अनुवाद : राजा पुनियानी
चित्त जहाँ निडर हुन्छ
चित्त जहाँ
निडर हुन्छ
जहाँ उठेको शिर हुन्छ
ज्ञान
जहाँ मुक्त हुन्छ
साँघुरा घरेलु देवालहरूले जहाँ
टुक्रै टुक्रा पारिएको हुँदैन
संसार
सत्यको गहिराइबाट जहाँ
जन्मन्छ बाक्के
पूर्णता अङ्गाल्न जहाँ
अघि बढ़ेका हुन्छन्
अथक बाहुहरू
उज्यालो विचारधाराले जहाँ
बाटो हराएको हुँदैन
तुच्छ आचरणको मरूभूमिमा
नित्य फैलिँदो विचार र कर्मतिर जहाँ
डोर्याउनुहुन्छ मनलाई
हे मेरा पिता
हो त्यही स्वाधीन विश्वमा
जागेको होस् मेरो मुलुक
समयको किनारमा
पुतलीले महिना होइन
क्षणको हिसाब राख्दछ
उसँग मनग्गे छ
समय
परिवर्तनको सम्पत्ति हो
समय
घड़ीले भने
आफ्नो निरर्थक तुकबन्दीमा
समयलाई सम्पत्ति होइन
केवल
परिवर्तन बनाइदिन्छ
पातको किनारमा नाच्ने
शीतथोपाजस्तै
समयको किनारमा
हल्कासँग नाचोस्
तिम्रो जीवन
उत्तर
पहिलो दिनको घामले
अस्तित्वको नौलो आगमनलाई सोध्यो –
‘को हौ तिमी ?’
आएन उत्तर
बितेर गयो
सालपछि साल
दिनको अन्तिम घामले
पश्चिमी समुद्र तटमा
निस्तब्ध उभिएको
साँझसँग अन्तिम प्रश्न सोध्यो-
‘को हौ तिमी ?’
आएन उत्तर
कागजको नाउ
दिनहुँ
बगाउने गर्छु म
एक एक मेरो कागजको नाउ
बगिरहेको पानीमा ।
नाउमा
म कालो अक्षरले लेख्छु
मेरो र मेरो गाँउको नाम ।
आशा छ –
कुनै अचिनारू गाँउमा कसैले
ती नाउ भेट्नेछ
र चिन्नेछ मलाई ।
हाम्रो बगानमा फुलेको
पारिजात
मेरा साना नाउमा चढ़ाइदिन्छु ।
आशा छ –
सखारै फुलेका यी फूल
सुरक्षित ओर्ह्लनेछन्
राति ।
कागजका नाउ बगाएर
म उकालो आकाशतिर हेरिपठाउँछु
र देख्छु
साना बादलहरूले
तिम्रो सेता हल्लिरहेका पालहरू बनाइरहेको ।
मलाई थाहा छैन
आकाशको मेरो साथीले
मेरा नाउसँग दौड़ गराउन
के पठाउँदो हो !
रात झरेपछि
मेरो अनुहार
मेरा पाखुरीमा लुकाएर
सपना देख्छु –
मेरा कागजका नाउ
मध्यरातका ताराहरूमाझ
तैरिरहेका छन्
र
निद्राका परीहरू
सपनाको टोकरी लादेर
ती नाउमा चढ़ेका छन् ।
अचिनारू
मेरो गुप्तभेटमा
म एक्लै निस्केँ
तर यस्तो सुनसान अँध्यारोमा
मेरो पिछा गर्ने
को होला ?
उसको उपस्थिति मेटाइदिन
म छेउ लाग्छु
तर बाँच्नै सक्दिनँ उबाट म ।
उ इत्रिँदै हिँड़्दा
भुइँबाट धुलो उड़्छ ।
उसको चर्को आवाज जोड़्छ
मैले बोलेको हरेक शब्दमा ।
खासमा त उ नि
मेरो आफ्नै फुच्चे ‘म’ हो ।
उसलाई लाज लाग्दैन
तर मलाई लाग्छ लाज
उसँग आउनु
तपाइँको दैलोसम्म ।
हराएको बेला
खाली सुस्त दिनहरूमा
हराएको समयको लागि
मैले दुख मानेको छु ।
तर ती त कहिल्यै हराउँदैनन् ।
तपाइँले आफ्नो हातमा
मेरो जीवनको हरेक क्षण
जो लिनु भएको छ ।
बीउलाई अङ्कुरित गर्ने
कोपिलालाई फक्रन लगाउने
फूललाई फलमा पाक्न लगाउने
तपाइँको कला
चीजहरूको मुटुमा लुकेको छ ।
मेरो सुस्त ओछ्यानमा
म थाकेर सुतेँ
र सबै काम सकिएको कल्पना गरेँ ।
बिहान जब बिउँझिएँ म
मेरो बगैंचा
फूलहरूले ढकमक्क भरिएको देखेँ ।
मुक्ति
मेरो मातृभूमिको लागि
मैले मागेको मुक्ति
डरबाट मुक्ति हो ।
बोझिल उमेर, नुहेको शिर
मर्किएको ढाड़, अन्धा आँखाबाट
भविष्यको ईशाराको बोलाहटमा मुक्ति ।
सत्यको रोमाञ्चक बाटोबारे बोल्ने तारालाई
अविश्वास गर्दै
रातको अचलतामा आफूलाई बाँध्ने
उँघाइको हथकड़ीबाट मुक्ति ।
अन्धो हावाअघि कमजोर गरी झुकेको
जहाजी पाल भएको
भाग्यको आराजकता
र मृत्यु जति नै कठोर र चिसो
शासनको हातबाट मुक्ति ।
कठपुतलीको संसारमा
घर बसाउने अपमानबाट मुक्ति
जहाँ बुद्धिहीन धागोहरूबाट गति शुरू हुन्छ
जो मूर्ख आदतहरूमा दोहोरिन्छ
जहाँ धिर र आज्ञाकारी भएर
जीवनको नकलमा उद्वेलित बन्नलाई
खेलको मालिकको प्रतीक्षा गरिन्छ ।
प्रतीक्षा
जुन गीत गाउन आएकी हुँ
आजसम्म गाउन सकिनँ
त्यो गीत ।
मैले त डल्लै समय बिताइदिएछु
आफ्नो बाजाको तार
कस्नु र खकुलो पार्नुमै ।
खासमा अहिले समय नै आएको छैन
गीतको बोल अहिले
ठीकसँग सजाइएको छैन
अहिलेसम्म केवल मेरो हृदयमा
यही कामनाको यन्त्रणा छ
मैले अहिलेसम्म
उनको अनुहार देखेको छैन
र न उनको स्वर नै सुनेको छु
मैले केवल
उनको कदमको हल्का आहट
आफ्नो घर अघिको बाटोमा सुनेको छु
अहिले बत्ती पनि जलेको छैन
र उनलाई आफ्नो घरमा आउने
निम्तो गर्न सक्दिनँ म
उनीसँग भेट्ने आसमै जिउँदो छु म
तर भएकै छैन मिलन
आजसम्म
दुष्ट हुलाके
खुट्टा पसारेर कुनामा
यसरी किन चुपचाप बसिरहनु भएको छ
मेरो प्यारो आमा
भन्नुस् न ?
तपाइँलाई आखिर के भएको छ आमा
तपाइँ अनौठो देखिनु हुँदैछ ?
खिड़कीबाट बाछिटा पसेर
तपाइँलाई भिजाएको पनि ख्यालै गर्नु भएन ।
अहिलेसम्म कपाल पनि कोर्नु भएको छैन ।
खिड़की खोलेर के हेर्नु भएको यस्तरी
धुलोमुलो उड़ेर लुगामा लाग्छ हौ ।
चार बजीको घण्टा बजेको सुन्नुभो ?
अब दाजू स्कूलबाट आउने समय भयो ।
बाबाको चिट्ठी आज पनि आएन ?
हुलाकेले सबैको लागि झोलामा
चिट्ठी लिएर आएको देखेँ मैले ।
बाबाको चिट्ठी मात्र उसले आफै पढ़्न
लुकाएर राख्छ ।
पक्का त्यो हुलाके दुष्ट छ ।
प्यारो आमा
तपाइँ दुखी नहुनुहोस् ।
पल्लो गाँउमा भोलि हाट लाग्ने दिन हो ।
तपाइँको कामवालीलाई केही कलम र कागज
किनेर ल्याइमाग्नुस् है ।
बाबाले लेख्ने सबै चिट्ठी म आफै लेखुँला ।
क ख – देखि ण –
एउटै पनि भूल भेट्नु हुने छैन ।
आमा किन हाँस्नु भएको यसरी ?
बाबाले जस्तै मैले पनि राम्ररी लेख्न सक्छु भनेर
किन विश्वास नगरेको !
लाइन तानेर ठूलो ठूलो अक्षरमा मज्जाले लेख्नेछु ।
लेखिसकेर बाबाजस्तै त्यो दुष्टको झोलामा
चिट्ठी हालिदिन्छु भनेर सोचेको ?
म आफै त्यो लिएर आउनेछु तिमीकहाँ
र म पढ़ेर सुनाउनेछु आफै ।
मलाई थाहा छ
त्यो हुलाकेले
राम्रो चिट्ठी नै ल्याइदिँदैन ।
***
प्रतिक्रिया
-
४