युवा गजलकार विनेश राई ‘मिन्जाई’ रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा छन् । आगो टेक्छ योद्धा
पहिलो संस्करण २०६८मा प्रकाशित गरेका उनको दोस्रो संस्करण केही महिना अघिमात्र बजारमा आएको छ । उनै गजलकारसँग उनको गजल कृतिसँग सम्बन्धित रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र उनको उत्तर ।

१, आगो टेक्छ योद्धा कस्तो खालको गजल सङ्ग्र हो? यसमा कस्ता गजलहरू समावेश छन्?

– स्वतन्त्र गजल संग्रह हो । बहरमा लेखिएको छैन । यसमा देशको राजनीतिक, सामाजिक र धार्मिक विकृति-विसंगति माथि व्यङ्ग्य प्रहार गरिएका गजलहरू छन् । परदेशका भोगाइहरू छन् । गजल भन्ने बित्तिकै प्रेमका कुराहरू आउछन् नै र माया प्रेम, मिलन- बिछोडका गजलहरू पनि छन् । तर निराश बनाउदैन । आगो टेक्छ योद्धा मुलतः जीवनमा जसले आफ्नो दुख -कठिनाइहरूसँग संघर्ष गरिरहनुभएको छ, ति युवाहरूको लागि उर्जाप्रद संग्रह हो । बाँकी चाहिँ पाठकहरूले नै भनिदिनुहुन्छ होला ।

२, कोरिया हुनुहुन्छ, पैसा फल्ने र टिप्ने देशमा पुगेर पनि गजलहरू टिप्नु भएछ? खासमा के रहेछ साहित्य?

– म पनि यहीँ लोकको मानिस हुँ र मसँग पनि मानवीय विचारहरू छन् । भावनाहरू छन् । अझ परदेशमा मजदुरी गर्दाको शारीरिक परिश्रमका दुखाइहरू धेरै छन् । त्यसैलाई ड्युटीमा रहन्दै पनि समय मिलेसम्म अक्षरमा खिप्ने गर्थेँ । बिदाको दिनहरू अझ धेरै समय यतै खर्चिएँ । परदेश मेरो लागि ‘आगो टेक्नु’ हो । साहित्य आफ्ना विचार र भावनाहरूलाई अभिव्यक्त गर्न सहारा लिएको हुँ ।

३, तपाईँ गजल किन लेख्नुहुन्छ? सङ्ग्रहमा समावेश कुनै गजलको पृष्ठभूमि सम्झिनु हुन्छ कि?

– प्रत्येक गजलको आ-आफ्नै पृष्ठभूमि छ । अझ शेरहरूका धेरै छन् । यहाँ बताएर के सकूँ होला र ? थोरै शब्दहरूमा धेरै बोल्न सकिने विधा भएकोले पनि गजल लेख्छु ।

४, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्ने? र झन् तपाईँकै किताब किन?

– खास पाठक चाहिँ हाम्रै वरिपरिकाहरू हुन् । जो दैनिक भेटिन्छन् वा काम गर्दा होस् अथवा हप्ता-महिनादिनमा कुनै कार्यक्रममा भेटिन्छौँ – गफिन्छौँ । ‘आगो टेक्छ योद्धा’ एक बसाईमैं पढिसकिन्छ । यो संग्रह पढ्नु भनेको एउटा युवाको साहित्य रुचि र उसको जीवन-संघर्षलाई पढ्नु हो ।

५, देश बसेर लेख्दा र परदेशमा बसेर लेख्दाको फरकपन के हुँदो रहेछ?

– लेख्ने त देशै बसेर हो । समय प्रसस्त हुन्छ । यहाँ त साहुको, मेनेजरको आँखा छल्दै रेस्ट टाईममा लुकिलुकी मोबाइल-नोटमा लेख्नुपर्छ । बिदाको दिन पर्खनुपर्छ । अनिन्द्राहरूलाई तह लगाउनुपर्छ । त्यसैले होला देश छोड्नु पर्दाको वेदनाहरू परदेशी साहित्यमा आउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर