मञ्जुल मितेरी

यसपालीको जनगणनामा
स्वात्तै घट्यो मानिसहरुको जनसंख्या
बढ्यो ह्वात्तै पत्थरहरुको आबादी

हरेक रात बसेर जाग्राम
ढुकिहन्छन् बाटोभरि पत्थरहरु
झिसमिसेमै घाम टिप्न हिंडेका पाईतालाहरुलाई
उप्काइदिन्छन् नङहरु
र अट्टहास गर्छन् रगतको अभिषेक लिएर

पत्थरहरु सल्बलाइरहेछन्
धानका बोटहरुमा
ॲापका बोटहरुमा
गुरॅासका बोटहरुमा
फल्ने, फुल्ने अभीष्ट दूरासय लिएर

चक्रव्यूहको कहालीलाग्दो भुमरी छेकेर
शीरमा भयानक पत्थरको धराप थापेर
एउटा बाटो बोकेर उभिएको छ अक्कर
छोपेर मृत्यूसम्म पुग्ने बाटोको साईनबोर्ड

आमने सामने छन् पत्थरहरु
लुकामारी खेलाउॅदै पिठ्यॅूमा बन्दुकहरु
लेखाएर छातीमा मान्छेहरुको जन्म-मृत्यू

पत्थरहरु सल्बाइरहेछन् चुलाहरुमा
मन्दिरहरुमा
देवीथानहरुमा
खण्ड-खण्डहर धरातलमाथि, धरातलमुनि

अर्ती उपदेशमा तल्लीन छन् बुढा पत्थरहरु
आफ्ना सन्तानहरुलाई आफूभन्दा कठोर बनाउन
उन्मत्त छन् किशोरकिशोरी पत्थरहरु
भविष्यभरी प्रजननको एकमात्र उद्धेश्य बोकेर
ध्यानमग्न छन् केटाकेटी पत्थरहरु
मान्छेहरुलाई पत्थर बनाउने मन्त्र जपेर


अजंगको एक गर्भिणी पत्थरलाई
मायादेवी ब्यूँताउन खोजिरहेछु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर