– सानु शर्मा

“खै त सुयोग तैँले नमस्ते गरिनस् त आन्टीलाई ?” गोपाल मामाले उसलाई कोट्याउनुभयो । बल्ल उसले आफ्नो मुख बन्द गऱ्यो । तर उसका आँखामा उदाएको त्यो धूर्त चमक पुछिएन ।
“नमस्ते !” उसले हात जोड्यो । मलाई एकदमै असुविधा अनुभव भयो । बैठकबाट बाहिर निस्कने इच्छालाई जबरजस्ती मिचेर म मन मारेर मुस्कुराएँ । थाहा छैन चौबीस घण्टामा कतिपटक हामी यसरी नै थुमथुम्याएर राख्छौँ आफ्नो मनलाई ? कतिपटक मिचेर अघि बढछौँ आफ्नै पाइतालामुनि हामी आफुलाई ?
“होस्टलमा राख्न मनै मानेन । यहाँ भए तपाईंहरूको आँखाअगाडि हुन्छ, हामीलाई ढुक्क हुन्छ, त्यसैले दुःख दिन परो भाञ्जालाई ।” गोपाल मामाले चेप्रो घसे ।
“होइन मामा, केही छैन । यत्रो ठूलो घर छ, म प्रायः बाहिरै हुन्छु ।
छोराहरू देहरादुनतिरै छन् । प्राप्तिलाई बोल्ने साथी हुन्छ ।” विनीतले भने । मेरो अनुहारमा अप्रिय भाव झुल्कियो । सधैँ यस्तै हुन्छ । कोही न कोही गोरु बेचेको साइनो गाँसेर आइपुग्छन् विनीतको यस धर्मशालामा । यी गोपाल मामा पनि कताबाट मामा पर्थे विनीतको, उनलाई नै थाहा थिएन सायद । काठमाडौँमा घर हुनु पनि अपराध नै थियो, सत्ये !
उसो त विनीतको नजिकको नातेदार भनेको कोही जीवित थिएनन् । मेरो भएर पनि नभए बराबर ।
मेरा ममी–ड्याडीको एक्सिडेन्टमा मृत्यु भएपछि ड्याडीको भिन्द भएर बसेको भाइले हामी दुई दिदी बहिनीलाई निमुखा, असाहाय देखेर ड्याडीको सम्पत्तिमा दागा धरेर, मुद्दामामिला गरेर यति दुख दिए कि दिदीले मर्ने दिनसम्म उनीहरूलाई माफ गर्न सकिन ।
भर्खर सोह्र बर्षकी मलाई दिदीले यी सबै झमेलाबाट टाढै राखि, पढ्नमै ध्यान लगाइरहन दिई र आफू एक्लै लडी त्यो बिषम परिस्थितिसँग । मभन्दा पाँच वर्ष जेठी मेरी दिदीले ममी-ड्याडीको मृत्यु पछि मेरो यसरी ख्याल राखि, जसरी बाबु–आमाले आफ्नो संतानको राख्छन् ।
“धन्नेबात भाञ्जा बाबू !” गोपाल मामा भन्दैथिए– “मेरो साख्खे भाञ्जाले पनि यति गर्ने थिएन, जति तपाईंले गर्नुभा’छ ।”
“आफ्नैले त आफ्नालाई गर्ने हो, केही छैन मामा ।” विनीतले गोपाल मामाले थामेको आफ्नो हात उनको हातबाट छुटाएर मतिर हेरेर भने, “प्राप्ति ! सुयोगलाई कोठा देखाइदेऊ ।”
मेरो कुँडिएको मन झनै अमिलो भयो । जुन कुरा मेरो मनले गर्न चाहन्थेन, त्यही मेरो भागमा पर्थ्यो । म दृढतापूर्वक नकार्न चाहन्थेँ धूर्त चमकले झलमल्ल बलेको आँखा भएको त्यस युवकको उपस्थितिलाई आफ्नो घरमा तर मलाई यो पनि थाहा थियो, मेरो सकार्नु र नकार्नुको कुनै अर्थ थिएन । त्यसैले म चुपचाप बैठकबाट बाहिर निस्किएँ । ऊ मेरो पछिपछि आयो ।
त्यहि रात मैले आफ्नो असहमति/अनईच्छा विनीतसामु राख्ने प्रयास गरेँ ।
“के भयो त ? यत्रो ठूलो घर छ, सबै त ओगट्दैन उसले ? तिमीलाई के फरक पर्छ र ?” विनीतले मेरो कुरा राम्ररी सुन्दा पनि नसुनिकन भने ।
“ तर नीत…”
“डोन्ट कल मी लाइक द्याट, कज…”
“आई नो…।” मेरो स्वरमा गुनोसोले पनि मिसिन मानेन, “दिदीले
सम्बोधन गर्थी तपाईंलाई यसरी, जसको मलाई हक छैन । साँच्चै भन्ने हो भने मेरो त कुनै कुरामा हक छैन, न तपाईंमा, न तपाईंका छोराहरूमा न यस घरमा । फेरि पनि म यहाँ, यस घरमाछु । खै कुन्नी किन छु ?” म छटपटाउँदै कोठाबाट बाहिर कौसीमा निस्किएँ । मनले चाह्यो—विनीत मेरो पछिपछि आऊन् । सरी भनेर अँगालोमा बाँधून र मलाई यो महसुस गाराउन् —म उनको जिन्दगीमा दिदीको ठाउँमा नसही, तर कहीँ त छु ! तर फेरि मलाई यो पनि थाहा थियो—यो सम्भव थिएन । जुन कुरा दस वर्षमा सम्भव भएन त्यसको झिनो आस पनि जगमगाउँथेन अब मेरो मनको कुनै कुनामा ।
प्रज्ञा, मेरी दिदी र विनीतको चिनजान हाम्रो काकासँगको मुद्दा-मामिलाको झमेलाको बेलामा भएको थियो । विनीत नाम कहलाइएको वकिल थिए। उसैको कारणले दिदीले लगभग हारिसकेको मुद्दा जिती । मुद्दा-मामिलाकै क्रममा दिदी र विनीत एकअर्काको नजिक आए । मुद्दा टुँङ्गिदा ड्याडी-ममीको सम्पत्तिसँगै दिदीले विनीतलाई पनि जिती । उनीहरूले धुमधामसँग बिहे गरे । उनीहरुको बिहेपछि म फर्दर स्टडीका लागि अस्ट्रेलिया उडेँ ।
दिदी-भिनाजुले नेपालबाट पढाई खर्च धानिदिए । मैले मनपरेको युनिभर्सिटीमा मनपरेको सब्जेक्टमा निर्धक्क पढ्न पाएँ ।
०००

पाँच वषर्पछि दिदीले मलाई नेपाल फर्कन जवरजस्तिगरि । मेरो त खासै इच्छा थिएन तर म मेरा हरेक सुख-दुख, सजिलो अप्ठेरोको ख्याल राख्ने दिदीको कुरा काट्न नसकेर नेपाल फर्किएँ ।
नेपालमा दिदीको अन्तिम स्टेजको क्यान्सरको खबरले मेरो स्वागत गऱ्यो । म वाक्यहीन भएँ । कसरी रियाक्ट गरौँ ? मैले सोच्नै सकिनँ । त्यसमाथि दिदीको अनौठो प्रस्ताव, प्रस्ताव के, जिद्दीले म झनै अन्योलमा परेँ ।

दिदी चाहन्थी म विनीत भिनाजुसँग बिहे गरौँ, उसलाई केही हुनुभन्दा पहिल्यै । उसको त्यस कुराको मैले भन्दा धेरै विरोध भिनाजुले गरे । उनी मन-प्राणले माया गर्थे दिदीलाई । वैवाहिक जीवनको पाँच वर्ष मानौँ पाँच पल जसरी बिताएकाथिए उनीहरुले एक-आर्काको साथमा । झै झगडा त के, एकपटक वादबिवाद सम्म भएकोथिएन उनीहरुको बिचमा । दिदी अझै प्रेमिका नै थिई भिनाजुको, स्वास्नी बनिसकेकै थिईन । त्यसैले पनि भिनाजु दिदीको यो जिद्दी मान्ने पक्ष्यमा थिएनन् तर दिदीलाई आफ्ना दुई बर्षका जुम्ल्याहा छोराहरूको यति चिन्ता थियो, जति क्यान्सर र किमो थेरापीको पनि थिएन ।
भिनाजुले कति कोसिस गरे दिदीलाई विश्वास दिलाउन —उनी आजीवन बिहे गर्नेछैनन्, उसका छोराहरूका लागि सौतीनी आमा कहिल्यै भित्र्याउने छैनन् भनेर तर दिदीले पत्याउन सकिन । ऊ यो धरती छोड्नुअघि भिनाजुलाई मसँग बाँधिदिन चाहन्थी ताकि उसका छोराहरू सौतीनीआमाको होइन, सानीआमाको काखमा हुर्किऊन् । मैले पनि उसलाई सम्झाउन कोसिस गरेँ—भिनाजुसँग बिहे नगरे पनि म उसका छोराहरूलाई आफ्नै छोराहरूजस्तै गरी हुर्काउनेछु, जसरी उसले मलाई हुर्काएकी थिई, ममी-ड्याडीको एक्सिडेन्टपछि । तर दिदी मानिन । भिनाजु र मलाई अनेक कसमले बाँधेर, भावनात्मक ब्ल्याकमेल गरिगरि उसले मेरो र भिनाजुको बिहे गराएरै छोडी ।
भिनाजु र मेरो बिहे पछि पनि ऊ अर्को दुई वर्ष बाँची । औषधी, किमो, मर्ने डर, भिनाजु र छोराहरूसँग अलग्गिने चिन्तामा लगभग बिक्षिप्त भएकी दिदीलाई सम्हाल्न साह्रै गाह्रो भएको थियो त्यसताका । म आत्तिनथालेकी थिएँ तर भिनाजु दिदीको कुनै कुराले झिजोँ मान्थेनन् । उनको दिदीप्रतिको लगाव र आत्मियता देखेर छक्क पर्थें म । मलाई उनीजस्तो पुरुष दुनियाँमै नभएको भान हुन्थ्यो त्यसताका । उनी दिदीको सारा काम सकेसम्म आफ्नै हातले गर्थे । घरभरि कामगर्नेहरू थिए तर उनी मलाई या अरु कसैलाई उसको कुनै काम लगाउँथेनन् । सारा काम छोडेर घरमै बसेका थिए उनी । दिदीकै वरिपरि । मेरो मनमा उनीप्रति सम्मान र चाह त्यति बेलै उब्जिएको हो । दिदीको जबरजस्तीमा गरिएको त्यो बिहे मेरो मन र आत्माले कतिबेला स्वीर्कार्यो मैले नै थाहा पाइनँ । भिनाजु मेरो आइडियल बनिसकेथे दिदीले दुनियाँ छोड्नु अघि नै ।

दिदी बितेको एक-डेढवर्ष भिनाजुको स्थिति देखेर म बारम्बार कामना गर्थें– हरे ! दिदीको ठाउँमा म भएको भए । स्वास्नीको बियोगमा यति रोएको छट्पटाएको मैले पहिले अरु कसैलाई देखेको थिइनँ । फेरि देख्नेछु, मलाई लाग्दा पनि लाग्थेन । त्यसताका जुन हालत थियो उनको — मलाई लाग्थ्यो, यदि मिल्ने भए भिनाजु दिदीसँगै सती जान्थे होलान् । कति भाग्यमानी मेरी दिदी ! तर म ऊ जति भाग्यमानी के, म त भाग्यमानी नै थिइनँ ।
छातीमा जुम्ल्याहा बच्चा च्यापेर मरेकी स्वास्नीको बियोगमा बिक्षिप्त भिनाजुलाई यो याद दिलाउन मलाई पूरा दुई वर्ष लाग्यो —अब म पनि उनको जिन्दगीमा थिएँ । उनकी विवाहिता थिएँ । तर भिनाजु त्यो सत्यसँग आँखा चिम्लिरहन चाहन्थे । मैले कुनै कोसिस बाँकी राखिनँ उनको मन जित्न तर अँहँ मैले उनको मनबाट दिदीको स्थान एकइन्च डगमगाउन सकिनँ, मेटाउन त परैजाओस् । छोराहरूलाई पनि मसँग त्यति झ्यामिन दिन्थेनन् उनी । बारम्बार याद दिलाइरहन्थे—म उनीहरूकी आमा नभएर सानिमा हुँ भन्ने कुरा ।
०००

पाँच बर्ष यसरी बित्यो जसरी पाँच यूग बित्छ ।
उपेक्षित मैले एक्लोपनसँग तर्षिएर आफ्नै सन्तान जन्माउन चाहेँ तर यो थाहा पाएर म रुन पनि सकिनँ कि भिनाजुले त दिदीको आग्रहमा अप्रेशन गराइसकेका रहेछन्, मसँग बिहे गर्नुभन्दा पहिल्यै । उनका लागि दिदीको याद र उनका छोराहरु नै काफी थिए जिन्दगी गुजार्न त्यसैले उनी मसँग अन्तरङ्ग हुन त चाहन्थेनन्, सन्तान जन्माउन त परको कुरा । बिहे गरेको पाँच वर्षपछि पनि मैले विधिवत् बिहे गरेको पुरुष मेरो भिनाजु नै रहे, दिदीकै यादसँग समर्पित । म न स्वास्नी बन्न सकेँ न अब आमा बन्न सक्नेछु, सोचेर मन छटपटाउँथ्यो तर आफ्नो यो छटपटाहटको कुनै समाधान सोच्न सक्थिनँ ।
मान्न नचाहँदानचाहँदै पनि आफ्नो यस स्थितिको जिम्मेवार दिदीलाई मान्न थालेकी थिएँ म ।मैले स्वीकारे झैं यदि उनले पनि मलाई मनले स्वीकारेकोभए सायद मलाई आफ्नै सन्तानको यतिबिधी चाहना हुन्थेन होला तर त्यस घरमा भएका सबै कुरामा, छोराहरूदेखि विनीतसम्ममा दिदीकै छाप देखेपछि मेरो मन झन धेरै छटपटाउन थालेकोथियो ।

छोराहरू नौ दश वर्षका भएपछि विनीतले मेरो इच्छाविरुद्ध उनीहरूलाई देहरादुनको बोर्डिङस्कुलमा राखेर आए । उनी आफू पनि कामको सिलसिलामा यहाँ र उहाँ पुगिरहन्थे । म एक्लो, उपेक्षित अगाडि पढिरहेको बहानामा बडो मुस्किलले आफुलाई कसैगरि भुलाएर दिन काट्थेँ । मेरो जागिर खानुको पनि बिरूद्ध थिए विनीत । अनि मैले उनको इच्छाविरुद्ध कुनै काम नगर्ने अठोट गरेकी थिएँ । यो सायद मेरो उनलाई जित्ने प्रयासहरू मध्येको एउटा प्रयास थियो । तर उनलाई जित्न त प्रज्ञा नै हुनसक्नुपर्थ्यो जुन म थिइनँ, न कहिल्यै हुनसक्थेँ ।

अचानक हावाको झोंक्काले मलाई झस्कायो । कौसीमा म एक्लै थिएँ । जुन जगमग थियो आकाशमा । ताराहरू पूरै बल लगाएर चम्किरहेका थिए तर जूनको अगाडि उनीहरूको चमक फिक्का लागिरहेको थियो । जस्तो कि मेरी दिदीको यादको सामु मेरो जीउँदो अस्तित्व फिक्का थियो मेरो लोग्नेका आँखामा ।
आजित भएर म भित्र पसेँ । विनीत ओच्छ्यानमा ढलिमली मस्त निदाइरहेका थिए । उनको साइडको टेबलमा दिदीको तस्विर अझै मुस्कुराई रहेकोथियो । मलाई लाग्यो—म गल्तीले मेरी दिदीको लोग्नेको कोठामा छिरेँ । मेरो मन मानौ अपराधबोधले भरियो । म बेडरूमबाट बाहिर निस्किएँ ।

“तपाईंलाई पनि निन्द्रा परेन जस्तो छ नि…”
पछाडिबाट आएको अपरिचित स्वर सुनेर मेरो हातबाट दूधको प्याकेट झऱ्यो । मैले डराइडराई फर्केर हेरेँ । मेरो सामुन्ने ट्राउजरको दुवै खल्तीमा हात हालेर ऊ उभिएको थयो । सुयोग /असुयोग !
मैले झुकेर दूधको प्याकेट टिपेँ । उठ्दा उसका आँखाहरूले सूईरोले झैँ शरीरमा घोचिइरहेको भान भयो । म अघि बढ्न खोजेँ तर ऊ मेरो सामुन्नेबाट टसकामस भएन ।
“छोड !” मैले आफूमा खुम्चँदै भनेँ ।
“मलाई पनि दिनुस् न है एक कप चिया…!” उसले बाटो छोड्ने सर्त राखेझैँ गरी भन्यो । उसका आँखा अझै मेरो गुलाबी नाइटी छिचोलेर मेरो शरीर छाम्न प्रयत्नरत थिए । मेरो चियाको चाह सेलायो । मैले दूधको प्याकेट फिर्ता फ्रिज भित्र हुत्याएँ, जोडसँग फ्रिजको ढोका बन्द गरेँ र उसलाई एकहातले अलि पर घँच्याडेर भनेँ, “आफैँ बनाएर खाऊ ।”
अघि बढिसकेपछि पनि उसका असभ्य आँखाले अझै पछ्याइरहेको भान भयो मलाई ।
म कतै नहेरी माथि उक्लिएँ ।
भऱ्याङको टुप्पोमा विनीत उभिएका थिए । म टक्क अडिएँ ।
“यसबेला के गरि’रा यहाँ ?” उनले पर उभिएको सुयोगलाई हेर्दै मसँग सोधे ।
“चिया बनाउँछु भनेर ओर्लेको थिएँ ।” मैले उनको छेउबाट माथितिर उक्लदै भनेँ ।
“यसबेला ?” उनले मेरो पछिपछि आउँदै भने ।
“बेलालाई केही भएको छैन नीत… सरी, भिनाजु ! तर सायद मलाई केही हुँदैछ ।” म कोठामा पसेँ र पछाडि आइरहेका विनीत भित्र पस्नुभन्दा पहिल्यै कोठाको ढोका बन्द गरेँ अनि बन्द ढोकामा पिठ्यूँ अड्याएर उभिएँ । विनीतले ढोका ढकढकाएनन् । उनको पदचाप अर्को कोठातर्फ मोडिएको सुनेर मेरा आँखामा आँसु आयो । के यसै गरी बित्नेछ मेरो बाँकीको जिन्दगी पनि, जसरी यी दसवर्ष बिते ?

केही दिनदेखि विनीत घरमा थिएनन् । सुयोगको हस्तक्षेप र असभ्यताले हायलकायल बनाएको थियो मलाई । ऊ यहाँ-उहाँ मेरो बाटो छेकेर कुरा त गर्थ्यो गर्थ्यो मसँग, मेरो सुत्नेकोठामा समेत नक नै नगरी छिरिदिन्थ्यो । विभिन्न बहानाले छुन्थ्यो मलाई र भनिरहन्थ्यो, “दाइलाई कस्तो कदर नभएको यति राम्री स्वास्नीको ? म भए त छातीमा टाँसेर राख्नेथिएँ सधैँ ।”
मलाई नराम्रो लाग्थ्यो । उसलाई कडाइका साथ त्यस्ता वाहियात कुरा नगर्न चेतावनी दिन्थेँ तर भित्र मनमा कतै राम्रो पनि लाग्थ्यो ।
वैवाहिक जीवनको दस
वर्षमा विनीतले कहिल्यै मलाई आफ्नो मर्जीले अँगालेका थिएनन् । मै अघि बढेर अँगाल्थेँ, चुम्थेँ, उनलाई समेटेर हृदयमा टाँस्थेँ र उनीबाट पनि त्यही अपेक्षा राख्थेँ । तर मेरो त्यो अपेक्षा, त्यो चाह कहिले पूरा हुन्थेन । न उनी मेरो कुनै कुराको तारिफ गर्थे, न कुनै कुराका लागि प्रोत्साहित गर्थे । यस्तोमा त्यो भर्खरभर्खर जुँगाको रेखी बस्दै गरेको युवकको प्रशंसा र अभद्र लाग्ने छुवाइले पनि काउकुती लागेझैँ महसुस हुन्थ्यो मलाई । तर त्यो काउकुतीले कुनै विकृत मोड लिनुभन्दा पहिल्यै म विनीतसँग उसकाबरेमा कम्प्लेन गर्न चाहन्थेँ । उसलाई घरबाट लघार्न लगाउन चाहन्थेँ । तर विनीतले जम्माजम्मी दुईफेर फोन गरेका थिए यसबीचमा । त्यो पनि एकदम संक्षिप्त । मैले उनी घर फर्किएर आएपछि नै कुरा गर्ने मन बनाएँ ।

दुई हप्ता बितिसक्दा नसक्दै मलाई उसका ती वाहियात कुरागराई र व्यवहार, उसको असभ्य हेराइ सह्य हुँदैथियो । अचम्म !
यसबीच उसैको अनुनय-बिनयमा मैले उसलाई एक-दुई फेर कलेज पुऱ्याउने र बाटो घाटोमा भेट्दा घरसम्म ल्याउने गरिदिएकी थिएँ । म ननसेन्स नसहने मान्छे ऊजस्तो मान्छेको कम्पनीमा सहज हुनलेकी थिएँ । दस वर्षको उपेक्षा र एक्लोपनले बिंधिएको, पिल्सीएको मन, उसको बनावटी कुराले नै सही, रमाउन थालेको थियो, जुन म आफूलाई नै मन परिरहेको थिएन । उसको हल्काफुल्का अभद्रतापूर्ण ब्यवहारलाई सहिदिए पनि म मनले चाहन्थेँ—ऊ सकेजति छिटो यो घरबाट लघारीयोस् ।

त्यो दिन म भर्खर नुहाएर बाथरूमबाट निस्किएकी थिएँ । बाथरोवमा बेरिएकी म ड्रेसिङ टेबलअगाडि उभिएर ड्रायरले केश सुकाउँदै थिएँ, अचानक ऊ मेरो बेडरुमको ढोका खोलेर भित्र पस्यो ।
“कति पटक भनौँ, ढोका नढकढकाई मेरो कोठामा नपस भनेर ?” मैले साँच्चै नै रिसाउँदै ऊतिर फर्किएर भनेँ । तर ऊ सुनेकोनसुन्यै मुख बाएर मतिर हेरिरह्यो । मैले उसको अभद्र हेराइबाट विचलित हुँदै रोब अगाडि छातीमा तानतुन गरेर मिलाएँ ।
“परी !” ऊ बडबडायो ।
“ह्वाट ?”
“तपाईं जस्ती स्वास्नीको कदर गर्न नजान्ने मान्छे या त मूर्ख, पागल या
नामर्द हुनुपर्छ ।” उसले भन्यो । मेरो मन यो सोचेर तुष्ट भयो– मेरो र विनीतको सम्बन्ध नर्मल नहुनुमा कमसेकम म दोषी थिइनँ । ममा कुनै कमी थिएन । आफ्नो सोचमा रुमलिएर मैले उसलाई हप्काउन बिर्सिएँ एक्कैछिन । ऊ बिस्तारै मेरोछेउमा सऱ्यो ।
“बाहिर निस्क ! मलाई लुगा फेर्नुछ ।” चाहँदाचाहँदै पनि मेरो स्वर मैले चाहेजस्तो कठोर हुन सकेन । उसले केहीबेर चुपचाप मलाई हेऱ्यो । म उसको अभद्र हेराईले धकाएर दुई कदम पछिसरेँ । अचानक उसले दुई हातले मेरो अनुहार थाम्यो र मेरो ओठमा
प्रगाढतापूर्वक चुम्यो । एकैक्षण म संज्ञाशून्य त्यतिकै उभिएँ । उसको त्यो अप्रत्याशित एक्सन मेरो दिमागमा रजिस्टर हुन केही सेकेन्ड लाग्यो । त्यसपछि मैले बलपूर्वक उसलाई आफूबाट पर धकेलेँ र उसको गालामा कस्सेर दुई झापड हानेँ । मेरो थप्पडहरूको वास्ता नगरेर ऊ मलाई अँगाल्ने प्रयत्न गरिरह्यो ।
“हाउ डेयर यु ?” म क्रोधको आवेगमा कराएँ, “हिम्मत कसरी भयो तिम्रो मलाई छुने ?”
“अब यत्ति धेरै भाउ पनि नखोज प्राप्ति !” उसले निर्लज्जतापूर्वक मुस्कुराउँदै भन्यो, “विनीत दाइ र तिम्रो सम्बन्धको बारेमा कसलाई थाहा छैन र ? एउटै छतमुनि बस्दैमा एउटा पुरुष र एउटी स्त्री लोग्नेस्वास्नी हुँदैनन् । त्यसका लागि उनीहरूबीच प्रगाढ सम्बन्ध हुनुपर्छ । केही त कमी होला तिमीमा, तब त दाइ तिमीप्रति यति उदासीन छन् । कसलाई थाहा छैन दाइले तिमीलाई भाउ दिन्नन् भन्ने कुरा ? त्यसैले जसले भाउ दिईरा’छ उसलाई अपनाउ र मोज गर ! दाइलाई भन्न को जान्छर ?” उसले फेरि अँगालो फिँजायो ।
मेरो सारा शरीरको रगत उम्लियो । कत्रो हिम्मत त यस्को ? विनीत र मेरो सम्बन्धलाई प्रगाढ बनाउन मैले आफ्नो तर्फबाट कुनै कमी राखेकीथिइनँ । त के उनको उदासीनताको सजाय पनि मैले भोग्नुपर्ने ? यो कस्तो बिडम्वना ? कस्तो त्रासदी हामी स्वास्नीमान्छेको ? पुरुषले नचाहनुको मूल्य पनि हामीले चुकाउनुपर्ने ? मैले हातमा भएको ब्रसको झटारो ऊतर्फ हानेँ र विक्षिप्तझैँ कराएँ, “गेट आउट ! निस्की मेरो कोठाबाट ! निस्किहाल ! आउन दे विनीतलाई, म गर्छु तेरो बन्दोबस्त ! आउट !”
ऊ मतिर हेरर व्यग्यंपूर्वक मुस्कुरायो अनि कुम उचालेर सुसेल्दै बाहिर निस्कियो ।
म क्रोध, अपमान र बिवशताले निसास्सिँदै ओच्छ्यानमा ढलेँ र डाँको छोडेर रोएँ । विनीतले अपनाए, मानदिए यस्ता झार-पातको हिम्मत हुन्थ्यो उनकी स्वास्नीमाथि हातहाल्ने ?

त्यसपछि तीन दिन ऊ मेरोसामु देखा परेन । चौथो दिन विनीत घर फर्किए । आउनेबित्तिक्कै उनले मलाई उनको स्टडी रुममा बोलाए । यो उनको लेखपढ र काम गर्ने ठाउँ थियो, जहाँ उनको मर्जीबिना कसैलाई पस्ने अनुमति थिएन । म छक्क पर्दै उनको स्टडी रुममा छिरेँ । यो देखेर म झन् जिल्लिएँ—सुयोग पहिल्यैदेखि त्यहीँ थियो । कोठाको वातावरण चिसो थियो साथमा सुयोगको अनुहार पनि । यस्तो लाग्थ्य, मानौ ऊ रुँदारुँदा थाकेर भर्खर चुप लागेको थियो । उसले कुटिलतापूर्वक मलाई हेऱ्यो एकैछिन, त्यसपछि अबोध अनुहार बनाएर विनीततिर हेरेर सुँकसुँकाउन थाल्यो ।
“ह्वाट्स गोईङ अन ?” मैले सशंकित भावले विनीतलाई हेर्दै सोधेँ ।
“तिमी भन !” विनीतले मेरो अनुहारमा आँखा गाड्दै कठोर स्वरमा भने ।
“म के भनौं ?” मैले अलमल्ल पर्दै दुवैलाई पालैपालो हेरेँ ।
“त्यही भन जुन तिमीले मेरो अनुपस्थितिमा सुयोगको साथमा गऱ्यौ !” विनीतको स्वर कठोर मात्रै थिएन, त्यसमा मप्रति अनादर र उपेक्षा प्रस्टै झल्केकोथियो ।
“मैले गरेँ ? मैले के गरेँ ?”
“प्राप्ति ! मसँग यसरी दोहोरी खेल्दैमा तिम्रो कालो कर्तुत पुछिन्न । आफ्नो नसही कमसेकम मेरो इज्जतको त ख्याल राखेको भए हुन्थ्यो ? त्यो नभए’निउसको र आफ्नो उमेरको अन्तरकै ख्याल राखेको भए हुन्थ्यो, उसको ओच्छ्यानमा घुस्रन जानुअघि !” विनीतको स्वर कलबिख थियो ।
“ह्वाट ?” मलाई लाग्यो कसैले मलाई उठाएर ईंट्टा पोल्ने भट्टीमा धकेलिदियो, “म ? म घुस्रन गएँ यसको ओच्छ्यानमा ? कोही नपाएर यो वाहियात मान्छेको ओच्छ्यानमा घुस्रन जान्छु होला नि अब म ? यति नै जान्नुभयो तपाईंले मलाई यी दश वर्षमा ? ममाथि नभएपनि कमसेकम आफूमाथि त विश्वास हुनपर्ने तपाईंलाई ? तपाईंकी स्वास्नी पो हुँ त…।”मैले गुनासो गरेँ । पत्याउनै सकिनँ विनीतले ममाथि यस्तो घृणित आरोप पनि लगाउन सक्छन् भनेर । उनले मलाई अपनाउन नसक्नुको मोल पनि मैले नै चुकाउन पर्नेछ, मैले कहिल्यै सोचेको थिइनँ । उनको जे भए पनि मेरो निष्ठा उनैको साथमा थियो । तर सायद पुरुषहरू त्यति परको सोच्नै सक्दैनन् । उनीहरुका लागि त मन परे टुकुचा पनि गंगा मननपरे ढल । यो कस्तो बिडम्बना ?
मैले आग्नेय नेत्रले सुयोगतिर हेरेँ र उसको कुकृत्य सविस्तार वर्णन गरिदिएँ । ऊ नाटकीय पाराले झन् बेस्सरी रुनथाल्यो ।
“म कसरी पत्याऊँ ?” सबै वृतान्त सुनिसकेर विनीतले गम्भीर स्वरमा भने, “यदि यो सत्य हो भने तिमीले मलाई पहिल्यै किन भनिनौ ? उत्तिनै खेर फोन किन गरिनौ, जसरी सुयोगले गऱ्यो । तिमीले भनेझैँ सुयोगले अभद्र व्यवहार गरेको भए तिमी किन उसलाई गाडीमा लिएर यहाँ-उहाँ हिँडिरह्यौ ? किन अनेकथरी गिफ्ट किनेर उसलाई दिइरह्यौ, उसले लिन नमान्दानमान्दै । प्राप्ति ! तिम्रो मनमा चोर नभए, तिमीलाई सुयोगको व्यवहार मर्यादाभन्दा बाहिरकोलागेको भए तिमी किन आधाआधा रातमा नाइटी लगाएर ऊसामु परिरह्यौ ?”
मलाई विनीतको वाइहात आरोपले भन्दा उनको स्वरको अविश्वासले पराजित गऱ्यो । म उनको आरोपको सफाई पेस गर्न सक्थेँ तर उनको मप्रतिको अविश्वासलाई के गर्न सक्थेँ र ?
“तिमीले सधैँ मसँग सोधिरह्यौ, गुनासो गरिरह्यौ—मैले प्रज्ञाको स्थान तिमीलाई किन दिइनँ भनेर, अब सायद तिमीले बुझ्यौ होली किन ? किन कि तिमी प्रज्ञा कहिल्यै बन्न सक्दिनौ । तिमीमा त्यो खुवी, त्यो संस्कार नै छैन !” उनले उपेक्षापूर्वक भने ।
मेरा आँखामा आँसु आउन खोज्यो, जसलाई मैले थुकसँगै निलेँ र तटस्थ स्वरमा भनेँ, “भिनाजु ! मैले दिदीको ठाउँ कहिल्यै लिन चाहिनँ । उसले छोडेर गएको खाली स्थानमा आफ्नो लागि अलिकति ठाउँ बनाउन पक्कै खोजेकी हुँ तर त्यो पनि मेरालागि सम्भव भएन । तपाईंले नस्विकारे पनि तपाईंलाई थाहाछ —मैले ईमानदारीपूर्वक कोशिश गरेकीहुँ आफ्नो तर्फ बाट तर तपाईंलाई त मलाई नस्विकार्ने बहाना चहिएको थियो सधैँभरि—कहिले केका लागि, अनि कहिले केको नाउँमा र अहिले यो असुयोगको नाउँमा । म तपाईंको जीवनमा नरहुँ भन्ने चाहानाले तपाईंलाई यो चरित्रहीन मान्छेको कुरामा बिश्वास गर्न प्रोत्साहित गरेको हो भने यसै सही !” म फरक्क फर्किएँ ।
“कहाँ जानलागेकी ?” विनीतले सोधे ।
“अझै पनि मैले तपाईंको यस प्रश्नको उत्तर दिनु आवश्यक छ र ?” मैले पुनः उनीतिर फर्केर ढृढ स्वरमा भने, “तपाईंले लगाएको यत्रो ठूलो आरोपपछि पनि म यही छतमुनि तपाईं सँगैबसूँ ? अब यो सम्भव छैन,कमसेकम मेरा लागि यो सम्भव छैन ।” म फेरि अघि बढेँ । सुयोगको अनुहारको रङ्ग फेरियो ।
विनीतले अलि नम्र हुँदै भने, “जे भयो भयो । माफी माग र अब आइन्दा यस्तो गल्ती नदोहोऱ्याउने प्रमिस गर ।घरछोडेर जान जरुरी छैन ।”
यसपटक म फर्केर उनको कुर्सीछेउ गएर उभिएँ र उनको आँखामा आँखा गाडेर भनेँ, “ठीक छ । म प्रमिस गर्छु । सरी पनि भन्छु तपाईंसँग पनि र सुयोगसँग पनि तर तपाईं मेरा केही प्रश्नको सही सही उत्तर दिनुस् प्लिज !”
उनले प्रश्नवाचक दृष्टिले मलाई हेरे तर केही बालेनन् ।
“तपाईं मलाई लगभग सोह्र सत्र वर्षदेखि चिन्नुहुन्छ । विगत दस वर्षदेखि हामी वैवाहिक सम्बन्धमा बाँधिएकाछौँ । मेरो कुन व्यवहारले तपाईंलाई त्यस्तो लाग्यो कि म सुयोगले भनेको सबै कुरा गर्न सक्छु ? मेरो सफाई नसुन्दै एउटा काँचो उमेरको, परिवार बाहिरको मान्छे, जसलाई मेरो बारेमा केही थाहा छैन, उसको कुरामा आँखा चिम्लेर विश्वास गर्नु र मेरोमा नगर्नुको के कारण छ भन्नुस् त ? यसैले कि म स्वास्नीमान्छे हुँ ? यसैले कि तपाईं र मेरो सम्बन्धमा तपाईंले न्याय गर्न सक्नुभएको छैन ? या फेरि सुयोग पनि तपाईं जस्तै पुरुष हो त्यसैले उसको कुरा गह्रौ अनि मेरो कुरा हलुका मानिन्छ, किनकी म स्वास्नीमान्छे हुँ, त्यो पनि तपाईंले नचाहेकी स्वास्नीमान्छे ?”
विनीतले टाउको झुकाए । निक्कैबेर उनी नबोलेपछि मैले नै भनेँ, “विनीत ! त्यस स्थितिमा मात्र मलाई यी वाहियात कुराहरूको सफाइ दिन आवश्यक थियो जब तपाईंको आस्था र विश्वास मसँग बाँधिएको हुन्थ्यो । तर तपाईंलाई त म कहिल्यै विश्वास योग्य लागिनँ । तपाईंलाई मात्र होईन मेरी आफ्नी दिदीलाई पनि म विश्वास योग्य लागिनँ । त्यसैले त म आज यो अग्नि परिक्षा दिन उभिएकीछु । म दिदीको बिश्वाश बचाउनमा लागेँ । उसले छोडेर गएपछि तपाईंलाई एक्लिन नदिनमा लागेँ । उसका छोराहरुलाई आफ्नो बनाउनमा लागेँ तर मैले सोच्दैसोचिन—म त म थिएँ । तपाईंले भनेझैँ, म प्रज्ञा हुनैसक्थिनँ । तर बिश्वाश गर्नुस्—म ऊजस्ती हुन पनि चाहन्नँ । अनि सायद तपाईं मलाई मेरो आफ्नो स्वाभाव, ब्यक्तित्व र चरित्रकासाथ अपनाउन पनि सक्नुहुन्न । नत्र के, यो कुजातले दिदीमाथि यही आक्षेप लगाएको भए तपाईंले यसलाई त्यसै छोडिदिनुहुन्थ्यो र ?”
“..प… प्राप्ति !” विनीतको अनुहारको रङ्ग उड्यो । साथसाथै सुयोग पनि डराएकोदेखियो ।
“ यतिबेलासम्म अस्पतालमा हुने थियो यो चण्डाल ।” मैले असीनपसिन हुँदैगएको सुयोगतिर औंल्याएँ र विनिततिर फर्किएँ, “तर म त म हुँ, मेरोलागि तपाईंको मनमा माया नसहि, एक थोपा इज्जत मात्रै भएकोभए यति बेला यो मान्छे आफ्नो खुट्टामा उभिएको हुने थिएन । त्यसैले म तपाईंलाई कुनै सफाइ दिनु, तपाईंसँग कुनै प्रमिस गर्नु र माफी माग्नु जरुरी ठान्दिनँ । उसै पनि मेरो जीवनको दस वर्षले नजितेको तपाईंको विश्वासलाई यो एउटा माफीले जित्छ भने मलाई त्यो विश्वास चाहिँदैन । तपाईं र म बिचको सम्बन्धलाई कुनै भ्रष्ट सोचको ब्यभिचारी पुरूषले बोलेको झुटले जगैदेखि हल्लाईदिन्छ भने, यी कुनै कुराका लागि म सफाइ दिन चाहन्नँ । बरू म यो घर र तपाईंलाई छोड्न सक्छु । यसै पनि वैवाहिक जीवनको दस वर्ष दिदीको याद र तपाईंको बीचमा एउटै ओच्छ्यानमा सुतेर निसास्सिएकीछु।अब म एक्लिन चाहन्छु । स्वतन्त्र हुन चाहन्छु र त्यही स्वतन्त्रता तपाईंलाई पनि दिनचाहन्छु । तपाईं खुसीरहनुहोस् दिदीको यादसँग । र,म खुसी खुसी बाँच्नेछु तपाईंका आरोपहरूसँग । यतिकाबर्षमा केही त दिनुभयो तपाईंले मलाई ? आरोप नै सही । धन्यवाद !”
“प्राप्ति…म…।” विनीतले भन्नखोजेको कुरा मैले सुन्न चाहिनँ, त्यसैले उनलाई उछिन्दै उनीसँग आँखा जुधाएर भनिदिएँ, “यति चाहिँ भनिदिन चाहन्छु विनीत…दिदीले जबरजस्ती हाम्रो बिहे गरिदिए पनि तपाईंलाई मनपराउन र माया गर्न मलाई कसैले जबरजस्ती गर्नैपरेन…।”
“प्राप्ति…” विनीतको स्वरमा हल्का कम्पन मिसिएको आभास भयो मलाई तर म बोलिरहेँ, “ उमेरको यत्रो अन्तर हुँदाहुँदै पनि, तपाईंसँग मेरो बिहेको परिस्थिति नर्मल नहुँदानहुँदै पनि म तपाईंसँग साँच्चै नै मनले बाँधिएकीथिएँ, सत्ये । अनि भिनाजु, कसैसँग मनले बाँधिइसकेकी स्वास्नीमान्छेलाई यो जस्तो वाहियात, आवारा र हलुको मान्छेले त के, भगवान्ले पनि डगाउन सक्दैन । यो तपाईंले सुन्नु,देख्नुभन्दा महसुस गर्नु आवश्यक हुन्छ । तपाईंलाई आइडियल मानेर तपाईंबाट पाएको उपेक्षालाई पनि उपहार मानेर तपाईंको साथमाहुनु मेरो कमजोरी होइन, मेरो बहादुरी, मेरो सुसंस्कार हो । नत्र केमा कम छु म तपाइर्भंन्दा ? सुन्दर छु ।पढेलेखेकी छु । बाबाले यति सम्पति छोडेर जानुभा’छ—मलाई तपाईं जस्तो कसैमा आश्रित हुनै पर्दैन । मन बहकाउनै चाहेँ भने यो कुजातजस्तो होइन,तपाईंभन्दा बेटर पुरुष छान्ने खुबी र सामर्थ्य अझै पनि छ ममा । तर सायद तपाईं यो बुझ्न सक्नुहुन्न । सायद तपाईंको पुरुषत्वको घमण्डले तपाईंलाई बुझ्नैदिँदैन।” बोलेर सकेपछि मैले निधारमा चिटचिटआएको पसिना सलको एकछेउले पुछेँ । विनीतको मात्र होइन, सुयोगको अनुहार पनि नीलो देखियो । म फरक्क फर्किएँ ।
“मेरो कुरा सुन प्राप्ति…” विनीत उठेर मतिर बढे । मैले उनीतिर फर्केर हातको ईशाराले उनलाई रोकिन संकेत गरेँ ।
“ तपाईं जुन उचाइमा हुनुहुन्थ्यो मेरो नजरमा, त्यहाँबाट गिरेर उ; यसैको छेउछाउमा उभिन आइपुग्नुभएको छ भिनाजु !” मैले सुयोगतिर औँल्याउँदैभनेँ, “अब तपाईंको कुनै पनि कुरा र ब्यवहारले तपाईंलाई फिर्ता त्यो उचाईमा पुऱ्याउन सक्दैन । तपाईं विशिष्ट हुनुहुन्थ्यो । त्यसैले मेरो मन-मुटुमा हुनुहुन्थ्यो तर अब आँखामा पनि हुनुहुन्न ।”
म अघि बढेँ ।
“प्राप्ति ! मेरो कुरा सुन त…” विनीत मतिर लम्किए ।
मैले पहिलो पटक उनको स्वरमा डर मुछिएको पाएँ । मेरो मन तुरुक्कै रोयो । किन यति साँघुरो हुन्छ पुरुषको मन, जहाँ साथमा हुनेहरू अटाउँदैनन् तर छोडेर जानेहरू सधैँ रहिरहन्छन् ? मैले पनि सायद छोडेर गएपछि नै उनको मनमा ठाउँ ओगट्ने छु ।
म सुयोगको छेउमा एकैछिन अडिएँ र बिस्तारै भनेँ, “मैले चाहेँ भने म अहिल्यै पुलिस बोलाएर तिम्रो वास्तविकता दुई मिनेटमा उदाङ्ग बनाउन सक्छु । त्यसका लागि मलाई तिम्रो दाइको या अरु कसैको सहयोग पनि चाहिँदैन ।” मेरो दृढ़तापूर्ण स्वर सुनेर सुयोग थरर कामेको मैले प्रस्टै देखेँ ।
” तर जानदेऊ, किनभने मलाई तिमीले होइन, मेरो लोग्नेको अविश्वासले अपमानित गरेको छ । नत्र मेरोसामु तिम्रो के हैसियत ? हामीजस्ताको घर तिमीहरूजस्ता नैतिकताहीन, चरित्रहीन मान्छेको कारणले होइन हाम्रै कारणले टुट्छ । यदि मेरो लोग्नेलाई मलाई अपमानित गरेर आफ्नो गल्तीलाई सही र मेरो सहीलाई गलत देखाउने बहाना चहिएको थिएन भने तिमीजस्तो बाहिरी मान्छेको कारणले हाम्रो घर र सम्बन्ध टुट्न त के, हल्लिदाँ पनि हल्लिन्थेन । कमी हामीमै थियो । त्यसैले म तिम्रो सजाय समयको हातमा या फेरि विनीतको हातमा छोड्दैछु ।” म अघिबढेँ ।
पछाडि विनीतले सुयोगको गालामा हानेको थप्पडको आवाज सुनेर पनि म अडिइनँ । उनी मेरो नाम बोलाउँदै मेरो पछाडि लम्किएँ । म बाहिर निस्किएँ

००००

प्रतिक्रिया

सम्बन्धित खवर