
✍️ मुना आत्रेय
गजल – एक
जान्ने बुझ्नेले भन्छन् जसो गरे पनि हुन्छ
आफ्नो आफ्नो चलन जसो गरे पनि हुन्छ
खुट्टा तान्ने कोशिश गर्यौ म जिउँदैछु पर्ख
ओढाए पछि कफन जस्तो गरे पनि हुन्छ
देश लुट्नेलाई फूलको माला लगाइन्छ यहाँ
तिमी भन्छौँ हेर परिवर्तन जसो गरे पनि हुन्छ
आउ सरकार फेरि एउटा उपकार गर
मैले थापेकोछु गर्धन जसो गरे पनि हुन्छ
दुनियाँ जलेर के फरक पर्छ हाम्रो मायामा
म मुना तिमी मदन जसो गरे पनि हुन्छ
गजल – दुई
मान्छेले भगवान मानेका ढुङ्गा पनि हुन
यो मन बेस्सरी दुखाउने आफ्ना पनि हुन
मनका कुरा गरेर मन रुन्छ भन्यौ प्यारा
तिम्रो पीरले रुने मेरा यि आँखा पनि हुन
चाहेर पनि देख्न भेट्न पाइदैन आखिर
गए पछि नफर्किएका बाआमा पनि हुन
बडो खास हुँदोरैछ साथमा नभए पछि
यि अभावहरुको ओखति पैसा पनि हुन
लडाउन नखोज भरोसा छ मेरो खुट्टामा
आफ्नो पखेटामा भरोसा गर्ने चरा पनि हुन
प्रतिक्रिया
-
४