– बाबु त्रिपाठी

अघिल्लो पल्ट रोल्पाबाट फर्कँदा मेरो मन चैँ उतै अड्कियो । कमलादीको मोडमा फेरि जब रोल्पाको लागि गाडी चढेँ, अघिल्ला वर्षका स्मृतिहरू एकाएक सोहोरिएर आए । तर यसपटक म अक्षर महोत्सवका लागि होलेरी जाँदै थिएँ ।

दुःखी भएँ ।

मलाई सबभन्दा बढी माया गर्ने मेरी छोरीलाई छाडेर आएको छु । उसलाई खुब सम्झेँ । उसलाई ढाँटेर आएको छु र भनेको छु–छोरी, बाबा हलो गर्ने जाने, तीन दिनपछि आउँछु ल । हिँड्ने बेलामा देखिएको छोरीको अँध्यारो अनुहारले मलाई खुब पोलिरह्यो । आँखाको डीलबाट तरक्क के बगेर गयो मैले चालै पाइन । गाडी कलंकीचोक पुगिसेकेछ । एकछिन रोकियो ।

कवि रोशन पुनले भनेको सम्झेँ–स्मृतिहरू हावाजस्तै हलुंगा हुँदा रहेछन् ।

अघिल्लो पटक जाँदा लिवाङमा मैले पहिलो पटक टेम्पु देखेथेँ । एक्कासी मुखबाट निस्केएथ्यो–अरे वा, टेम्पु । सोचेँ, राजधानीमा बसेर राजधानीको आँखाबाट कहाँ देखिन्छ र रोल्पाको रङ ? रोल्पाको सौन्दर्य ।

१० औँ नम्बरको सिटमा बसेर म सोचिरहेछु–पख् रोल्पा त पुग्न दे– सबभन्दा पहिला भेट्छु त्यो टुँडिखेललाई । जहाँ थुप्रै नानीहरूलाई भेट्ेथेँ अघिल्लो चोटिको एक साँझ ।

यो युग हाँसेरमात्र जीवन कटाउन सक्ने पुरन क्षेत्रीलाई भन्नुछ–हामीले गएको वर्ष हाम्रा पैतालाका डोबहरु यतै छाडेर गएका थियौँ, ती डोबहरुलाई कस्तो छ ?

नविन लोचन मगरलाई भन्नु छ–लोचन जी, गुरुङ गाउँको होमस्टे चलिरहेछ नि ? बाटो खन्दै गएको थियो डोजर त्यो कहाँ पुग्यो ?

डि.बि टुहुरालाई सोध्नु छ– देशको कविता कति वटा लेख्नु भो ?

रोल्पा अब युद्ध चाँहदैन । रोल्पा अब किन प्रेम चाहन्छ ? यो कुरा कसलाई सोधूँ कसलाई सोधूँ भाछ–एक मनले त भन्छ दीप दपर्ण सोध् ।

व्योमजी अवतारले झोला बोक्न छाडे कि छाडेनन् ?

खेम गाउँलेले अहिलेसम्म कति हजार वटा फोटो खिचे होलान् ?

दामु मर्सीफूल फेरि भेटिने भैयो भनेर खुसी व्यक्त गर्दै हुनुहुन्थ्यो ।

भट्ट साहुजीलाई सोध्छु–साहुजी कस्तो चलिरहेछ व्यापार ?

भेटेर मगरनी आमालाई भन्छु–आमा सन्चै हुनुहुन्छ ? के छ रोल्पाको खबर ?
……………………..
चिया, चिया भनेको आवाजले बिउँझिएँ ।

बसको झ्यालबाट टाउको निकालेपछि साइनबोर्डतिर आँखा लगाएँ, जहाँ लेखिएको थियो–सातदोबाटो रोल्पा । बिहानको ६ बजिसकेको थियो ।

मान्छेको चहलपहल कम थियो बाटोमा । म पनि ओर्लिएँ । कसैलाई कालो चिया । कसैलाई सेतो चिया । चियाको पनि अनेक प्रहार । धमिलो चिया चैँ हुँदैन ?

नविन विभासले पारी पटीको पसल देखाउँदै विप्लब प्रतीकलाई भन्नु भो–दाजु यहाँ टिम्मुरको पाइन्छ । दुई सय रुपियाँ पर्छ क्यारे एक बोतलको ।

चिया पाक्दै हो साउनी ?

यहाँ टिम्मुरको कुरा आयो, के पाइन्छ टिम्मुरको ? विप्लब दाइको कान ठाडो भयो । केही कविहरू शौचालयको खोजीमा थिए ।

ऊ त्यो घरको पछाडि छ शौचालय–चिया पकाइरहनु भएकी दिदी बोल्नु भो । उनको आँखा भने चियाको कित्लिमा थियो । उसिनेको अन्डामा रमाइरहेका थिए रोशन पुन र प्रज्जवल अधिकारी ।

बिप्लब दाजु सरासर पारीपटी जानु भो र उसैगरी मिनरल वाटरेको भरि बोतल बोकेर आउनु र भन्नु भो–हाम्रो टिममा भएको एक जनाको हातमा यो बोतल पर्न नदिने हो भने यो बोतल लिवाङसम्म पुग्छ ? फर्केर काठमाडौँ पुग्न पनि बेर लाग्दैन । राज शाह खुब हाँस्यो ।

स्नेह सायमी दाजुको गफ सुरु भो । म चैँ चिया थप्छु है–दाजु बोल्नु भो ।

चिया पिउने काम सकियो । राबत बालिहाल्यो । हिँडेर जान पर्छ कि के हो ? मुखामुख भयो एकछिन ।

विप्लब प्रतीक दाजु बोल्नु भो, जाने र ? म बोलिनँ । प्रज्जवल बोले–जाऊँ ।

हामी ४ जना चैँ गाडीबाट ओर्लिहाल्यौँ । हामी अलि पर पुगेपछि रोशन पनि ओर्लिए । हामी घामसँग हिँड्न खोजिरहेको थियौँ । चालकले भन्नुभो– तपाइँहरूलाई हिँडेर लिवाङ पुग्न अझै साँढे २ घण्टा लाग्छ ।

एकै स्वरमा भन्यौँ–हुन्छ हामी हिँड्छौँ ।

कवि विप्लव प्रतिक बोल्नु भो–जिन्दगीमा सकेको सबै काम गर्न पर्छ है केटा हो । यतिखेर कवि भएर सोच्ने होइन । पर्यटक भएर सोच्ने हो । खिच्ने हो रोल्पाको सौन्दर्य । क्यामेराले खिचे पनि । आँखाले खिचे पनि । मनले खिचे पनि । फेरि यो मौका पाइँदैन । फेरि यो सुन्दरता कैद गर्न पाइँदैन ।

पहिला पहिला यो बाटोमा छापामारहरु हिँड्थे होला है ? कति भो होला यो बाटो बनेको ? अनि यस्तो पिच सडक त राजधानीमा पनि छैन ।

कवि प्रज्जवल बोलिहाले–विप्लवदाइ जिन्दगी भनेको पनि यही बाटो जस्तो हो र ? घरी पिच घरी कच्ची ? घरी उकालो । घरी ओरालो । कहिलेकाहीँ ऐठन हुन्छ दाइ । दाइको जवाफ आएन । मेरो बोल्ने पालो आएकै थिएन ।

गाडी लिवाङ पुग्यो भन्ने खबर तारन्तार दीप दर्पणको बजेको मोबाइलले दिइ रह्यो । दाजु गाडी पुगेछ लिवाङ । हामी पनि ९ बजे त पुग्छन् होला है ?

नपुगे पनि केही छैन । यो बाटो लिवाङ जान्छ, पक्का छ । अन्त जाँदैन । बाटोमा हराइँदैन क्यारे । कानको लोतीमा कसैले चिमोटे जस्तो भो । हँसिलो पाराले घामले हाम्रो थकित अनुहारलाई हेर्यो । बस्ने हो कि एकछिन ?

रोल्पा गुराँस साहित्य मेला भन्या हैन, खै त गुराँस ? कहीँ छैन त गुराँस, नानाथरिको रुख मात्रै छ त । कि यो रोल्पा हैन ? तर असाध्यै सुन्दर छ । पारिपटी निकैबेर हेर्दै राबत बोलिरह्यो ।

खै अस्तीको पाला होलेरी आउँदा त टन्नै थियो गुराँस । गुराँसको सिजन सकियो कि–म बोलेँ ।

दीप दर्पण फेरि फोनमा बोले–हिँड्दै हो र भन्या ?

एकछिन थकाइ मार्दैछौँ । चिसो खाँदैछौँ भन्दिनुस् न–राबत बोल्यो ।

कहाँ छ चिसो । तातो छ । दाइ पनि–प्रज्ववल बोल्यो । बिप्लब दाइ मनमनै हाँस्नु भो । उहाँको अनुहारले त्यो बताइरहेको थियो । टिम्मुरको पनि कति तातो ।

आधा बोतल पनि सिध्याउन सकिएन । हैन यो टिम्मुरको जिनिसत कडा रैछ ।

बाटोमा भेटिएको सानो पसलमा एकछिन थकाइ मार्न बस्यौँ । फु््रटी माग्यौँ । दुई अम्खोरा चिसो पानी दिनुस् त छोएन । रोशन बोल्यो ।

अम्खोरा त छैन ।

जे छ त्यसैमा दिनुस् ।

पिच रोडले मेरो जुत्तालाई केही गरेन । मेरो जुत्ता बलियो रहेछ भन्ने प्रमाणित भो । हिँड्ने बेलामा राबतले भनेथ्यो–बाबुको यो जुत्ता फर्किँदैन काठमाडौँ । उताबाट गाडीको जोड हर्न बज्यो ? कस्तो डरलाग्दो घुम्ती । रोशन हाँसेको आवाज हर्नले खाइ दियो । हिँड्ने बित्तिकै सैनिक क्याम्प ओझेलमा पर्यो ।

प्रज्ववल बोले–बिप्लब दाइ आउनुस् हेर्न, यहाँबाट हेर्दा ठ्याक्कै युवतीको गालामा बसेको डिम्पल जस्तो देखिन्छ लिवाङ बजार ।

क्या सुन्दर । यहाँ नआएको भए जीवनको एक पाटो छुट्ने रहेछ । रोशन बोल्यो ।

हो मा हो मिलाउँदै विप्लब दाजु बोल्नु भो–धन्यवाद रोल्पा ।

तीन घण्टा हिँडेर हामी लिवाङ बजार पुग्यौँ ।
……………………………..

होलेरी सम्झिएँ ।

बत्तीसपुतलीको क्याफेमा (दीप दर्पण र राज शाह र म ) थुप्रै पटक बसेर होलेरीको अक्षर महोत्सवको लागि थुप्रै योजनाहरु बुनेका थियौँ । घोराही चोकमा हामीलाई पर्खेर बसेका गाडीहरुको लाम भनिरहथ्यो दुई घण्टामा होलेरी पुग्नु हुन्छ ।

उसै गरी छोरीलाई सम्झिएँ । माडीचौरमा बसेर एकछिन दुबोलाई छामेँ । होमस्टे जाने साँझ उकालो र ओरालो बाटोमा मैले चालकलाई भनेको थिएँ–गुरुजी गाडी बिस्तारै चलाउनु ल मलाई असाध्यै डर लाग्छ । भीरमात्रै छ । तपाइँले नचलाउने हो भने यो बिपिन सलामीले चलाउँछ–यत्ति भनेथेँ ।

सुन्दरता छुनलाई होइन–पछाडिबाट कोही यसो भनिरहेको आवाज मेरो कानमा आयो । मलाई पछाडि फर्कन समेत डर लागिरहेथ्यो । भीरतिर त मेरो आँखा जाँदै गएन । मेरो आँखा चालकतिरमात्र थियो ।

म कहाँ चलाउँछु । यस्तो डरलाग्दो बाटोमा–सलामी बोल्यो ।

डरलाग्दो उकालोसँग फेरि जम्का भेट भयो । गाडी रोकिन नपाउँदै म हाम्फालेँ । अरु बिस्तारै ओर्लिए । बर्खामा के हुन्छ हँ यो बाटोमा । जान्छ त गाडी सोझै । म त बरु हिँडेर जान्छु–यति बोलेँ ।

मेरो साथ कसैले दिएनन् । उकालो कटेपछि फेरि अघिकै सिटमा गएर बसेँँ ।

यो हो गुरुङ गाउँ ।

कमिलाको ताँतीजस्तो भएर एक लहरमा हामी हिँड्यौँ । होमस्टे कहिले पुगिएला भन्ने काउकुती मनमा बढी थियो । वियोगी बुढाथोकी, तुलसीहरि कोइराला, भूपिन, प्रोल्लास सिन्धुलीय, ज्योति जंगल, हेम प्रभास, नविन अभिलाषी, रोशन जनकपुरी, सुरेश बुढाथोकी फकिर, केवल विनावी, राधिका अधिकारी,लक्ष्मण संगम, बिपी अस्तु अघिअघि थिए । विपिन सलामी र म पछिपछि । मध्य भागमा थिए कपिल, हुकुम, संगीता, महेन्द्रचन्द । अरु कता हुनुहुन्थ्यो हेक्का राख्न सकिनँ ।

गुरुङ गाउँको आतिथ्य स्वीकार गरेपछि गएकाहरु मध्ये सबै फर्किए । विपिन सलामी र म त्यहीँ बस्यौँ । दोहोरी खेल्यौँ राती अबेरस्म्म । दोहोरीमा हारेपछि निद्रा लागेको बहाना बनायौँ ।

भोलि वर्षमान पुन र ओनसारी घर्ती मगरको गाउँ जाने हो । बाटो चैँ कच्ची छ । भर्खर डोजर हिँड्दैछ ।

त्यो बाटो पनि भीरैभरै भएर जान्छ कि के हो ? डराउने म मात्र हो । अरु सबको अनुहारबाट खुसी पोखिएर जान मानेकै थिएन ।

यद्धलाई सम्झिएँ । कसरी हिँडे होलान् ती योद्धाहरु यस्तो भीरको बाटोमा । कतिलाई त यही भीरको बाटोले खायो होला । जसरी कतिलाई युद्धले खायो ।

साँझ महफिल चल्यो । रात परेको हामीले चालै पाएनौँ ।
…………………..

थानकोटबाट ओरालो लागेपछि मैले होलेरी खुब सम्झेँ । उसै गरी छोरीलाई सम्झिएँ ।

युद्धकालमा भएको प्रहरी चौकी आक्रमण मेरो मनमा फरक्क फर्केर आयो । फर्केर आउँदा होलरी प्रहरी चौकी आक्रमण भएको ठाउँमा आएर एकछिन गाडि रोकियो । आयोजक साथीले चोर औँला देखाउँदै आक्रमण भएको स्थान देखाउनु भो । त्यहाँ चौकी छैन अहिले । अब त भग्नावशेष मात्र बाँकी छ ।

गाडि फेरि बेपत्तासँग सँग कुद्यो । ओनसरी घर्ती पहिलो पटक बन्दुक बोकर लड्न यही होलेरी आएकी थिइन् भन्ने कुरा गाडीमा भएको साथीले भन्नु भो । उहाँले भनेपछि पत्याएँ ।

गाडी खाना खाने ठाउँमा गएर ओथारो बस्यो । खानापछि थियो कविताको सेसन । त्यसपछिको सेसन थियो जीवन, मित्रता र समाज ।

जीवन मित्रता र समाज सेसन चल्दै गर्दा अगाडि लहरमा भएको सबै रोएका थिए यो पक्का हो । पछाडि फर्केर हेर्ने हिम्मत गर्न सकिनँ । आँसु देखाउन नसकेर राज शाह उठेर कता गयो । लुकेर हेरेँ कवि ज्योति जंगल आँखा पुछ्दै हुनुहुन्थ्यो ।

नलेखिएएको रोल्पा सेसनमा काँशीराम डाँगी सोध्दै हुनुहुन्थ्यो– जब खेम बूढा बोले उसै गरी आँखा भरिएर आयो अगाडि लहरमा बस्नेहरुको । फेरि पनि पछाडि फर्केर हेर्न सकिनँ । होलेरी ल्याएर रुवाए यिनीहरुले । सिताराम बडालले होलेरीलाई आफ्नो क्यामेरामा कैद गरिरहे ।

कवि बिपी अस्तुको कविताले पनि रुवायो ।

ज्योति जंगल बोल्नु भो–थाहा छ बाबु, मलाई एक जनाले भन्नु भो रोल्पा अब प्रेम चाहन्छ । अर्को पटक आउँदा युद्धको कविता बोकेर नआउनु होला । यो कुराले खुब छोयो । म अब रोल्पा आउँदा प्रेमको कविता बोकेर आउने छु । एकछिन गम खाएँ । रोल्पा अब प्रेम चाहन्छ ।

बिहानै महाप्रमुको जन्मस्थल जाने क्रममा गाडी बेपत्तासँग उसै गरी कुद्यो । ए, साथी अलि बिस्तारै कुदाउनु न । डर लाग्दो बाटो पो छ त । यहाँबाट खस्यो भने त अर्को जिल्ला पुगिन्छ त । खोज्नै १ महिना लाग्छ ।

डराउने मान्छे भीर तिर किन हेर्नु । गुराँसलाई हेर्नु नि । हामीलाई डर लागेको छैन–राज शाह यही कुरा दोहो¥यारहेछ ।

के सारो डरपोक हो बाबु–कवि भगवती बस्नेत बोल्नु भो । यात्रा म खुब डराउँछु ।

छाता ओढजस्तै गरी बाटोबाटोमा बसेका छन् गुराँसका बोटहरु । मसँग क्यामेरा थिएन । मैले आँखाले गुराँसको सौन्दर्यलाई सक्ने जति आँखामा कैद गरेँ । रोप्न चैँ कस्ले रोप्यो यहाँ यसरी गुराँस ?

कवि रिमा के.सी. ले गुराँससँग सबैभन्दा बढी फोटो खिच्नु भो ।

साँझ प¥यो ।

जसरी पहिलो दिन घोराहीबाट गाडी चढेर होलेरी पुगेका थियौँ । त्यसैगरी गाडी होलेरी बाट कुद्यो र घोराहीमा आएर रोकियो । गाडीले नयनराज पाण्डे, अमर न्यौपाने, अर्चना थापा, भूपिन, निमेश निखिल, शान्तिप्रीय वन्दना, ज्योति जंगल, रञ्जना निरौला, राज शाह, राधिका अधिकारी, सिताराम बडाल, मीनराज वसन्तलाई बोकेर उसै गरी फर्कियो । होलेरी देखिन्छ कि भनेर एकपटक फेरि आएको बाटोतिर आँखा लगाएँ । यतिबेलासम्म होलेरीलाई पहाडले छेकिसकेको थियो ।

सुन्दरता होलेरीमा छुट्यो ।

……………
यतिखेर त म लिवाङमा छु । भोलि बिहान ६ बजे ओखरेनीबाट जलजलाको लागि हिँड्ने हो है । यति भनेको सम्झना छ ।

ओखरेनी पुग्दा झमक्क साँझ पर्यो । बत्तीको मधुरो उज्यालोमा एउटा पुरानो घर देखियो । त्यसबेला घरको मूल ढोकामा स्वागतका लागि उभिनु भएका ओखरेनीबासीको उज्यालो अनुहार सिवाय अरु केही देखिएन । अलि पर धुँवाँ उडिरहेको थियो ।

यै बेलामा बत्ती गयो–नसुनेको आवाज कान आएर ठोक्कियो ।

यतिखेर यो बत्ती नभएकै राम्रो । उज्यालोले यहाँको सुन्दरता लुट्छ बोलिहालेँ । उज्यालो नभएकै राम्रो । कुनै कुनै ठाउँमा त उज्यालोले पनि आफ्नो अस्तित्व गुमाउँदो रहेछ ।

म धुवाँ आएको ठाउँतिर गएँ र आगोकै छेउमा बसेँ । प्रज्जवल आइपुग्यो । खेम गाउँले मादल लिएर आइपुगे । व्योमजी अवतार अघि देखिनै त्यहीँ थिए । मादल बज्न सुरु भयो । मादल बजाउने साथीलाई चिन्न सकिनँ ।

एकछिन पछि राबत आइपुग्यो । ऊ बोल्यो मादल म बजाउँछु ।

कवि प्रज्ववल र देवी गुरुङ बीच घमासान दोहोरी सुरु भो ।

एकातिर दोहोरी सुरु भो अर्कोतरि नाँच्नेहरुको तँछाड मँछाड सुरु भो । रुपेश श्रेष्ठ नाचे । राज शाह नाचे । व्योमजी अवतार नाचे । धुँवा भन्दा ठीक अगाडि मधुरो उज्यालोमा देखिनु भो पुरन क्षेत्री, डिबी टुहुरो र नविन लोचन मगर ।

टेन्ट उभ्याउन सुरु गर्नेहरुले नाँच र दोहोरीको मजा लिन पाएनन् ।

दीप दर्पण नाँचे । मादल बजाउन छाडेर राबत नाच्यो । रोशन पुन नाच्यो । अन्ततिर नविन विभास पनि नाँचे । नाँच्नेहरुको क्रम जारी रह्यो । म पनि के कम म पनि नाँचे । दोहोरी चलिहरको थियो । आगो बलिरहेको थियो । धुँवाँ उडिरहेको थियो ।

एकछिनमा वाह ओखरेनी सुरु भयो । विप्लव दाजु बोल्नु भो–रोल्पा नआएको भए धेरै थोक गुम्ने रहेछ ।

खाना खाइवरी धेरै जना सुत्ने तर्खरमा लागे । विप्लव प्रतीक दाजु र म नसुत्ने निधो गरेर सोही घरको पिँढीमा गएर थचक्क बस्यौँ । एकछिनमा रोशन र प्रज्जवल अधिकारी आइपुगे । उनीहरु भइँमा ढुंगा ओच्छ्याए बसे ।

हिजै भनिएको थियो । आखरेनीबाट ६ बजे जलजलाको लागि हिँड्नपर्छ । ६ बज्न अब २ घण्टा बाँकी थियो । हामी गफिँदै गर्दा राबत आइपुगेको थियो ऊ पनि हरायो । दाजु स्नेह सायमीलाई देखेथेँ । राज शाह आइपुगेको थियो हाम्रो फोटो खिच्न । ऊ पनि एकाएक हरायो ।

दाजु सबै जना हराए त–विप्लब दाजुसँग जिज्ञासा राखेँ ।

हराउन देऊ । अझ हराउने भन्दा पनि निदाउनेहरु धेरै भए यहाँ ।

यहाँ आएर पनि निदाउने हो–बोलिहालेँ ।

हराएर केही फरक पर्दैन । मात्र मन नहराए पुग्छ । विप्लब दाजु बोल्नु भो ।

मन त हराइ सक्यो दाइ–फेरि रोशन बोले ।

हराउने ठाउँमा आएपछि हराइहाल्छ नि । यहाँको सुन्दरतामा हराउन सबैले कहाँ पाउँछन् र ? –प्रज्ववल बोले ।

हर रात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि विप्लब दाइले गाउन थाल्नु भो । विहानको ३ बजेको थियो । दाजुले गीत गाइसकेपछि हामी चारैजना आकासतिर हेर्दै तारा गन्नेतिर लाग्यौँ ।

भर्खर निदाउन थालेको जस्तो लाग्छ । कसले हो बेस्सरी चिमोट्यो । ५ बजिसक्यो छिटो उठ्नुस् ।

अघि भर्खर त सुतेको ४ बजे । कल्ले उठायो मलाई ? म दाइ रोशन बोलेको । हिँड्ने बेला भो दाइ ।

आँखा मिच्दै उठेँ– लठ्ठी खोज्न थालेँ । लट्ठी भेटिएन । हिजो मेरो भागमा परेको लट्ठी हरायो–कसले चोर्यो मेरो लट्ठी चिच्याएँ । लट्ठी मैले भेटेको छु कसैले भनेनन् ।

ओखरेनीबाट जलजलाको यात्रा सुरु भो । धेरै जना अगाडि बढिसकेका थिए । मध्यबाट हामीले पनि यात्रा सुरु गर्यौँ । अबको यात्रा ३५०० मिटर माथि हुनेछ–हिजो भटिएको एकजना छापामार साथीले भन्नु भो–मनमा धेरै जिज्ञासाहरु थिए । उहाँलाई भनेँ ए साथी तपाइँ मसँग हिँड्नुस् ल धेरै कुरा सोध्नु छ युद्धका बारेमा ।

यसपटक लिवाङ आउनुको एउटा उद्धेश्य थियो जलजला ।

पछाडि रोशन र प्रज्वल, त्यो भन्दा पछाडि राबत । राज र विप्लब दाइ अझै अगाडि हुनुहुन्थ्यो । स्नेह दाइ र रुपेशलाई मैले देखिनँ । सीता प्याकुरेल र सुमन राजको अघिअघि देखिएको थियो एकछिन । त्यो दृष्य पनि हरायो । कवि अभय श्रेष्ठ अगाडि हुनुहुन्छ भन्ने खबर पाइयो । राष्ट्रिय कविता महोत्सवमा छानिएका टप १० कविहरु कोही अघि कोही पछि थिए ।

क्यामेरा हुनेहरु आँखा अगाडि आएका दृष्यलाई कैद गर्नमा आतुर देखिन्थे । ती छापामार साथीलाई मेरो पहिलो प्रश्न थियो–युद्धकालमा तपाइँहरु त धेरै हिँड्नु भो होला है यो बाटो ।

हिँडियो नि । भाकै हिँडियो । कति हिँडियो कति ।

मोमिला दिदि आउनु भएन । उतै लिवाङमा बस्नु भो । देबी नेपाल सर पनि अगाडि नै हुनुहुन्थ्यो । दीप दर्पण कता पुगिसकेका थिए कुन्नी ।

ती छापामार साथीसँग बात मार्दा मार्दै १ घण्टाको बाटो केटेको पत्तै भएन । यद्धका बेला सम्झना भएका घटनाहरू ती छापामार साथीले सुनाउँदा लाग्थ्यो–यो गोरेटो पनि त्यसै बेला बनेको हो । थवाङ र जेलवाङको बीच बाटो भएर जलजला पुगिन्छ बिहान कसैले भनेको सुनेथेँ ।

बाङ भनको चहुर रहेछ ।

पूर्व जनसेना कमाण्डर क्षितिज मगरलाई हिजो राती ओखरेनीमा देखेथेँ । उनलाई सोध्न मन थियो–रातो झन्डा गाड्दाका केही अनुभूतिहरु तर सोध्न पाइनँ । क्या गजबको कविता वाचन गर्नु भएको थियो लिवाङमा उहाँले ।

जलजला जाँदा बीचमा थियौँ हामीहरु । हामीलाई लाग्थ्यो हामीभन्दा पछाडि अझै पचास छन् । हिँड्दा हिँड्दै हामी त सबैभन्दा पछाडि भइसकेको हामीले बिर्सिसकेका थियौँ ।

गारो भो त हँ पहाड चढ्न–राबत बोल्यो ।

पानी पिउँ दाइ । चक्लेट खाउँ –रोशन बोल्यो ।

सबले छाडेर गएछन् । भोक लाग्यो खानेकुरा छ त झोलामा । राबत बोल्यो ।

चउचाउ छ दाइ । रोशन बोल्यो ।

सगरमाथा कसरी चढ्छन् हो मान्छेहरु ? अचम्म छ । यति उकालो चढ्दा फोक्सो बाहिर आउला जस्तो हुन्छ त एकछिन बसौँ है । म बोलेँ । अब बोल्ने भनेको हामी ३ जनामा एकआपसमा मात्र हो । अरु कता पुग पुगे आँखाले नदेख्ने गरी ।

हामीसँग क्यामेरा नभए पनि अनेक प्रकारका गुराँसलाई आँखामा कैद गरिसकेका थियौँ । कसरी उठे होलान् यहाँ यसरी गुराँसका बोटहरु । कसले रोप्यो होला यसरी मन यहाँ ? प्रकृति यहाँ बाट अन्त जान नमानेजस्तो ।

बीच बाटोमा नविन विभास भेटिए । विहान गफिएको छापामार साथी पनि भेटिए । हामी त अन्तिम पदयत्री पर्यौँ–नविन विभासलाई भनेँ । उहाँहरु फोटो खिच्दै हुनुहुन्थ्यो । त्यही कारणले पनि भेट भयो ।

बड्डाहरु कति ढिलो त । विभास बोले ।

के को ढिलो हुनुँ यो त चाँडै हिँडेको । भर्खर त ६ घण्टा भो हिँडेको ।

गुराँसमात्र देखेपछि राबतले आफ्नो भावी योजना सुनायो–यो ठाउँमा प्रेमी प्रेमीकाहरु आएर बस्ने पार्क बनाउनपर्छ । अझ भनूँ हनिमुन स्थल । अरुलाई नो इन्ट्रि हुने गरी । हेर्नुस् त त्यो गुराँसको बोटलाई । उसले आफ्नो औँला सोझ्यायो ।

क्षितिज मगरलाई सम्झेपछि–मनमा एउटा कुरा खेल्यो युद्धले यहाँसम्म ल्यायो रोल्पालाई । डाँडामा पुगेपपछि अघि छाडेर आएको बाटोलाई एकचोटि नियाले ।

युद्धले बनाएका घाउहरू र युद्धपछिको रोल्पा अनि थरीथरीका गुराँसले मनमा अनेक किसिमको प्रश्नहरु खडा गरिदियो । यो प्रश्न कोसँग सोध्ने होला ? उत्तर कसले देला ? यो कुरालाई मनकै गर्भमा राखिदिएँ । जलजला कस्तो होला ?

पदयात्राका क्रममा सँगैका साथी छुटिगए । युद्धकालमा पनि यसरी साथीहरु छुट्दा हुन सम्झिएँ । दिनको ३ बजे राबत, नविन विभास, रोशन, ती छापामार साथी र म जलजला पुग्यौँ । सबभन्दा छिटो पुग्ने राज शाह भएछ । ऊ १२ बजेनै पुगेको हल्ला जलजलामा फैलियो ।

चौरमा भात पाकिसकेको गन्ध मैले चाल पाएँ । नजिक गएर नियालेँ । तरकारी पाक्दै रहेछ । साथीहरु कविता वाचनमा थिए । डोकोभरि भात देखेँ । यसरी डोकोमा भात राखेको मैले पहिलो चोटि देखेको थिएँ । भात खाउँ न सारै भोक लाग्यो । तरकारी नभए पनि हुन्छ ।

तरकारी चलाउँदै गर्नु भएको साथी बोल्नु भो– अहिले भात दिन मिल्दैन । आदेश त्यस्तै छ ।

त्यो आदेश दिने मै हुँ । अब हुन्छ भात दिनुस् । मैले भोकले गर्दा ढाँटेँ ।

आदेश दिने मान्छेले भनेपछि त दिइहाल्छु नि । उहाँ भात पस्किन थाल्नु भो ।

सबैभन्दा ढिलो जलजला पुग्ने पनि हामी । भात खाउँ न भोक लाग्यो भन्ने चैँ पहिलोमा हामी नैँ । झोलालाई फालिदिएँ । भात खानेमा पहिलो म भएँ । दोस्रो राबत । तेस्रो रोशन । अनि प्रज्वल ।

ढिलो आउने माझमा सुत्ने–राज बोल्यो । उसको प्रश्नको उत्तर दिने फुर्सद मलाई थिएन । भात खाएपछि एकछिन जलजलाको छातीमा रोशन र म पल्छिटन पुग्यौँ । साथीहरुको थवाङयात्रा सुरु भैसकेको थियो ।

यो पो हो जलजला । यसको सुन्दरताको बयान कसले गर्ला ?

जलजलाबाट थवाङ पदयात्रा गर्ने क्रममा हामी फेरि अन्तिम पदयात्री भएका थियौँ । राबत, नवीन लोचन मगर, देवी गुरुङ, दिल कुमारी मगर, प्रज्जवल अधिकारी, रोशन पुन र म उसै गरी हिँड्यौँ लट्ठी टेकेर । जलजलाबाट पैदलयात्रा गरेर फेरि हामी ओरालै ओरालो हिँड्यौँ लट्ठी टेकेर ।

अब आउँछ । तलाबाङ । राँचीबाङ । खुुन्ठीबाङ ।

हैन यो बाङ पनि कति हो भन्या ।

बीचमा सानो पँधेरोनिर दीप दर्पण स्नेह सायमी दाइलाई कुरेर बसेको भेटियो । ओम पन्छी स्नेह दाइको स्यहारमा व्यस्त देखिनु हुन्थ्यो । घोडा र खच्चरको एक बथान हामीलाई छाडेर फेरि ओरालो लाग्यो ।

त्यसपछि थवाङ ।

थवाङ पुगेपछि श्रीमतिको फोन आयो । उनले भनिन् छोरी कुरा गर्ने रे । मैले फोन दिनु भनेँ । छोरीले भनी बाबा कतिखेर आउने घर ? मैले फेरि घर छाड्दाको उसको मलिन अनुहार सम्झिएँ । श्रीमतिलाई भनेँ म यतिबेला थवाङ आइपुगेको छु ।

गाडी फेरि उसै गरी हाम्रो पछिपछि आयो उसै गरी धुलो उडाउँदै । अँध्यारोमा को बोल्नु भो मैले चाल पाइन । उहाँले भन्नु भो गाडीमा बसिहाल्नुस् अब यो गाडीले तपाइँहरुलाई थवाङ लैजान्छ । साँझ परिसकेको थियो ।

बीचबीचमा ओर्लदै उक्लँदै जिन्गदीको मजा लुट्न मैले कुनै कसर बाँकी राखिनँ । गाडीभित्र एक जना बोल्नु भो हाम्रो उपराष्ट्रपतिको घर यतै पर्छ ।

थवाङ आइपुग्यौँ ।

अँध्यारोले थवाङलाई आफ्नो कब्जामा लिइसकेको थियो । धुलाम्मेबाटो र गाडीको रफ्तारले हामीलाई परिवर्तन गाउँ पालिकामा पुर्याएर त्यो गाडी उसै गरी बेपत्ता भयो जसरी अघिको उज्यालो हेर्दा हेर्दै बेपत्ता भयो ।

अब भात खाने–राज आइपुगे । ओम पन्छी आइपुग्नु भो । प्रज्जवल म अगाडिको होटलमा पुग्यौँ र औँलाले इशारा गर्दै भन्यौँ साहुजी छ ?

के चाहिएको हो तपाइँलाई ?

चिसो जिनिस क्या । गर्मी भो ।

यता त पाइन्न त्यस्तो । व्याण्ड गरेको छ । जरिवाना लाग्छ । यहाँ त त्यो कुरा सोच्न पनि पाइन्न ।

अगाडि सिटमा बस्नु भएको स्नेह सायमी दाजु बोल्नु भो–राबतले कति चोटि सोच्यो ।

राबत बोल्यो–दाजु तीन चोटि ।

सोचेको पनि जरिवाना । थकान बिर्सिएर खुब मज्जाले हाँस्यो गाडिभित्र ।

ओखरेनीबाट उकालो चढ्दै गर्दा घरी गालामा घरी आँखामा आएर गुराँसका थुङ्गाहरुले म्वाइ खाइरहे । कतिको त गुराँसले ओठमा पनि म्वाइँ खायो भन्ने कुरा जलजलामा पुगेपछि थाहा भयो ।

जिस्कन त हामी पनि खुब जिस्कियौँ गुराँससँग । त्यसकारण त हामीलाई जलजला पुग्न ९ घण्टा लाग्यो ।

हिजो रातभरि बसेर दोहोरी गाउँदा बजाएको मादल हरायो । कति मीठो हाँसेर खेम गाउँले बोलेको सम्झिएँ ।

व्योमजी अवतारको झोला हरायो । उधारोमा किनेको राबतको टिसर्ट हरायो । मैले त सस्तोमा किनेको थिएँ तर राबतलाई भनेँ–मेरो एकदम महँगो ज्याकेट हरायो । सबभन्दा ठूलो कुरो हाम्रो मन हरायो ।

मन उतै हरायो ।

बिहानको २ बजे जब लिवाङबाट गाडीमा चढेँ । स्मृतिहरू फेरि उसै गरी हावाजस्तै हलुगो भएर आयो ।

जलजला सम्झिएँ ।

बिकासको लागि बाटो अनिवार्य छ । तर कति यस्ता ठाउँहरु छन् जहाँ बाटो पुग्दा हामीले विनास सिवाय अरु केही देख्न पाउँदैनौँ । बिन्ति छ, सबै ठाउँमा गाडी पुगे पनि, सबै ठाउँमा बाटो पुगे पनि जलजला पुग्नको लागि चैँ गाडी नभए हुन्थ्यो । त्यतातिर बाटो बनाउनको लागि डोजर नचले हुन्थ्यो । त्यतातिर बाटो नबने हुन्थ्यो । बाटोले जलजलालाई कुरुप बनाउँछ । मास्छ हाम्रो गुराँसको सौन्दर्य । मास्छ रोल्पाको सौन्दर्य । त्यो भन्दा पनि बढी मन भत्काउँछ त्यसले । भत्केको मन कसरी हेर्ने होला । ऐँठन भएर आयो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर