पदमप्रसाद भट्टराई

पोहोर जस्तै
यो दशैंमा पनि गाँउ फर्कनेको लर्को
ऋणको बर्को ओढेर बिमानस्थलमा जहाज कुर्दै थियो।
पिङको लठारो बाट्ने लाठेहरु
लिङ्गो गाडन सबेरै बाँस काटनेहरु
आज बिदेशमा बेल्चा हान्दै होलान।
मासुभात र दहीचिउरामा रमाउनेहरु
‘खबुस’ र बेस्वाद खानामा बानी पर्दै होलान।

पोहोर जस्तै
यसपाली पनि बैकहरुले नयाँ नोट साटेको खबर आयो।
खुद्रा नोट साटन, नयाँ नोट साटन
ठूलो अनि पूरानो नोट कतै बाँडेको सुनिएन।
सिंहदरबार र बालुवाटारले बाँडने
दशैंखर्चको हिसाब आउनै बाँकी छ।

पोहोर जस्तै
यसपाली नि दशैंमा दशैं मान्न नसक्नेहरु
अनि बर्षैभरी साँझबिहान दशैं मनाउनेहरु
एकै ठाँउमा बसेर, संगसंगै नाचेर
दशैं मनाउने गरी दशैं आएन ।

***

प्रतिक्रिया

सम्बन्धित खवर