-नवराज न्यौपाने ‘मौन’

“सर ,नमस्कार ! हाम्रो पब्लिकेशनको वार्षिकोत्सबमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ ।हजुरले हिमाली जिल्लाहरुको समाचार ,अन्तरवार्ता र विविध लेखरचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है !” फेसबूक मेसेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी ! म धेरै खुशी छु । “मैले जबाफ पठाएँँ ।
हिउं पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन् । गाह्रो मानी मानी म उनीसंगै गएँ ।
‘सर ,तपाई त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहुदो रहेछ । अरु जिल्लामा पनि यो काम गर्नुभएको थियो ?’ उनले जिज्ञासा राखिन् ।
‘हो,मैले ताप्लेजुङ्देखि दर्चुलासम्मका ९ जिल्लामा यस्तो काम गरिसकेको छु । इन्जिनीयरिङ्ग मेरो पेशा र पत्रकारिता मेरो रुची हो । हाम्रो अफिसले ‘दुर्गम क्षेत्रको गतिविधि’ नामक त्रैमासिक बुलेटिन निकाल्छ । त्यस्तै ,वार्षिक रुपमा ‘सुगम बन्दैछन् दुर्गम भेगहरु’ नामक डकुमेन्ट्री फिल्म पनि बनाउने गर्छ । त्यो काम हामी आँफै मिलेर गर्छौं । अन्य संस्थाबाट भत्ता खानेगरी पत्रकार बन्न मिल्दैन । ‘ मैले भने ।
वेटरले रेन्बो ट्राउट माछा र हट लेमन लिएर आयो । एकछिन् सन्नाटा छायो । माछा खाइसकेपछि उनले झोलाबाट एउटा लक्जरी डायरी झिकेर दिदै भनिन् ‘खोल्नुस् त सर यो डायरी !
डायरी खोल्नासाथ संगीतको धून बज्यो -‘रेशम फिरिरी,रेशम फिरिरि,उडेर जाउँ कि डाँडैमा भञ्ज्याङ ।रेशम फिरिरी ।
डायरीमा लेखिएको थियो -‘परिश्रमी हातहरु कहिल्यै नथाकून्।’ त्यो पढ्दा मेरा आँखा रसाए ।
उनले सोधिन् -‘के भयो सर ?’
मैले भने – मेरो त एउटा मात्र हात छ् ,केवल दाहिने हात । त्यही हातले धेरैलाई पुरस्कार दिलाएको छ ।
उनका आँखाबाट पनि बररर आँसु झर्न थाले ।

***

प्रतिक्रिया

सम्बन्धित खवर