✍️निरा शर्मा

अँध्यारो सुरुङबाट
साल नालसहित सुरु भएको यात्रा आलो रगतमा लतपतिँदै
आमाको थोत्रो फरियासम्म आइपुगेपछि
रगतकै रँगले रंगिएको हो
जीन्दगीको सफेद क्यानभास ।

संसारको कोलाहल चिर्दै
च्याँठ्ठिँदो तीखो रोदनसँगै
जोड जोडले चल्मलाउन थालेपछि हात पाउ
सुख दुख मिस्रित
अनेकन् रँगहरुले भरिएको हो
जिन्दगीको कलिलो क्यानभास ।

आफन्तीहरूलाई ठेल्दै–धकेल्दै
आफूलाई आफैँले लतार्दै÷घिसार्दै
महसुस हुन थालेपछि वेदनाका चूडान्त अनुभूतिहरू
आँखाको भवसागरमा डुबेको हो
जीन्दगीको कठोर क्यानभास

यौवनका आवेगहरूमा लपेट्दै/लपेटिँदै
घरि उम्लिँदै, घरि पोखिँदै
सम्हाल्न नसकेर आफैँलाई
छरपस्ट भएपछि कामाग्नीका बाछिटाहरू
रज–वीर्यका थोपा थोपामा लत्पतिन थालेको हो
जिन्दगीको धमिलो क्यानभास

समयका विक्षिप्त पाटाहरूलाई उधिन्दै-पुर्दै
सम्बन्धहरूले दिलाएका सन्निपातहरूलाई सम्हाल्दा सम्हाल्दै
जब निस्सार लाग्न थाल्यो सिंगो संसार
दुःखका अभेद्य रङ्हरूले ढाकिएको हो
जिन्दगीको विद्रूप क्यानभास ।

हो, यसरी नै निरन्तर
बन्छन्, सजिन्छन् र बिलाउँछन्
जिन्दगीका हरेक क्यानभासहरू
जहाँ निरन्तर वर्षिरहन्छन्
दुःखका अनेक रङ्गहरु १

प्रतिक्रिया

सम्बन्धित खवर