✍️ गोपाल पुन

 

मुक्तक – एक

अर्को पृष्ठमा जिन्दगीको अध्याय के होला
सोच्छु आफू अनुकूल पार्ने उपाय के होला
व्यवस्था र अवस्था दुवैले परदेश जा भन्छ,
बुझ्न मन थियो साथी तिम्रो, राय के होला ।

मुक्तक – दुई

आफ्नै जिम्मा परे, जिम्मेवारीको घनत्व बुझ्नेछौ
डगमगाउलान् पाउ, अनि पतिको धीरत्व बुझ्नेछौ
बाँचुन्जेल मलाई बुझेनौ, न बुझ्यौ मैले गर्ने प्रेम,
म मर्नेछु जुनदिन, त्यो दिन मेरो महत्त्व बुझ्नेछौ ।

मुक्तक – तीन

तिमी हाँसो खुसी मै जीवन बिताउनु, पिर नलिनु
मनमा अर्को प्रेमको फूल फुलाउनु, पिर नलिनु
तिमीलाई मुटुमा राखेको यो ज्यान नै नरहे प्रिया,
आजाद भएँ सोच्नु र मुस्कुराउनु, पिर नलिनु ।

मुक्तक – चार

कलिला यी काँधमा बसी, जिन्दगीको सवाल मुस्कुराउँछ
कीट झैँ बालापन भयो, रत माकुराको जाल मुस्कुराउँछ
शिक्षाको ज्योति भेट्न, ज्यान धितो राख्नुपर्छ तुइनमा,
वारी बसे जिन्दगी अँध्यारो, पारी जाऊँ काल मुस्कुराउँछ ।

मुक्तक – पाँच

चट्टान झैँ सख्त हिया बनाई फूल झैँ फक्रिनु पर्ने रैछ
जिम्मेवारीको जाँतोले मनका रहरहरू पिल्सिनु पर्ने रैछ
छोरा बन्न जति कहाँ सजिलो हुँदोरहेछ बुवा बन्नलाई
आकाश झैँ फैलिनु पर्दो रैछ धर्ती झैँ कुल्चिनु पर्ने रैछ !

प्रतिक्रिया

सम्बन्धित खवर