
– अमला अधिकारी
गजल – १
उफ! मरिने भो यो गर्मीको ज्यादती अति पुग्यो
बाबु ,टिभी हेर् हेर् मधेसको तापक्रम कति पुग्यो ?
कुनै हिउँदमा पुगेन मजदुरको तालुमा मफलर
हर साँझ बिहान पत्थरको टाउकोमा अारती पुग्यो
उही हो हिजो मेरा बाले पुज्ने शालिग्राम फुटाल्ने
मन्दिर भित्र पाप पखाल्न आज त्यही असती पुग्यो
मेरो दुर्गम गाउँको लास काँध चढेर घाटमा पुगेपछि
शहरको हेलिकप्टर चढेर गाउँमा ओखती पुग्यो
अठार पुगेपछि नागरिकता,राहदानी बनाउँछ
पर्खनुस् साहुजी मेरो छोरो एघार जति पुग्यो ।
गजल – २
देशको ममताप्रति कहाँ अन्जान भएर हिडेका हुन्?
देश छाड्नेहरु देशबाटै हैरान भएर हिडेका हुन्
हजुरलाई छोए छोएनन्,हजुरभित्र पसे पसेनन्?
एक हुल हावा मै अछुतको बगान भएर हिडेका हुन्
कुकरमा सिठ्ठी लाग्दा पनि तँ किन तर्सेको बाबु ?
दस वर्ष गोली ,बारुद यिनै कान भएर हिडेका हुन्
यो पुरै पाठ नघोक नानीहो ,केवल यत्ति कुरा बुझ
गौतम बुद्ध मान्छेबाटै भगवान भएर हिडेका हुन्
बाटो बनाउदै नहिडे कसरी सागर पुगे ?सोच त
खोल्सीहरु दुर पहाडको मुहान भएर हिडेका हुन्।
***
प्रतिक्रिया
-
४