खिम पुन

गजल १,

सजिलै पाऊँ खोज्दा दागहरू
बढ्दै जाउन् दिलमा दागहरू

कैंयौ गल्ती गरियो जीवनमा !
अनगिन्ती छन् जसका दागहरू

लठ्ठ छु म जूनको सौन्दर्य अघि
कसले हेर्छ स-साना दागहरू

उनको चिनो रुमाल नधोइ राखेँ
मेटिन्छन् भनी बिचरा दागहरू

प्यार गरेकै कारण जो लागे !
लाग्छन् बेहद प्यारा दागहरू

केही त लुकाएको छु हृदयमा
दोषी होलान् अबला दागहरू

कति आँखाका ज्योति जाने हुन्
मसङ्ग छन् चम्किएका दागहरू !

गजल २,

बुढो रुखमा पुनः फल लटरम्म लाग्यो
अब खुद ढल्छ होला गर्लम्म लाग्यो !

के बन्दुक बेच्नेले यस्तो सोच्छ होला ?
“कसैको छातीमा सायद डम्म लाग्यो !”

नमर्दै मेट्यो हिटलरले ग्याँस च्याम्बर
असर मेटिन भने युग-युगसम्म लाग्यो !

निकै पछि हेरेँ ऐनामा आफुलाई !
लगाइदिऊँ अँगालो गर्लम्म लाग्यो ।

मलाई भेट्न आए कसका मृतात्मा ?
सोधे घर घाट भन्छन् अचम्म लाग्यो !

भएँ बर्बाद झन् भिज्ने चाहनाले !
मेरै जीवनमा बादल गजधम्म लाग्यो

रहर अधुरै, अभाव उस्तै, भोक उस्तै !
अनि मेरै ! भुँडी कसरी टम्म लाग्यो ?

उमेर कच्चा थियो तर सच्चा थियो प्यार
पुनः सम्झेँ नशा जस्तो झम्म लाग्यो !
०००

प्रतिक्रिया

सम्बन्धित खवर