
– श्यामल
यो ठाउँ तिनीहरूको होइन
त्यहाँ तिनीहरू उदास छन्
तिनीहरू आफ्नै प्रारब्धमाथि
रोइरहका छन् ।
एकहुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित
तिनको घरमा पसे
तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट
र मानिसहरूको ठाउँमा
रूखपात नभएको
पानीका नदी र तलाऊहरू नभएको
सिमेन्टको सुख्खा पर्खालहरूमा साना ढोढाबाट
बिरानो ठाउँमा
भित्र हुलिदिएर
तिनीहरू मानिसहरू देखेर तर्सेका छन्
तिनको आत्मा तिनका शरीरबाट झिकेर
भेटनेनरी डाक्टरको चक्कुसँग बसेको छ
काटिनका लागि तयार भएर ।
तिनका आफन्तहरू सबै जङ्गलमा छन्
तिनको भोक जङ्गलमा छ
तिनको तिर्खा र अस्पष्ट सपनाहरू जङ्गलमा छन्
तिनको आरोग्य जङ्गलमा छ
तिनको औषधि जङ्गलमा छ
तिनको ऋतुदान गर्ने उत्तम ठाउँ जङ्गलमा छ
तिनीहरू बाँझिदैछन्
तिनको वीर्य सकिसकेको छ ।
वास्तवमा तिनीहरू जङ्गलमा फर्कन चाहन्छन्
यति धेरै मानिसहरूले जिस्काएको तिनलाई मन परेको छैन
तिनीहरू रिसाएका छन्
खान दिन आउने चिडियाघरको कर्मचारीलाई पनि उनिहरू चिन्दैनन्
ठूलो, शीतल, शान्त जङ्गलमै तिनको बास छ
तिनको ज्ञान, तिनको स्वाभिमान जङ्गलमा छ ।
मानिसको मायाले होईन तिनीहरू मानिसको छेऊ आएका
तिनीहरू केबल बाँच्ने निहुँमा यता हेरिरहेका हुन्
वास्तवमा तिनीहरूले मानिसको नियत सुँघिरहेका हुन् ।
तिनीहरूले आफ्नै प्रारब्ध बुझिरहेका छैनन्
र जङ्गलको मायाले रोईरहेका छन्
चिडियाघरको सुनसानभित्र
तिनको भयानक कोलाहल सुनिन्छ ।
***
प्रतिक्रिया
-
४