उषा शेरचन

म हेरिरहेको छु एकटक, भर्खरै उ हिँडेको बाटो । अब त उसका पैतलाका चालसँगसँगै क्रमशः उसको आकृति पनि पातलिन थालेको छ ।
ऊ लुकामारी खेलिरहेझैँ टाढा…टाढा देखा पर्छ आक्कल झुक्कल । अझै म हेरिरहेको छु कहिलेकाहीँ देखिने उसको आकृतिलाई । उ देखा पर्छ । उ हराउँछ । पुनः उ देखा पर्छ । पुनः हराउँछ । हुन सक्छ, म बादल सहितको आकाश र आकाश सहितको बादलमा निर्निमेष हेरिरहेछु एक बस्तु । चन्द्रमा होईन, मात्र एक बस्तु ।
ऊ क्रमशः लोप हुँदैछ सधैँको लागि एउटा फन्दाबाट । मेरो मन व्याप्त हुँदैछ एकतमाशको पीडाले अथवा केले केले…….! हुनसक्छ मनको पीडा दिर्घनिश्वासमा पोखिदै छ । हो मसँग अबशेष बाँकि छ एउटा दिर्घनिश्वासको । यस्तो लाग्छ म सुन्दर रुख हुँ जो भित्रभित्र खोक्रो छ अथवा मुटु हराएको मान्छे हुँ ।
अब ऊ क्षितिज झर्न लागेको छ । म एउटा पातलो किरमिर रेखामात्र देख्दैछु उसको । उफ ! कति एक्लो अनुभव हुन थालेको छ अहिले नै । एउटा भयानक एकान्तले चिल्नमात्र बाँकि छ । डस्नमात्र बाँकि छ ।
नियन्त्रित हुन खोज्छु कि आँखाबाट सस्तो पानी नझरोस् । तर अविरल पानी झर्न थालेको छ आँखाबाट । भन्न सक्तिन म, यो सहानुभूतिको परिणाम हो वा अनुरागको !

***

रचनाकाल – २०३५ पौष

प्रतिक्रिया

सम्बन्धित खवर