
✍️ रोजिना पराजुली
गजल – एक
झस्किएर दुख्छ छाती सधैँभरि रातिराति
बाँधिएन हजुरको याद कसैगरि रातिराति
थकाईले छट्पटिदै एैया भनेजस्तो लाग्छ
नरोईस्यो है ए परदेशी म जसरि रातिराति
अरुबाट सान्त्वनाको आशा राख्नु हुन्न प्यारा
आफ्नै भाग्य जिस्काउँछ आँखा तरी रातिराति
यता हेर्छु,उता हेर्छु बितिजान्छन् दिनहरु
रोकिदैन आँखाबाट बग्छ झरी रातिराति ।
गजल – दुई
मेरो पुरानो घाँगरको बटन कसरी हराएछ
आँखै अगाडि मबाट बच्पन कसरी हराएछ
रातको सपनामा त आँखाभरी देश थियो
ब्यूँझी हेर्दा घरको आँगन कसरी हराएछ
बरु जङ्गलमा जनावरहरू मिलेर बसेका छन्
मान्छे मान्छेमा आफ्नोपन कसरी हराएछ
हिजोसम्म मन्दिरमा राम नाम गुन्जेको थ्यो
आज बिहानै घण्टी भजन कसरी हराएछ
प्रतिक्रिया
-
४
-
१०