
– प्रज्जल पुकार
गजल १,
मलाई हिम्मत चाहिएको छ थोरै बल चाहिएको छ
भत्काउनु छ यो छाती एउटा झम्पल चाहिएको छ
ठण्डी छ रुघा बढ्छ दम बढ्छ बा मुख छोप्नोस्
नाई बाबु बलेको चितालाई शितल चाहिएको छ
सम्झनोस कति फरक हुन्छ एकै अङ्गका चाहना
आमालाई चस्मा प्रियालाई गाजल चाहिएको छ
यहा बजेट छुटिएछ पौष्टिक आहारको तालीमलाई
मेरो बच्चालाई माड पियाउने चामल चाहिएको छ
मुर्ख नेताले देश खाईसके विद्वान पागल ठहरिए
साच्चै यो देशलाई पनि एउटा पागल चाहिएको छ
गजल २
गाउँहरु मध्ये हाम्रो गाउँ निकै भाग्यमानी पर्छ
त्यही गाउँमा आफ्नो त घर समेत ऐलानी पर्छ
बा दुई महिना भो हाम्रामा मासु किन नल्याएको
पुषमा ग्रहण लाग्यो छोरा माघमा स्वस्थानी पर्छ
दिवा खाजामा हलुवा नदिनोस मेरो छोरालाई
ढिडो खाईदिदैन झगडा गर्ला पछि बानी पर्छ
आफै अंश दिएर आफै किन रुनु हुन्छ आमा
बाबु यस्तै हो भान्सेका आँखामा खुर्सानी पर्छ
तसर्थ पढेर पनि घाटमा मान्छे पोल्ने काम गर्छु
लासले घुस माग्दैन घाटमा कम लगानी पर्छ ।।
***
प्रतिक्रिया
-
४