✍️ बिन्दा लामा ‘तृष्णा’

 

मुक्तक – एक

आज फेरि एउटा जहाँज उड्यो भरिएर
मनको आँखा तलाउमा डुब्यो भरिएर
देशले छोरा खोजिरह्यो घरले तिम्रै बोली
बा–आमाको अन्तिम प्राण छुट्यो भरिएर

मुक्तक – दुई

नदी सुकेझैँ मनमा बगर आएर बस्छ
मुटु राखेको ठाउँमै पत्थर आएर बस्छ
छाम्न आउनेले दिलमै छुरा रोपेर गयो
हेरौँ फेरि क–कसको नजर आएर बस्छ

मुक्तक – तीन

मेरो निर्दोष आँखा बाट ताल बगिराख्छ
आधिउधि जिन्दगीको छाल बगिराख्छ
चिच्याइरहे जस्तो लाग्छ मौनताले पनि
परेलीको किनार बाट सवाल बगिराख्छ

मुक्तक – चार

परदेशीले नपठाउँदा खबर परबाट
सम्बन्धको हाँगो भाच्छ धनको चक्करबाट
नजन्मिदै शिशुहरू काल बोकेर आउँछन्
हराउँछन सुत्केरीमा आफ्नै घरबाट

मुक्तक – पाँच

फूलले फुल्न छाड्दैनन झारहरूमा पनि
इज्जत धान्ने विवेक छ इजारहरूमा पनि
भाग्य आफ्नै निधारमा छ कर्म आफ्नै हातमा
मुस्कुराउने गर्छिन् ‘तृष्णा’हारहरूमा पनि

 

प्रतिक्रिया

सम्बन्धित खवर