✍️ दिक्षान्त अग्निभोर 

विगत केही काल यता आफ्नै खोपडीले मलाई सताइरहेको थियो । हत्तु-हैरान बनाइरहेको थियो । खोपडीभित्र मेरा बैध-अबैध सपनाहरुको जुलुस चर्किरहेको थियो । त्यो जुलुसले मेरो भविश्यको राजमार्ग नै जाम पारिदिएको थियो । मेरो भविश्य कता छ, कस्तो छ ! म स्वयम् अन्यौलमा थिएँ । मेरो भविश्यलाई जुलुसको त्यो भिडले छेकिदिएको थियो । जुलुसलाई साम्य पारेर म आफ्नो तामसिक खोपडीलाई शान्त तलाउ झै बनाउन चाहान्थेँ । र, हेर्न चाहान्थेँ तलाउमा आफ्नो सुन्दर भविश्यको प्रतिबिम्ब । असलमा म त्यीँ सारा सपनाहरुको जुलुसबाट मुक्त हुन चाहन्थेँ ।

धेरै प्रयासका बाबजुत पनि तीँ उट्पट्याङ शैलीका सपनाहरुको जुलुसलाई मैले साम्य पार्नै सकिन । केही जोर नचलेपछि एक दिन खोपडीमा मौजुदा सपनाहरुलाई बाहिर हुत्याउँदै भाग्न थालेँ म । बाहिर हुत्याइएका सपनाहरु फेरि खोपडीभित्र गाँसिन आइपुग्थे । तरै मैले आफ्नो कोसिस जारी राखेँ । आफ्नो बुताले भ्याय सम्म सपनाहरुलाई खोपडीबाट पन्छाउँदै दौडीरहेँ । कति दिन त भोकभोकै, अनिदै बेहिसाब दौडिएँ म ।

दौडिँदा–दौडिँदै एक दिन म समुद्रको किनारमा अवस्थित एउटा प्राचीन बस्तीमा आइपुगेँ । खोपडीबाट सपनाहरु बाहिर हुत्याउँदै प्राचीन बस्ती छिचोलेर बस्तीको अर्को छेउ सम्म पुगेँ । तर खोपडीमा सपनाहरु ज्यूँका त्यूँ थिए । प्राचीन बस्तीको पुछारमा एउटा आधुनिक घर खडा थियो, बस्ती भन्दा केही पर । त्यो घरले उक्त बस्तीलाई केही अस्वभाविक बनाएको थियो । सबै घरहरु प्राचीन शैलीका थिए । परन्तु त्यो मात्र एउटा अत्याधुनिक घर थियो । र थियो मानव विहिन । खोपडीबाट सपनाहरु निकाल्दै-फ्याँक्दै फ्याँक्दै-निकाल्दै आफ्नो क्लान्त शरिरलाई त्यही घरतिर घिसार्न थालेँ ।
कसैगरी पनि मैले तीँ सपनाहरुलाई आफूबाट अलग गराउन सकिन, एकाध सपना बाहेक । हो, एउटा कुरामा भने अवश्य परिवर्तन आएको थियो, त्यो घरमा पसेपछि । अहिले सपनाहरुको जुलुस अघिको भन्दा मत्थर भएको थियो । जुलुस मत्थर हुनुको कारण सपनाहरु सबै आफूलाई बाहिर निकाल्नबाट बचाउनपट्टी लागेकोले हुनुपर्छ ।

त्यो भिमकाय घरको सातौं तला उक्लेपछी एउटा अँध्यारो करिडोर पार गरी छेउतिरको कोठाभित्र पसेर मैले ढोका थुनिदिएँ । अनि थाकेको शरिरलाई भुँइबेडमा फालिदिएँ । निकै बेर म भुँइबेडमा भुसुक्कै निदाएछु । केही थान सपनाहरु बाहिरै छुटेका रहेछन् । भनूँ, छुटाउन सफल भएछु । तीँ सपनाहरुले ढोकामा दस्तक दिएपछि पो म ब्युझेँ । हतारमा मैले बत्ति नवालीकनै त्यो अँध्यारो करिडोर पार गरेको थिएँ । मैले बुझेँ– अँध्यारोमा सपनाहरु बिचलित हुन्छन्, कतै छुट्छन् । र मैले यो पनि बुझे– मानवविहिन घरमा सपनाहरु गल्छन्, टुट्छन् । कमजोर हुन्छन् ।

केही सपनालाई पन्छाउन सफल भएकोमा हल्का महसुस भयो । खोपडीमा सपनाहरुको जुलुस अगिको भन्दा धेरै कम भइसकेको थियो । शान्त हुँदै थियो तलाउ । देख्न खोज्दै थिएँ, आफ्नो सुन्दर भविश्यको प्रतिबिम्ब तलाउमा । धुमिल-धुमिल । कसैले ढुङ्गा फ्याँक्यो । तलाउ तरंगित भयो । फेरि सपनाहरुको जुलुस सुरु भयो । म आत्तिएँ । अब कहाँ भाग्ने ! बस्तीको अन्तिम घरको अन्तिम तलाको कोठामा थिएँ म । त्यो भन्दा उता घना जंगल थियो । जंगलतिर भाग्दा हिँस्रक जंगली जीव जन्तुको सिकार भइने डर हुन्थ्यो । त्यसै त म आफ्नै सपनाहरुले लखेटिएको थिएँ । यस्तो काँतर मनले कसरी मृत्युको मुखमा हाम फाल्ने ! कसरी जंगल पस्ने ! अन्ततः मैले एउटा कठोर निर्णय लिनुपर्‍यो । निर्णय यस्तो थियो – खोपडीमा आगो सल्काइदिने । र खोपडीभित्रका सम्पूर्ण सपनाहरुलाई नस्ट पार्ने ।

त्यसपछि मैले निर्णय बमोजिम आफ्नो खोपडीलाई झिकेर टेवुलमा राखेँ र  त्यसमा आगो सल्काइदिएँ । खोपडी सँगै खोपडीभित्र रहेका हजारौं -सायद लाखौं- सपनाहरु छट्पटीँदै जल्न थाले । सपनाहरुको अन्तिम चित्कार सुन्ने म बाहेक त्यहाँ वरपर अरु कोही थिएन । मैले साक्षी भावले आफ्नै सपनाहरु जलेको हेरिरहेँ, तिनीहरुको चित्कार सुनिरहेँ । मानौं तीँ सपना नभएर दिमागका कचेरा हुन् । जो जलाउन नितान्त आवश्यक थियो । जलाएँ ।

सबै सपना जलिसकेपछि टेबुलमा जम्मा भएको खरानी उठाएर एउटा कपडाको टालोमा पोको पारेँ । खरानी एक मुठी थियो । तर त्यसको ओजन जोख्ने हो भने लगभग पाँच के.जी. हुँदो हो । बल्ल मैले महसुस गरेँ । सपना जलाएको खरानी त यती धेरै गरुङ्गो हुन्छ भने मैले यतिका बर्ष कति गरुङ्गा सपनाहरु बोकेको रहेछु ।

अव मैले खरानीको पोको लिएर त्यो घरबाट जतिसक्दो चाँडो भाग्नुपर्ने थियो । कारण, मेरा हजारौं सपनाहरु -जसलाई मैले ज्युँदै जलाएको थिएँ- को मलामी म मात्र एक निर्धो प्राणी थिएँ । तीँ सपनाका प्रेतात्माहरुले मलाई जतिखेर पनि डस्न सक्थे । तिनीहरुले मलाई त्यहीँ सिध्याउन सक्थे ।
मैले अगि नै भनिसकेँ, केही सपनाहरु ढोका बाहिर छुटेका छन् । जो मलाई ढुकेर बसिरहेका होलान् । उनिहरुले मलाई फेरि पछ्याउन सक्थे । त्यसैले म झ्यालबाट हाम फाल्न विवश थिएँ । सातौं तलाबाट हाम फाल्न असम्भवप्रायः थियो । त्यसो गर्दा सपनाबाट बच्न मैले आफैंलाई नस्ट गर्नुपर्ने हुन्थ्यो । झ्यालमा डोरी अड्काएँ । अनि डोरी समाएर सातौं तलाको झ्यालबाट आफूलाई बाहिर हुत्याइदिएँ ।

अलि बेरपछि तपाईंले मलाई समुद्र किनारमा एक्लै कुदिरहेको देख्न सक्नुहुन्थ्यो । मलाई मेरा दिबंगत सपनाहरुको आत्मा नभड्किउन् भन्ने हेतुले खरानीको पोको समुद्रमा बगाइदिनु थियो । समूद्रले पठाएको चिसो हावाको स्पर्ष लिँदै म त्यतै तिर कुदेँ ।

प्रतिक्रिया

सम्बन्धित खवर