– विपिन मर्म

१.
यहाँ हरेकले चासो राख्छन् – को कस्तो देखिएछ
विज्ञापन नगर्नेहरुकै बजार भाउ सस्तो देखिएछ
टाढिनेहरु खोज्दै आए, धनको गुरुत्वले होला,
शरिरको नक्कली सुन सक्कली जस्तो देखिएछ

२.
आपसमा मुटु साट्नेहरु प्रेमको भिक्षा लिइरहन्छ
समय चोट दिइरहन्छ, जिन्दगी शिक्षा लिइरहन्छ
आफ्नालाई फूलले छुदा बहुत चित्त दुख्ने भएर होला,
मर्दा पनि सुख छैन, लिनेले प्रेम-परीक्षा लिइरहन्छ

३.
कुखुरा नभेटिएकै बेला स्याल करायो भन्ने सम्झिनू
होसमा नभएको बेला दस्तखत गरायो भन्ने सम्झिनू
हिरा दिदा जिरा जति पनि नसोँच्नेलाई त्यागेकै राम्रो,
साइज नमिलेको जुत्ता थियो, हरायो भन्ने सम्झिनू

४.
पत्थर भित्र देउता पाइनँ, पत्थर फुटाएर
न त दुश्मन सखाप भए, ओखर फुटाएर
यो जुनीमा त्यस्तो यन्त्र कै’ले बन्ने होला,
भाग्य थोरै सच्याउनु’थ्यो, खप्पर फुटाएर

५.
कुनै मुटु देउता हुन्छ, कुनै मुटु ढुङ्गा हुन्छ
काँडा सम्झे घोच्छ जीवन, फूल सम्झे थुङ्गा हुन्छ
कतै अर्थहीन जीवन कतै बन्छ मूल्यवान
झरेको त्यो पात पनि कमिलालाई डुङ्गा हुन्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर