
✍️ सीता श्रेष्ठ
गजल – एक
गल्ती नगर बाबुनानी खेर जानसक्छ
प्यारमा सिङ्गो जवानी खेर जानसक्छ
पत्थरको सहरमा सिसाको व्यापार
मानेनौ जति भन्दानी खेर जानसक्छ
सबैभन्दा पहिले आफूलाई चिन
त्यतिकै यो परानी खेर जानसक्छ
जति लुकाए पनि केही छुटछ सबुत
अब तिम्रो बैमानी खेर जानसक्छ
सुन खोज्छु भनेर टाढा टाढा नजाउ
छेउकै हिराखानी खेर जान सक्छ
गजल – दुई
दिनु रैछ यो दिल बिमामा गरेर
छोडी गयो निष्ठुरी बसाइँ सरेर
झर्नुको अर्थ यस्तो भइदिए !
ढुकुटीमा पुग्यो बोटबाट झरेर
जिन्दगी सन्तुलित बनाइराख्नुछ
आधा दुःख, आधा सुख भरेर
यी पलहरू सम्झनामा कैद गर्नु
समय हो यसै पनि जान्छ टरेर
छोरीको बलात्कारी सरकारमा छ
आमा मन बुझाउँछे शतबीज छरेर
प्रतिक्रिया
-
४