✍️ लिला केसी

मुक्तक – एक

साँच्चिकै अब यो देशमा युवा शक्ति आउनुपर्छ।
थला परेको हाम्रो देशले अब निकास पाउनुपर्छ।
कति हेर्नु बुढा गोरू मियोको दाँही घुमिरहेको
चेतनाको जन लहर यसैगरि देशमा छाउनु पर्छ।

मुक्तक – दुई

दाजु भाइलाई जस्तै मलाई पनि पढाइ दिएको भए ।
छोराछोरी भेदभाव नगरी अगाडी बढाइ दिएको भए।
पराइ छोराको कमाइ भन्दा धेरै वचन खानु पर्थेन बुबा
हलो कोदालो गरेर शिक्षाको उचाइ चढाइ दिएको भए ।

मुक्तक – तीन

दाजुभाइको छेउमा जाँउ भने घर खाइन भन्छन्।
घरमा बसौं सासु ससुरा दाइजो ल्याइन भन्छन्।
आँगन पोलेर दिनु भो बुबा आफू परलोक हुनुभो
पापी पतिले पनि गतिली स्वास्नी पाइन भन्छन।

मुक्तक – चार

जसले विश्वास घात गर्छ उसैको मन पोल्ने गर्छ।
एउटा झुट ढाक्नको लागी हजार झुट बोल्ने गर्छ।
दुनियाँलाई ढाँटेपनि सक्दैन ढाँट्न आफ्नो मनलाई
भित्र गुम्सिएको पापको पोको मर्नेबेला खोल्ने गर्छ।

मुक्तक – पाँच

चोखो मायाको खातिर हाँसेर माइती घर छोडेको थिएँ।
तिम्रै लागि वृद्ध मेरा बाबा आमाको दिल तोडेको थिएँ।
हेर्दै जाउ तिमीले जस्तै मैले गरे के हुन्छ हाम्रो सम्बन्धमा
सुरूवात तिमीले नै गरैका हौ मैले त हात जोडेको थिएँ

प्रतिक्रिया

सम्बन्धित खवर