शिवप्रसाद काफ्ले

चारैतिरवाट समस्याले घेरेपछि
मनभरिका सपना पूरा गर्ने रहर रहर
रहरमै सिमित हुँदो रहेछ,

छोराछोरीको पढाइ
वुवा आमाको औषधी
श्रीमतीको सानो सपना
यहाँ बसेर पूरा गर्न गाह्रो हुदैछ,

कैले बन्द हड्तालले सतायो
कैले कोरोनाले सतायो
अहिले आर्थिक मन्दिले सताउदैछ

साथीभाइ इस्टमित्र सवै,
धन हुदा नजिक हुदा रहेछन,

त्यसैले,
सानो सपना पूरा गर्न
हेल्लो खाडी म आउदैछु

भन्नेले त खाडी भन्दै नाक खुम्चाउदा रहेछन,

तर मेरो सपना
मेरो सुन्दर भविष्य
मेरो परिवारको खुशी
आफन्तको निकटता
साथीभाइको सामिप्यता

छोरीको स्कुलको फि,
आमाको औषधी,
बाको जिम्मेवारी वाट मुक्त हुने सपना,
श्रीमतीको खुसी

खाडी
मैले तिमिमा नै देखेको छु

यहाँ
गर्नु पर्ने सबथोक गरिसकेँ
धाउनु पर्ने सवै ठाउँ धाइसकेँ
हात फैलाउनु पर्ने सवै ठाउँ फैलाइसकेँ,

तर,
समयले सवैलाइ चिन्ने मौका दियो,
को आफ्नो को पराइ छुट्टाइदियो,

भन्छन सोझो रुख
जङ्गलमा पहिले काटिन्छ
सायद सोझो हुनुको परिणाम होला,
आवश्यकतामा मात्र प्रयोग गर्दा रहेछन,

त्यसैले,
सानो खुशी पूरा गर्न
हेल्लो खाडी,
मनभरी सपना बुनेर आउदैँछु

***

प्रतिक्रिया

सम्बन्धित खवर