✍️ गोल्डेन उद्भास

 

गजल – एक

पानीमा ढुङ्गा घोल्न भनेर कविहरु जन्मेका हुन
नबोलिएका भाषा बोल्न भनेर कविहरु जन्मेका हुन

दुनियाँका सारा कुरालाई पोल्ने त्यो आगोले हो
त्यो आगोलाई पोल्न भनेर कविहरु जन्मेका हुन

रातलाई सधैँ रातमै राख्न मध्यरातले बुनेको
योजना बिथोल्न भनेर कविहरु जन्मेका हुन

कसैले कहिल्यै जित्न नसकेको ढौडको मैदानमा
काललाई छिचोल्न भनेर कविहरु जन्मेका हुन

कुखुराको भाले र चराहरुको चिर विरले खोल्न नसकेपछि
घामको दैलो खोल्न भनेर कविहरु जन्मका हुन्

गजल – दुई

ठुलै कुरा हो मेरा पनि नजरमा ऐना
तिमीले पनि त राखेका छौ घरमा ऐना

म हेर्छु, तिमी हेर्छौ, सबै हेर्छन तर
को हेर्छ गहिरिएर यो शहरमा ऐना ?

दिनमा म हेर्छु यी तिम्रा दुई नयनमा
रातमा जुनले हेर्छ सरोबरमा ऐना

टुक्रा टुक्रा भए पनि धर्म बिर्सिदैन
फुटाएर हेर तिमी पत्थरमा ऐना

अनुहारमा दाग लाग्छ, हेर्न काम लाग्छ
बोकि हिड्नु जिन्दगीको सफरमा ऐना

प्रतिक्रिया

सम्बन्धित खवर