
✍️ खगेन्द्र गिरी कोपिला
मुक्तक – एक
सपना हेरेर त्यसैत्यसै आकाशिए पनि।
कल्पनाको बिसौनीनिर कतै उभिए पनि।
चलिरहनु पर्छ जीवनको अविरल यात्रा।
कहिलेकाही बाटो र मन बिथोलिए पनि।
मुक्तक – दुई
आफैआफै जोडिदारहेछन् यहाँ सम्बन्धहरू !
आफैआफै मोडिदारहेछन् यहाँ सम्बन्धहरू !
हरेक कुराको निश्चित आयु हुने भएर होला !
आफैआफै तोडिदारहेछन् यहाँ सम्बन्धहरू !
मुक्तक – तीन
बिनाअक्षरको सिर्जना बनेर हराउने छु।
केवल एउटा घटना बनेर हराउने छु।
जसरी हराएर गए यहाँका मान्छेहरू।
म पनि एकदिन सम्झना बनेर हराउने छु।
मुक्तक – चार
मनोभावनाको प्रस्तुति हुन्छ नबोलेर पनि।
पूजा,आराधना र स्तुति हुन्छ नबोलेर पनि।
स्वरभन्दा धेरै बलियो मौनता पो हुँदोरहेछ।
अनेक कुराको अनुभूति हुन्छ नबोलेर पनि।
मुक्तक – पाँच
प्रेम यज्ञ हो यसले भावनाको प्रस्तुति माग्छ।
मनको उत्सर्ग माग्छ जीवनको विभूति माग्छ।
प्रेम माग्नेसित प्रेमको यज्ञवेदीमा प्रेमयज्ञले।
उसकै समीधा माग्छ उसैको आहुति माग्छ।
प्रतिक्रिया
-
४