
– दिक्षान्त अग्निभोर
शन्ध्या समय । १९ जुन २०२२ ।
अचानक गहिरो निद्राबाट ब्युझे जस्तै लाग्यो । त्यतिखेर म भ्रम र यथार्थ बिचको सिमारेखामा उभिएको हुनुपर्छ । मनभित्र उब्जेको थियो एउटा प्रश्नकि अहिले म कहाँ छु, जवाफको खोजीमा म अलमलिरहेको थिएँ । मुस्किलले जवाफ पाएँ, आफैंसँगको बर्षौं लामो दूरीपछि आज म आफ्नोघरको आँगनछेउमा प्रकट भएको रहेछु । आफूसँगको दूरी मेटिनु र आफ्नै जन्मथलोमा शशरिर उपस्थित हुनु एकैचोटी भएको छ । घर प्रागऐतिहाँसिक संग्रहालय जस्तो भग्न छ । एक प्राचीन खण्डहरमा परिणत भएको ।
खण्डहरको पटाङ्गिनीमा उभिएर वरपरको मौजुदा दृष्यमा नजर पुर्याएँ । घरको आँगन भन्दा केही दूरी परबाट घना जंगल सुरु हुन्थ्यो, जुन अहिले मरुभूमिमा परिणत भएको छ । जंगलको नाउँमा केही रुखका ठुट्टाहरु छन्, बालुवामा ढलिरहेका । जंगलको उत्तर दिशाबाट एउटा नदि बग्थ्यो, त्यो अहिले छैन । कतै-कतै खाल्डोमा पानी जमेको भेटिन्छ । त्यसले कुनै बेला नदि भएको संकेत दिन्छ । जंगललाई चिर्दै एउटा धर्सो जस्तो सानो बाटो घरको आँगन सम्म जोडिएको थियो । अहिले त्यो फराकिलो भएर तीन मिटर चौडा पिच रोड भएको छ । टाढा कतै स्यालको हुँइयाँ गुञ्जिरहेछ निरन्तर । “हुँव……….!” एउटा हुँचिल भर्खरै मेरो शिरमाथिबाट उड्यो । उसको आवाजले मेरा कानमा टेकेपछि मुस्किलले पहिचान गर्न सकेँ । बिचरा ! प्वाँख झरेर नचिनिने भएछ । केही बेर मेरा आँखाले उसैलाई पछ्याए ।त्यसले मलाई आकासबाट अँध्यारो खस्दै गरेको सूचना दिएको हुनुपर्छ । सन्ध्या समयमा पनि अचाक्ली गर्मी छ । मलाई यो वातावरण सँग एड्जस्ट हुन हमकष्ट परेको छ । उफ् ! कस्तो उम्स्याउने खालको उखरमाउलो गर्मी ।
अलिबेरमा म खण्डहरभन्दा पर पुगिसकेको थिएँ । अब मेरो अगाडि चर्चको झल्को दिने एउटा कफीगृह छ । त्यसले मलाई विमुग्ध पार्यो । म त्यतै तिर लम्किन्छु । कफीगृहको ढोका खुल्लै छ, जुन अस्वभाविक ढंगले ठूलो छ । एकैचोटी बाह्र-पन्द्र जना मान्छे भित्र छिर्न र बाहिर निस्कन सक्थे । ढोकाको उपरी भेगमा श्वर्ण अक्षरमा लेखिएको छ, “डेथ कफी हाउस ।” भित्र चियाउँछु । कोठाभरी प्रशस्त टेबुल र कुर्सी छन् । प्रत्येक टेबुल वरिपरि चार वटा कुर्सी झुम्मेका छन् । सिलिङमा पङ्खा नाचिरहेछ, फनफनी । अगाडि मञ्च छ । मञ्चको बायाँ कर्नरतिर एउटा दराज छ । मञ्चको ठीक बिच भागमा बिशेष प्रकारको कुर्सी छ । र, कुर्सीको अगाडि छ चारकुने बाकस जस्तो टेबुल । मन्च सँगै जोडिएको छ अर्को कोठा । सायद कफी तयार हुन्छ त्यहाँ । थरी-थरीका कफी सजाइएको होला, कफी सामाग्रीहरु हुनन् ।
मान्छे कोही छैन । वातावरण शून्य छ, मानौं चारै दिशातिर एउटा आदिम मौनता पछारिएको होस् । नितान्त एक्लो महसुस गर्छु । एक्लोपनको महानिशाले घप्लक्क छोप्छ । कोठाभित्र पस्छु । सबै नियालीसकेपछि मञ्चतिर उक्लिन्छु । मञ्चमा रहेको आरामदायी कुर्सीमा आफ्नो ज्यानथुपार्छु । टेबुलको उपर चार ओटा किताब फिजाइएको छ । दायाँबाट क्रमशः बेद, बाइबल, कुरान र त्रिपिटक । तीँ ठूल्ठूला ग्रन्थहरुको बोक्रामा मेरा जोरआँखा खस्छन्, क्षणभरलाई त्यहीँ स्थगित हुन्छन् । पाँच मिनेट आयु मैले त्यहीँ समाप्त पारेँ ।
किताबबाट नजर उठाएँ । टाउकोलाई झ्यालतिर मोडेँ । प्राङ्गणमा एउटा चिम्से युवकको दृष्टि लाभ भयो । एकैछिन अदृष्य भएपछि पुनः ऊ मूल ढोकामा देखा पर्यो । उसले लापरबाही तरिकाले मतर्फ एकसरो काँचो दृष्टिफ्याँक्यो । र, नदेखेझैं गरी फेरि प्राङ्गणतर्फ फर्क्यो । म उसको पछि-पछिकुद्छु । म को हुँ ? कहाँ छु ? यो सब के भइरहेको छ ? फेरि आफू भ्रममा बाँचेको प्रतीत हुन्छ ।
“हेल्लो ! नवयुवक । ” सोध्छु, “म के त्यही ठाउँमा छु ?” । ऊ अन्यमनस्क भावले मलाई क्वारक्वार्ती हेर्छ मात्र ।
“तपाईले सुन्नु भएन मैले के भनेँ ?” स्वर उचो पारेर पुनः सोध्छु ।
“……….”, ऊ असमञ्जसमा पर्यो क्यार ! उसको मुखबाट एउटै शब्द झरेन ।
मैले फेरि सोध्नुपर्यो, “के यो त्यही ठाउँ हो जहाँ मेरो जन्म भएको थियो ? मेरो जन्मभूमी ?”
“तपाई को हो ? मैले त चिनिन नि !”, उसले प्रतिप्रश्न गर्यो ।
मैले भन्नुपर्यो, “म लियाना ।”
मेरो नाम सुनेर उसको अनुहारमा जुन परिवर्तन आयो त्यो मैले यहाँ ब्याख्या गर्न सकिन । उसको अनुहारको भाव ब्यख्यातीत थियो । यति भन्न सकेँ – ऊ आश्चर्यचकित भयो र हर्षले गदगद पनि ।
“लियाना ! तपाई लियाना ?”
“ज्यू, म लियाना हुँ ।”
उसले मलाई गम्लङ्ग अंगालो मार्यो । अनि तपाईको लागि एउटा चिठी छ भन्दै कफीगृहतर्फ लाग्यो । म चाहिँ छायाँ बनेर उसको पछिपछि डोरिएँ । कफीगृहको साविकको कोठाभित्र छिरेपछि उसले चार वटा लाहा छाप हानेको चिठी ल्याएर मेरो हातमा थमाइदियो । चिठी उसले मञ्चको दायाँ कर्नरको दराजबाट झिकेको थियो । अब म चिठी पढ्दो भएँ ।
प्रिय हृदय !
धेरै मायाँ ! अनि मिठो सम्झना ! अब त म बूढो भइसकेको छु । तिमीले पनिबुबाकै पाइला पछ्यायौ । भनौं, पछ्याउन बाध्य भयौ । तिम्रो प्रतीक्षामा मैले आधा जुनी एक्लै बिताएँ । तिमी यस धर्तीबाट गायब भएको दिनबारे मुनी चर्चा गर्नेछुः
२७ जुन १९७२ ।
हो, आजकै दिन बिहानको भुकभुकेकै तिमी आफ्नो अन्तरिम निवासबाटगायब भएकी थियौ । जिन्दगीको हाजिरी पुस्तिकामा गयल भएकी थियौ । अचानक तिमी गायब भएको खबर पाएपछि धेरै ठाउँ खोजेँ तिमीलाई । तर अहँ, कतै भेटिएनौ । मैले बुझेँ, तिमी अस्तित्वबाट गायब भयौ । हरायौ । त्यसपछि तिमी बिनाका दिनहरु-छिनहरु मैले एक्लै बिताउनुपर्यो । हरघडि-हरपल तिम्रो आगमनको प्रतीक्षामा । शुरु भयो एक अनन्त पर्खाइको सिलसिला । अहिले सम्झिँदा पनि अचम्म लाग्छ । कसरी मैले आफ्नो प्रेमिकाको प्रतीक्षामा पचास बर्ष बिताएँ ! भ्रम नै सही । तिम्रो आगमनको भ्रम । कहिलेकाहीँ भ्रमले मान्छेलाई बाँच्ने प्रेरणा दिन्छ । अनि मान्छे बाँच्ने अनेक उपायहरुको खोजी गरी बस्छ । त्यस्तो नहुँदो हो त म उहिल्यै मरिसकेको हुने थिइन र !
तिमी गायब भएको तीन बर्ष पछि तिम्रो बुबा एक्कासी प्रकट हुनुभएको थियो । सामन्य जीवनको लयमा फर्किनुभएको थियो । बुबासँग जम्मा दुई पटक भेट भयो । एक बर्षको अन्तरालपछि बुबा फेरि गायब हुनुभयो । बुबाले भन्नुभएको थियो – लियाना पनि एक दिन अवश्य फर्किनेछे । म त्यही दिनको प्रतीक्षामा थिएँ । आधा जुनी बितिसक्दा पनि तिमी आइनौ । यो शिरिरबाट सास छुट्नुअघि मेरो एउटै इच्छा छ- तिमीसँग एकै पल भएपनि भेट होस् !
प्रिय हृदय ! मैले तिम्रो सम्झनामा एउटा कफी घर बनाएको छु । जहाँ हामी प्रत्येक शनिवार कफी पिउँदै मृत्युका वारेमा गफ गर्छौं । तिमी कुनै दिन फर्कियौ भने अवश्य पनि खुसि हुनेछौ । तिम्रो सपना पूरा भएको महसुस गर्नेछौ । तिमीले कुनै बेला भनेकी थियौ- एउटा डेथ क्याफे खोल्ने मन छ,जहाँ कफी पिउँदै मृत्युका बारेमा कुरा गरौं ता कि हामीलाई मृत्यु बोध होस् ! अलिकती भएपनि हामीभित्रको जीवित अहंकार नष्ट होस् । तिमी फर्केर आउँदा सायद म यहाँ हुने छैन । म यस धर्तीमा नभए पनि अस्तित्वको कुनै अज्ञात कुनाबाट यो सब दृष्य देखिरहेको हुनेछु । म जीवितै पनि त हुन सक्छु । समयको लिला कसलाई के थाहा ! खैर, म जहाँसुकै भएपनि तिम्रो सपनालाई बचाइ राख्नू । मेरो अनुपश्थितिमा पनि उत्सव मनाउनू । अहिलेलाई छुटेँ ।
उहि तिम्रो रोहान ।
चिठी पढिसकेपछि मलाई ज्ञात भयो । म अन्तरध्यान भएदेखि यो पृथ्वीले पचास चोटी फन्को मारिसकेछ । अब मलाई खुलदुली हुन्छ – के रोहान अझैँ ज्युँदै छ ? प्रार्थना गर्छु रोहान जीवितै होस्, कसैगरी । म उसलाई चाँडै भेट्नेछु । हामी फेरि सँगै हुनेछौं । ऊ कति खुसी हुन्छ होला ! कल्पदै थिएँ । आकाशले गड्याङगुडुङ आवाज दियो, तन्द्रा भंग भयो । पर्दालाई सारेँ । बाहिर हेरेँ । अलिबेर अगाडिको रित्तो आकाश अहिले कालो बादलले छोपिएको थियो । अन्धकार सघन हुँदै थियो । बिजुलीका चम्किला धर्साहरुले आकाश डाम्ने कोसिस गरिरहेको देखिन्थ्यो, प्रतिपल । र, सुनिन्थ्यो उहि गड्याङगुडुङ । “म्याडम, पानी पर्ला जस्तो छ । निस्किने हो कि अब ?” त्यो युवकको उपस्थिति नै मैले बिर्सेछु । ऊ बोलेपछि झस्केँ ।
मेरो बुबा एक अनौठो रोगले ग्रसित हुनुहुन्थ्यो । बुबाको उपचारको लागि धेरै कोसिस गर्यौं । प्रख्यात डाक्टरकोमा देखायौं । आखिर कोसिस खेर गयो । गाउँमा धेरैले त यो रोगको उपचार डाक्टरले होइन, धामीझाँक्रीले गर्छ भनेर सुझाए । भने- देउताको खेल हो । हामीले पत्याइदियौं । अन्ततः हामीले धामीझाँक्रीको साहारा लिनुपर्यो । देउताको शरण पर्नुपर्यो । देउता प्रति सम्पूर्णतः विश्वस्त हुन नसके पनि हामी राजी थियौं, देउताले भनेका कुरा गर्न । तर देउताले पनि कहाँ बाटो देखाए र ! कुनै उपाए सुझाएनन् । बरु भने, “जब कष्ण घरबाट गायब हुन्छ त्यतिखेर देउताको भइसकेको हुन्छ । देउताले उसलाई आफ्नो राज्यमा लिएर जान्छन् । शुद्ब आहार-ब्यहार गर्नू । केही खति हुँदैन ।”
त्यसपछि हामी ढुक्क भयौं । बुबा घरबाट गायब हुँदा देउताको राज्यमा जानुहुन्छ । सायद देउता जस्तै निराकार हुनुहुन्छ । हामीले त्यही बुझ्यौं । समस्या त त्यतिखेर भइदियो जब बुबाको गायब हुने समय झन्-झन् तन्किँदै जान थाल्यो ।
सुरु-सुरु बेलामा बुबा घरबाट एक दिन मात्र गाएब हुनुहुन्थ्यो । एक दिनबाट क्रमशः २, ३, ४, ५, ६, सात दिन गायब हुन थाल्नुभयो । गायब हुने समय बढ्दो क्रममा थियो ।
बुबा कुनै पनि बखत घरबाट गायब हुन सक्नुहुन्थ्यो । घरबाट सिधा अगाडि दुई मिनेट हिडेपछि एउटा बकैनाको रुख आउँथ्यो । त्यसपछि दुइटा बाटो छुट्टिन्थे । एउटा बायाँ तिर मोडिएको जंगल जाने बाटो, अर्को चाहिँ सिधा सहरसँग जोडिएको । बुबाले बायाँ तिर मोडिएको बाटो समाउनुहुन्थ्यो । थोरै हिँडेपछि जंगल सुरु हुन्थ्यो । जंगल घना थियो । बुबा त्यहि जंगलमा हराउनुहुन्थ्यो । भनूँ, हाम्रो भू-लोकबाट गायब हुनुहुन्थ्यो ।
धेरै चोटी हामीले बुबाको पिछा गर्यौँ । तर बुबा जंगलमा गायब भएको हामीले मेसै पायनौँ । सँगै हिड्न खोज्दा बुबाका पाइला रोकिन्थे । त्यस्तै दुई सय मिटरको दुरीमा हिँड्नुपर्थ्यो । जंगलमा पसेपछि कतिखेर हाम्रो आँखाबाट ओझेल पर्नुहुन्थ्यो थाहै हुन्थेन । गाउँलेहरु सबैले बुबा जाने ठाउँ पत्ता लगाउन खोजे । परन्तु कसैले सकेनन् ।
निश्चित समयपछि बुबा फेरि घरको आगनमा टुप्लुक्क देखा पर्नुहुन्थ्यो । बुबा भन्नुहुन्थ्यो, “कसैले मलाई जाउँ भनेको सँकेत पाउँछु । त्यसपछि म कहाँ जान्छु, के गर्छु मलाई केही थाहा हुँदैन । गहिरो निद्राबाट ब्युझेजस्तै लाग्छ घर फर्कदा । बाँकी स्मृतिमा केही हुँदैन ।”
पछिल्लो पटक बुबा दुई बर्ष सम्म गायब भएको मलाई सम्झना छ । अब बुबाको घरमा बस्ने भन्दा देउताको राज्यमा बस्ने समय लम्बिदै गएको थियो । दुई बर्ष बुबा देउताको राज्यमा हराउनुहुन्थ्यो भने एक बर्ष घरमा । बुबाआफ्नो उमेर भन्दा ज्यादै कम देखिनुहुन्थ्यो । पचास नाघिसक्दा पनि तीस बर्षको जस्तो जवान देखिनुहुन्थ्यो । हामीले अनुमान लगायौं, देउताकोराज्यमा हुँदाको समय बुबाको आयुमा जोडिदैन । यसले एउटा फाइदा पुर्याएको थियो । बुबा धेरै कालसम्म बाँच्नुहुन्छ । तर बुबाले यस लोकमा बाँच्ने/भोग्ने समय भनेको आफ्नै आयु मात्र हो । किनभने देउताको राज्यमा बस्दाको समयमा बुबा होसमा हुनुहुन्नथ्यो । अस्तित्व बाटै मेटिनुहुन्थ्यो भौतिक रुपमा र चेतनाको स्तरबाट पनि । अस्तित्वबाट बिलाएर फेरि कसरी पहिलेकै लयमा फर्किनुहुन्थ्यो, दैब जानून् ! यो बिषय अहिले सम्म पनि रहस्यमै छ । कतिखेर म पनि यही रोगको सिकार भएछु पत्तै भएन ।
“हुन्छ । लागौं त ।”, स्विकृतिको भावमा उच्चरित भएँ । युवकले अगाडि टेबुलमा कफी ल्याइदेको रहेछ । ओइलाइसकेको चिसो कफी एकै झमटमा घुट्क्याएँ । घटघट । त्यसपछि कफीगृहबाट हामी बाहिरियौं । बाहिर बेन्टले फ्लाइङ स्परले हामीलाई पर्खिरहेको थियो । उसले मलाई त्यही गाडीमा बसायो । केही बेरपछि जंगल पार गर्दै गाडी मूल सडकमा निस्क्यो । उसले मलाई कता लैजाँदै थियो । थाहा थिएन । मैले यति मात्र बुझेँ, रोहान ज्युँदै छ र उसले मलाई रोहान सँग भेट गराउन लैजाँदै छ । बाटोमा उसले रोहानको आयु बाह्र घण्टा मात्र बाँकी रहेको कुरा सुनायो । थप्यो, “हामीले बूढोको लागि चिहान पनि खनिसकेका छौं । बूढोलाई मनपर्ने ठाउँमा ।” उसले रोहानलाई बूढो भनेर सम्बोधन गरेको मलाई फिटिक्कै मन परेन । शाब्दिक शिष्टतामा खडेरी परेको भन्को आयो । रोहानप्रति उसको किन्चित आदरभावदेखिएन । रोहानको जवानी नष्ट भएको खबर भर्खरै उसको चिठीमा पढेको थिएँ । तर ऊ जीवनको अन्तिम घडिमा होला, यो सोचिएन । सोचूँ पनि कसरी जबकि मेरो उमेर भर्खरै पच्चीस बर्षे स्वर्णिम जवानीमा स्थगित भएको थियो ।
त्यसपछि हामी धेरैबेर मौन रह्यौं । बोल्नु भनेको समय/शक्ति नस्ट गर्नु हो ।मलाई ब्यर्थैमा बकबक गर्न उस्तो रुचीकर लाग्दैन । फेरि बाहिरी दुनियाँ पनि त हेर्नु थियो । लगभग आधी घण्टापछि एउटा ठूलो पर्खालले घेरिएकोघरअगाडि गाडि रोकियो । त्यतिन्जेल आकासबाट मनसुन खस्नथालिसकेको थियो । युवकले कल बेलको स्विच थिच्यो । केही छिनमा ढोका खुल्यो । हाम्रो अगाडि थिइ निलो सारीमा सजिएकी एउटी युवती, जो सलाईको काँटी जस्तै दुब्ली थिइ । उसले हामीलाई भित्र आउन इसारा गरी । हामी दोस्रो तलामा उक्लियौं । त्यहाँ एउटा पिरामिड आकारको कोठा थियो । हामी कोठाभित्र छिर्यौं । कोठा केही उट्पट्याङ शैलीको थियो । कोठाको विच भागमा अवस्थित बेडमा एउटा कपाल सेतै फूलेको बूढो बिलकुल अपरिचित अन्दाजमा लम्पसार पल्टेको थियो । उसको शरिरमा एउटा मात्रबस्त्र अल्झेको थियो- कट्टु । बूढाको शरिरको तल्लो भाग प्यारालाइसिस रोगले ग्रस्त थियो । माथिल्लो भाग पनि मुस्किलले चल्थ्यो । हातहरु काँप्थे । बोल्न सक्दैनथ्यो । खाना पनि अर्कैले खुवाइदिनुपर्थ्यो । एक हिसावले ऊ परजीवी जस्तै भइसकेको थियो ।
म बूढो छेवै बसेँ । बूढो त निकै भावुक पो भइगयो । मेरो काखमा घोप्टिएर सुक्कसुक्क रुन थाल्यो । सायद ऊ खुशीले रोयो । प्यारालाइसिस रोगले ग्रस्त मृत्युको सम्मुख उभिएको बूढोलाई आफ्नो प्रेमी स्वीकार्न मुस्किल पर्योमलाई । कहाँ मेरो प्रेमीको प्रशान्त अनुहार कहाँ त्यो बूढाको त्वचा चाउरीएर मुजामुजा-धुजाधुजा परेको टिठलाग्गो बासी अनुहार । तुलना गर्नै नमिल्ने । शरिर सुकेर हड्डी मात्र बाँकी थिए । एक कंकाल शरिर । कुनै पनि रुप वा शैलिमा ऊ मेरो प्रेमी जस्तो थिएन । प्रेम भन्दा ज्यदा करुणा पलाएर आयो, बूढोप्रति । मनभरीको करुणा पोखेँ । आँसुमा । मसँग बोल्नको लागि शब्द थिएनन् । हामी निकैबेर अँगालोमा बाँधियौं । दुबै जना भावातिरेकमा पग्लियौं । र भावनाको भवसागरमा खस्यौं । डुब्यौं । अघि मभित्र जुन उत्साहसञ्चार भइरहेको थियो, त्यो उत्साह क्षणभरमै कपुरझैं बिलायो । मेरो अनुहार औँसीको कालो रातमा विवर्ण भयो । लाग्यो, “जीवन सोचेको भन्दा धेरै टाढा/पर छ ! छैन कि ?”
भोलिपल्ट आफ्नो देहलाई ओछ्यानमा बिसाएर बूढो हिँडिसकेको थियो । बाहिरी अस्तित्वबाट सफाचट भइसकेको थियो । हामीले उसको मृत देहलाई उसैले खन्न लगाएको चिहानमा पुर्यायौं । जसै बूढाको मृत शरिर चिहानमा राख्यौं अचानक उसको निधारमा आकाशबाट एक बुँद अन्धकार तप्प चुहियो । अर्को बुँद तप्प उसको ओठमा चुहियो । त्यसपछि तप्प घाँटीमा । तप्प छातिमा । एबम् रितले तप्प तप्प तप्प । हजार तप्प । लाख तप्प । अनगिन्ती/अगणित तप्प । अपरिमित तप्प । असीमित तप्प । कति तप्प तप्प ! शायद अन्धकारको अनन्त बुँदको तप्प-तप्पलाई अभिव्यक्त गर्ने यो उचित तरिका भएन । अर्को कुनै तरिका मैले रोज्नुपर्थ्यो/खोज्नुपर्थ्यो । किन्तु त्यस्तो कुनै तरिका भेटिएन या भनौं मबाट यो सम्भव भएन । बूढाको सम्पूर्ण शरिर अन्धकारको बुँदले लछुप्पै भिजायो । त्यसपछि ऊ अदृश्य भइगयो ।दुब्ली युवती र चिम्से युवकलाई पनि अन्धकारको घना बर्षाले भिजायो । हेर्दाहेर्दै उनीहरु पनि अदृश्य भइगए । अन्धकारबाट जोगिन म पछाडि नफर्कीकन फटाफट घरतिर हान्निएँ । यतिन्जेलमा अन्धकारको बर्षा चारैदिशातिर फैलिसकेको थियो । म त्यही पिरामिड आकारको कोठाभित्र पसेँ जहाँ अझै एक ढिक्का अखण्ड उज्यालो बाँकी थियो ।
त्यसपछि-
मेरो पेटमा एउटा माउसुली जस्तो कुन्नी के जाती जीव चलमलाउन थाल्यो, अकारण । मेरो स्वास्थ्य अवस्था पनि बिग्रदै गइरहेको थियो । टाउको दुख्ने, वाकवाकी लाग्ने, आफ्नै शरिर भारी हुने आदि-इत्यादि । केही दिनपछि मैले आफ्नो पाठ्यघरमा एउटा भ्रुण अंकुरण हुँदै गरेको चाल पाएँ । अब मैले एउटा नयाँ सभ्यताको जन्म दिनु थियो । म त्यही दिनको ब्यग्र प्रतीक्षामा थिएँ ।
प्रात समय । ९ अप्रिल २०२३ ।
भर्खरै एउटा बच्चाको असमायिक/माफ गर्नुहोला- सामयिक जन्म भएको छ । वरपर अरु कोही छैन । बाँकी एक ढिक्का उज्यालो पनि पग्लिँदैछ । बेडमा भर्खरै जन्मेको बच्चालाई पाउँछु र पाउँछु स्वयम आफूलाई । वरिपरिबाट अन्धकारले अंगाल्दैछ । म अर्थात बच्चाकी आमा घरि बेडमा आरामले पल्टीरहेको बच्चा– जो नयाँ सभ्यता बोकेर मेरो पाठेघरबाट भर्खरै यस धर्तीमा बसाइ सरेको थियो- को मुहारमा आँखा पुर्याउँछु घरि यो बिकृत समाज तिर फर्किन्छु । के यो नयाँ सभ्यता बोकेको बच्चा पवित्र रहिरहला ? उफ्, एउटा नयाँ सभ्यतालाई सडेगलेको ढोँगी एबम् बिकृत समाज– जो स्वयम अन्धकारमा डुबेको छ- ले हुर्काउँदै छ । कस्तो डरलाग्दो ! कस्तो भयावह दृश्य !
म त्यो बच्चालाई परिवार, समाज, तथाकथित राष्ट्र र सडेगलेको बिकृतमानब सभ्यताबाट बचाउन सक्ने उपयुक्त सम्भावनाको खोजिमा थिएँ । मलाई बिश्वास थियो, बच्चालाई बचाउन सकियो भने उसले एक दिन घना अन्धकारमा डुबेको पृथ्वीलोकको उद्धार गर्नेछ । मैले एउटा उपाय झिकेँ । मध्यरातमा घरबाट झट्ट बाहिर निस्केँ । आकास हेरेँ । त्यहाँ जून एक्लै थिइ । मैले जूनसँग एक धर्सो उज्यालो मागेँ । मात्र एक धर्सो । एक धर्सो उज्यालो आशाको, दिब्य ज्ञानको, प्रेमको, करुणाको र साहसको । सिङ्गो धर्तीमा फैलिएको अन्धकारलाई चिर्न एक धर्सो उज्यालो काफी थियो । त्यो एक धर्सो उज्यालो ब्रमास्त्र हुन सक्थ्यो । मैले त्यसलाई बच्चाको शिरनजिकराखिदिएँ । त्यसपछि आफ्नो प्राइभेट लास भनौं, शरिरलाई बोकेर त्योघरबाट निस्किएँ र टाढा कतै गएर झ्याप्पै निभेँ । बिलुप्त भएँ । अस्तित्वको एक अज्ञात प्रदेशतिर भासिएँ ।
कालान्तरमा त्यो बच्चा नवजात अवस्थाबाट क्रमशः शैशावावस्था, बाल्यावस्था, किशोराव्था पार गर्दै जवान युवामा कायाकल्प भयो । युग हाँक्ने एक जवान युवक । एक बिहान त्यो युवक जघन्य अन्धकारले घेरिएका तीँ उदेकलाग्दा रातहरुबाट पृथ्वीलोकलाई मुक्त गराउन एक धर्सो उज्यालोबोकेर बिश्व भ्रमणमा निस्क्यो । जहाँ-जहाँ उज्यालोले पाइला टेक्थ्यो त्यहाँ उज्यालोको बिउ उम्रिन्थ्यो । युवक त्यसलाई कुल्चिएर अगाडि बढ्थ्यो । केही कालपछि उसले बिश्वभ्रमण गरिभ्यायो । उज्यालोको बिउपृथ्वीलोकभरि फैलियो । र, त्यसको मालिक भयो ऊ ।
क्लोज-अप
अस्तित्वको कुनै अनाम/अज्ञात प्रदेशबाट पृथ्वीलोकका एक-एक घटना-दृश्यहरु दृष्टिगोचर भइरहेका थिए । आँखैअगाडि । एक रात आफ्नो लाशलाई त्यतै थन्काएर म पृथ्वीलोकमा अवतरित भएँ, जंगलको मध्यभागतिर । जुनेली रात थियो । पुष्पबृक्षहरुले आफ्ना आङबाट राता, पहेँला, सेता र बैजनी रङका फूलहरु खसालिरहेका थिए, यत्रतत्र । चराचुरुङ्गीको खत्र्याकखुत्रुक बाहेक कहीँ कतैबाट कुनै आवाज आएको थिएन । जंगलको छेउबाट शान्त गतिमा निलो नदि बगिरहेको थियो । सिरसिरे हावाले पात स्पर्ष गर्दा आउने सँगितले वातावरणलाई थप मादकता प्रदान गरिरहेको थियो । मैले यो भन्न सक्नुपर्छ, त्यो अलौकिक वातावरणलाई भोग्ने निशाचार प्राणी केवल म मात्रै थिएँ । मेरो कल्पना भन्दा परको त्यो स्वर्गिय आनन्द मैले जतिसक्दो भोगेँ । र, त्यसपछि पुष्पगुच्छालाई कुल्चिँदै क्रमशः म मानब बस्तीतिर लम्किएँ ।
प्रतिक्रिया
-
४