– सबिन निरौला

गजल १
धेरै भयो परदेशी छोरो घर फर्केर आएको छैन
सन्चो बिसन्चो केछ कुन्नि कुनै खबर पाएको छैन !

नरुनु न बाबा मैले हजुरको साथ दिन्छु भन्थ्यो
फस्यो कि कतै दलालीमा निद्रा मलाई लाएको छैन !

परदेशमा अलमल हुँदा बुढेसकालको साहारा मेरो
लाग्छ सधै उसैको पिर मनमा शान्ति छाएको छैन !

बर्षौं बर्ष बिति सके तेही छोराको बाटो कुर्दै
आउँछ भन्नी आश छ अझै मैले हरेस खाएको छैन !

२, गजल

स्वदेशमै अब केही गर्नुपर्छ भन्छिन प्रिया
मरे पनि स्वदेशमै मर्नुपर्छ भन्छिन प्रिया !!

गरौँ दु:ख बगाइ पसिना आफ्नै पाखा पखेरोमा
माना, पाथी अनि मुरी भर्नुपर्छ भन्छिन प्रिया !!

गरे हुन्छ छरे पाक्छ खनौ जोतौ बाझोँ बारी
यसपालि त गहुँ तोरी छर्नुपर्छ भन्छिन प्रिया !!

लाग्दा बाटो परदेशको गहभरि आँसु झार्दै
सुख-दुःख पिडा सङ्गै तर्नुपर्छ भन्छिन प्रिया !!

जसो तसो गरौँ यही फर्कनुस न छिटो प्यारा
लेकबाट बेसी अब झर्नुपर्छ भन्छिन प्रिया !!

***

प्रतिक्रिया

सम्बन्धित खवर