✍️ रोहित राना
गजल – एक
फैसला सुनाइन्छ निश्चय हजुरकै पक्षमा
त्यसैले गर्दैछन् जयजय हजुरकै पक्षमा
दोष केवल मेरो नै देखायो यो समाजले
अन्ततः सुनायो निर्णय हजुरकै पक्षमा
जूनले साथ दिएन ताराले पनि दिएन
हुँदैछ पुनः सुर्यको उदय हजुरकै पक्षमा
न वर्तमान छ हजुर मेरो न भविष्य नै छ
रहेछ यो पापी समय हजुरकै पक्षमा
अचानक माहोल नै परिवर्तन गराउनु भो
भन्नुहोस् किन महासय हजुरकै पक्षमा ?
गजल – दुई
कसैले सुनेनन् मैले हार–गुहार गर्दा पनि
अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि
बलात्कारी त नेताको भतिजो रहेछ साथी
आज पनि मुक्त छ बलात्कार गर्दा पनि
टाई कोटमा सजिइ पजेरो चढेर हिंडेकैछ उ
वाुवा हेर उसैको छ कालो व्यापार गर्दा पनि
अकबरी सुनलाई कशी लगाउन नै पर्दैन नि
उसको सामानहरु बिकेन रे प्रचार गर्दा पनि
ओ ! मेरी प्रिया तिमी अप्सरा बन्न नखोज ल
अप्सरा तिमि हुँदिनौ जति शृङ्गार गर्दा पनि
प्रतिक्रिया
-
४