छिन् , ” क्या नामर्द पत्रकार रैछ यार ! गफ गरेको भरमा यत्रो पैसा खन्याउँछ ! ह्या …जे होस् , आफूलाई रोकडा आए भो ! हाम्लाई बाल !”
प्रतिक्रिया
-
४