
✍️ खिम केसी
आऊ एकछिन बिसाऊ त्यो भारी
वरपिपलको छहारीमा बसेर
सुकाउ पसिना,ओभानो हुन देउँ
फुकाउ मिलेर सँगसँगै केही थान
सुखदुःखका पोकाहरू
भोलि भेट होला नहोला
रहला नरहला यो पल
तिमीसँग मेरो लागि,मसँग तिम्रो लागि
जिन्दगीको भरोसा नै के छ र !
छोडिदेऊ केही क्षण
छोटो जिन्दगीमा लामो सुस्केराहरू
जीवन त कैद छदैछ नि
संघर्षको कारागारमा
दुःखका भोटे ताल्चाहरूसँगै,
कर्मका फलामे ढोकाहरूभित्र ।
तारिखमा छुटेका यी मनहरूलाई
निःशुल्क खुसीका पंख फिजाई
खुला आकाशमा रम्न देऊ स्वतन्त्र भएर
पुग्न देउ गाउँ गाउँका कुना कन्दरा
हरियाली नियाल्दै,पहाड उक्लदै
केही पल भए पनि फेर्न देऊ
रमाउँदै आनन्दको ताजा श्वासप्रश्वास !
फेरि,
फर्कनु त छदैछ त्यहीँ शहरमा
जहाँ रुख छैन छहारी दिने
जहाँ,
श्वास फेर्न शुल्क तिर्नुपर्छ
श्वास रोके शुल्क तिर्नुपर्छ।।।
प्रतिक्रिया
-
४