आर पि सि संगम


सपना सुन्दर रहेछ यथार्थमा जीएर गल्ती गरेछु
बाँध बनी नयनको डीलमा अडिएर गल्ती गरेछु
विक्षिप्त छौ रे आँसु दिएर पुछिदिनेको प्यारमा
मैले कहिल्यै तिमीलाई रुनै नदिएर गल्ती गरेछु

२,
पुज्दै थियौ कलश र दियो आँखा रसाइहाले
घाँटीमा दुबोको माला थियो आँखा रसाइहाले
सम्हालिन्छु सबको सामु आँसु झार्दिन सोचेँथे
नजर गई सिउँदोमा अल्झियो आँखा रसाइहाले

३,
मन-मुटुमा देश छ,आँखा वरिपरि घरको याद छ
ओठहरू मौन छन्,हृदयमा चीत्कार छ आर्तनाद छ
एक परदेशी घर फर्कोस् अभावको तारेभीर छ अगाडि
नफर्कोस् पछाडि जवानी फाँसी चढाउने जल्लाद छ

४,
एउटा प्रश्न सोध्छु आमा! कसरी छिरे होलान्?
यति बिघ्न आँसु आँखामा कसरी छिरे होलान्?
टाउको ठोक्किएर फर्किन्छन् सधैं तिल जत्रा खुसी
पहाड जत्रा दु:ख हाम्रो दैलामा कसरी छिरे होलान्

५,
किन बिसाएनन् गह्रुङ्गो भारी बालाई सोध्नुहोला
बताइदिनेछन् छर्लङ्ग पारी बालाई सोध्नुहोला
धर्तीलाई बोझ कति छ त्यो बोध आमालाई हुन्छ
आकाशको पनि त छ जिम्मेवारी बालाई सोध्नुहोला ।

***

प्रतिक्रिया

सम्बन्धित खवर