✍️ दीप मिलन

 

गजल – एक

बेला हरायो बाटो लिएर
जाऊँ कहाँ मन रित्तो लिएर

चासो र चिन्ता बढ्दोछ हरपल,
बस्दैछ दुनियाँ पासो लिएर

विज्ञप्ति आयो बन्दुकहरूको
आए परेवा आगो लिएर

चिम्लेर आँखा हेर्दै थिएँ म,
आयो जमाना कात्रो लिएर

मनको महल यो छाउँछु म मनले,
जाओ हुरी हो छानो लिएर

गजल – दुई

निशाचर बासमा जाऊ बिहानी भैसकेको छ
उज्यालो रातका लागि सिरानी भैसकेको छ

कहाँ रोकिन्छ पैताला सडकमा आगो देख्दैमा,
धुवाँको मार्ग टेकी हिँड्ने बानी भैसकेको छ

तिमी गाजल लगाएर नजरको तीर मार्दैछौ,
कसैको मन यसैले बेइमानी भैसकेको छ

गरूँ स्वागत म काँडाको हृदय मखमल बनाएर,
कुसुम जस्तो स्वयं यो जिन्दगानी भैसकेको छ

निभाऊँ दीपलाई भन्ने इच्छा त्याग आँधीले,
ममाथि तेलको जीवन लगानी भैसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर