✍️ टीकाराम रेग्मी

वैवाहिक कार्यक्रम चल्दै थियो । केही जन्ती कतै बाहिर भए पनि धेरै वैवाहिक मण्डप वरिवरि गफगाफमा व्यस्त थिए । रवि आफन्तकी छोरीको विवाहमा निम्तालु थियो । नयाँ ठाउँमा भएकाले तिनीहरूसँगै सोधखोज, चिनजान गर्दै व्यस्त थियो । अचानक जन्तीमध्येको एक नजिकै आई उभियो । कुराकानी गर्दागर्दै उसका आँखा रविका आँखासँग ठोक्किए । उसले निध्याएर हे-यो ।
‘हजूरलाई त कतै देखेजस्तो, चिनेजस्तो पो लाग्यो । हजूर रवि सर होइन ?’ रविलाई एक टकले हेर्दै उसले भन्यो ।
‘हुन त म पनि रवि नै हुँ । तर रवि त धेरै होलान् !’

‘हुन त हो, तर हजूरले त मलाई पढाउनु भएजस्तो लाग्छ । सर, नमस्कार । कस्तो झुक्किएको म पनि ! सर अहिले कहाँ हुनुहुन्छ नि?’
‘अहिले त बुटबलतिरै छु ।’

‘मलाई ठम्याउन गाह्रो प-यो है ? तपाईंले म कक्षा चार र पाँचमा हुँदा पढाउनु भएको थियो । अब चिन्नुभयो त सर मलाई ? म वसन्त भुसाल हुँ ।’
‘ए, वसन्त भुसाल ? नारायण भुसालको भाइ ?’ रविले चिनेको प्रमाण दियो ।

‘सर त अहिलेसम्म पनि उस्तै । धेरै वर्षपछि भेटेकाले, अनुहार देख्दा उस्तै लाग्यो तर अप्रत्यासित भएर पहिले त मैले पनि भनिहाल्न नसकेको ।’
‘त्यस्तै हुन्छ । कहाँ थियौ त यतिका वर्षसम्म ?’ प्रश्नसँगै उसको मानस्पटलमा ती दिनका केही दृश्य घुमे । भर्खरभर्खर प्रवेशिका परीक्षा उत्तीर्ण गरी अध्यापन पेसामा लागेको रवि दशबाह्र वर्षको उमेरका यी केटाकेटीहरूको तस्बिर झलक्क कोरियो । ‘कस्ता थिए है, ती दिन ?’ मन बोल्यो ।
‘म केही वर्ष कतारतिर बसें । त्यसपछिका केही वर्ष कोरियातिर गएँ । अहिले भने नारायणगढमा बस्छु । सर, तपाईंले यो भाइलाई पनि चिन्नुहोला ।’ त्यहीँ उभिएर हाम्रा कुरा सुनिरहेको अर्को ठिटोतिर देखाउँदै उसले भन्यो ।

‘कसरी चिनूँ र ? को हुनुहुन्छ उहाँ ?’
‘मेरै कक्षामा पढ्ने रचना थिइन् नि ।’
‘ए ए ।’ उसले सम्झे झैं भन्यो ।
उसले रचनाको नाम लिनासाथ रविको मस्तिष्कमा रचनाको तस्बिर घुम्न थाल्यो – बाटुलो मुहार, गहुँगोरो वर्ण, औसत उचाइ, शान्त तथा गम्भीर स्वभाव, सफाइमा सचेत, आज्ञाकारी, पढाइमा औसत तीक्ष्ण हुदै गएकी, आफैँबाट पुरस्कृत । कहिल्यै बिर्सन नसकिनेगरी हृदयमा बसेकी छात्रा ।
‘ए ए । मलाई सम्झना आयो ।’ सोच्दासोच्दै झस्याङ्ग भएझैं उसले भन्यो ।

‘हो सर । यी भाइ तिनै रचना दिदीको छोरा हुन् ।’ रचनाको छोरो भनेपछि आफ्नो अनुहार उज्यालिएको अनुभव ग¥यो उसैले ।
‘सर काफ्ले हुनुहुन्छ र ?’ उही बीसबाइसको देखिने ठिटोले सोध्यो ।

‘हो, म रवि काफ्ले ।’ मुखले यत्ति मात्र बोले पनि उसको मन भने रचनासँग जोडिएका धेरै प्रसङ्गहरूमा केन्द्रित भइसकेका थिए । उसको विद्यालय गतिविधि, पढाइमा आउँदैगरेको तीक्ष्णता, उसका बाबुआमासँगको सम्बन्ध, उनीहरूले गर्ने मायालु सम्मान’ आदि हुँदै उसको मन वर्तमानतिर फर्की आफैँलाई सोध्न लाग्यो ‘कहाँ पुगेकी थिई होली ? कसरी बितेहोलान् उसका दिन ? कहाँ बस्छन् होला अहिले ?’
‘सर, आमाले हजूरलाई अझै पनि सम्झिरहनु हुन्छ । केही दिन पहिले पनि तपाईंलाई देख्न पाए हुन्थ्यो । यताउता डुलिराख्छौ, कतै खबर पाएछौ भने घर बोलाऊ है भन्नुहुन्थ्यो ।’ ठिटोले भन्यो ।

आफूले मात्र यदाकदा सम्झेको ठान्ने गरेको रविलाई रचनाले पनि सम्झने गर्छिन् भनेको सुन्दा हृदय भरिएर आयो । अहिले तुरुन्तै भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो । उसको मस्तिष्क रचनामै केन्द्रित भयो ।
‘कहाँ बस्छौ त, बाबु ?’ रविले सोध्यो ।
‘हामी पनि त बुटबल नै बस्छौं, सर ।’
‘ए, ए, कोको छौ ? के गर्छौ ?’
‘हामी दुई भाइ हौं । दाइ बाहिर हुनुहुन्छ । भाउजु, एक छोरी, आमा र म मात्र छौं घरमा । म त पढ्दैछु ।’
‘अनि बुवा नि? रविले असजिलो मान्दै सोध्यो ।
‘बुवालाई त मैले देख्नै पाइनँ । म जन्मेकै थिइनँ अरे उहाँ बित्नुहुँदा ।’

यो कुरा सुनेपछि त रविलाई रचनाप्रति झन्झन् माया जागेर आयो । ‘कसरी गरिहोली यी बच्चाको लालनपालन् ? कति दुःख पाइहोली ?’ तर भन्यो, ‘ओहो, कस्तो दुःखद कुरा सुन्नु प-यो ।’ उसको मन भने रचनामै केन्द्रित भइरह्यो । उसले अड्कल ग¥यो – ऊ अहिले पचासवरिपरि पुगिहोली । यो बाबु नै बीसबाइसको भयो होला । त्यो जबान उमेरमा लोग्ने गुमाएर यी टुहुरा छोराहरू हुर्काउनु, चानचुन कुरा थिएन !
‘सर मलाई तपाईंको नम्बर दिनोस् न । मौका मिल्दा कल गर्छु ।’
‘बाबुको नाम नि ?’ उसले सोध्यो ।
‘प्रकाश पाण्डे ।’
. … …
‘सर, मेरो त टाउको दुख्यो’ भन्दै रचना डेस्कमा टाउको अड्याएर बसी । कक्षा चार र पिरियड दोस्रो थियो । एकै छिनपछि उसले भनी, ‘सर, म घर गएर सुत्छु ।’ शिक्षकहरूले घर पठाइदिए । तर ऊ भोलिपल्ट पनि आइन । रविलाई ‘उसलाई के भएछ’ भन्ने खुल्दुली लागिरह्यो । रचनाकी बहिनीलाई सोध्यो, ‘दिदी त सुतिराकी छ ।’ उसले भनी ।

‘रचना, कस्तो भयो तिमीलाई ? स्कूल आउन सकिनौ ?’ रविले बेलुकापख उसकै घरमा गई सोध्यो ।
‘आज त, धेरै हल्का भएको छ । भोलि त आउन सक्छु होला सर ।’
‘अहिले त धेरै नै ठीक भएको छ, मास्साव ।’ रचनाकी आमाले भनिन् ।
‘अङ्कल कता लाग्नु भयो त, देखिनँ ?’ रविले सोध्यो ।
‘यतै हुनुहुन्थ्यो, अहिले पो कता लाग्नु भएछ ।’ उनले भनिन् ।
… … …
खोइ के भयो रचनालाई, उसको बानी व्यहोरामा केही परिवर्तन देखिन थाल्यो । उसले कुनै कुरा सोध्नु परे रविलाई सोध्ने, कक्षामा सधै चासो दिएर जबाफ दिने, केही नबुझे सोधिहाल्ने, लागेको कुरा भन्ने, पहिलेभन्दा अलिक फुर्तिली देखिने, हरेक कुरालाई सकारात्मक दृष्टिले लिने गर्न थाली ।
‘हिजोआज रचनाको व्यवहारमा त निकै परिवर्तन देख्छु । मलाई मात्र हो कि तपाईंहरूलाई पनि यस्तै लाग्छ ?’ एकदिनको मध्यान्तरमा शिवले कुरा झिक्यो ।

‘मलाई पनि यस्तै लाग्छ । त्यो टाउको दुख्यो भनी घर गएको समय थियो नि, त्यसपछि विद्यालय आएपछि नै उसको व्यवहारमा परिवर्तन आउन थालेको अनुभव गरेको छु मैले पनि । मेहनती पनि भएकी छ । पढाइमा बढी चासो दिन थालेकी छ ।’ प्रकाश बोल्यो । ‘अरूभन्दा पनि रवि सरलाई हेर्ने उसको दृष्टि त आमूल परिवर्तन पो भएजस्तो लाग्छ । तपाईंलाई पनि यस्तो लाग्छ कि लाग्दैन रवि सर?’
‘कारण चाहिँ थाहा भएन । उसको आनीबानीमा परिवर्तन आएकै जस्तो लाग्छ मलाई पनि ।’ रविले भन्यो ।
एकदिन रवि बिहान धारामा नुहाएर गाग्रीमा पानी लिई घर आएको मात्र थियो, आमाले बोलाउनु भयो, ‘बाबु, मलाई त के भयो, के भयो । ज्यान लगलगी काम्न थाल्यो ।’

‘हँ ? के भयो होला त?’ उसले सोच्यो, ‘केही दिन पहिले पनि आमाले यस्तै भयो भन्नुहुँदा झारफुक गरेर सञ्चो भयो भन्नुहुन्थ्यो । केही न केही त समस्या छ ।’

‘आमा, लुगा फेर्नोस् त । डाक्टरकहाँ जाऔँ ।’ आमाले झारफुक गरे निको होला नि भन्दाभन्दै पनि उसको आग्रहमा अस्पताल गए । त्यो दिन ऊ स्कूल जान पाएन । अर्को दिन ऊ पुग्नासाथ रचना दौडदै आएर सोधी ‘सर, हिजो किन नआउनु भाको ?’
‘मलाई पनि घरै बसेर आराम गर्न मन लाग्यो ।’ रविले मुस्काउँदै भन्यो ।

‘अँ सर पनि ! हजूर पनि त्यसरी घर बस्न सक्नु हुन्छ ? कल्ले पत्याउँछ ?’ उसले मुस्काउँदै ठट्यौलो मिजासमा भनी । रवि भने ‘होइन यी केटीहरूलाई साना छन् भन्नै नपर्ने । मुस्किलले बाह्र वर्षकी होली तर कसरी बुझेकी म घर बस्न सक्तिनँ भन्ने कुरा ?’ सोच्दै थियो ।
रवि सकभर विदा नलिई नियमित स्कूल जाने, समय भए वा मिलाएर स्कूलमा पनि पढ्ने, अन्य कामभन्दा आफ्ना विद्यार्थीलाई कसरी सीपालु बनाउने भन्ने चिन्तालाई व्यवहारमा उतार्ने कोसिसबाहेक अन्यत्र खासै चासो दिँदैनथ्यो ।

रचनाको शैक्षिक स्तर गुणात्मक ढङ्गले बढ्न थाल्यो । त्यसै वर्षको वार्षिक परीक्षामा धेरै विद्यार्थीलाई पछि पार्दै कक्षामा द्वितीय स्थान प्राप्त गरी । त्यसले त झन् शिक्षकहरूका बीच उसको नियमित चर्चा हुनथाल्यो । उसको व्यवहार झन्झन् परिष्कृत हुँदै गयो ।
… … …
‘यही हो सर । हाम्रो घर ।’ प्रकाशले बाइक रोक्दै भन्यो । होचो साँगुरो फलामे बाह्य ढोका खोली प्रकाश भित्र छि¥यो । रविले पच्छ्यायो । साँगुरो आँगनमा पुगेपछि प्रकाशले आमालाई बोलाउँदै भन्यो, ‘ममी, म आएँ ।’ उसको आवाज आउनासाथै भित्रबाट महिला आवाज आयो, ‘के भो त ? भित्र आइज ।’

उनीहरू भित्रै प्रवेश गरे । सुरुमै बैठक कोठा रहेछ । कोठामा सोफा राखिएको, भित्तामा प्राकृतिक दृश्यका पोस्टरहरू टाँसिएको, कोठाको बीचमा रहेको सानो टेबलमाथि रहेको सुन्दर जारमा प्लास्टिकको फूलको गुच्छा, एकै झल्कोमा सुन्दर देखिन्थ्यो कोठा । प्रकाशले भने भित्र हेर्दै भन्यो, ‘ममी, हेर्नोस् न को आउनु भा’छ ?’ भन्दै रविसँगै बस्दा ‘कस्ती भएकी होली ? प्रकाशले आफैँलाई सोध्दै थियो ।
‘नमस्कार ।’ उसका आँखा अगाडि विधवा पोशाकमा रहेकी महिला उभिई । श्यामश्वेत वर्णको गम्भीर अनुहार । निराश आँखा । उनका हात जोडिएकै थिए ।

प्रकाश हात उठाउँदै बोल्यो, ‘नमस्कार ।’
‘मलाई त चिन्न गाह्रो भयो ।’ उसले भनी ।
‘अन्त कहीँ भेटेको भए मैले पनि कहाँ चिन्न सक्थें होला र ?’
‘चिन्नुभएन ममी ? रवि सर ।’ प्रकाश बोल्यो ।
यतिका वर्षपछि भेट भएको आफ्नो शिक्षकलाई भेट्दा कसरी बोल्छ होला विद्यार्थी ? तर रचनामा त्यो सामान्यपन देखिएन । उनी एकाएक अर्कोतिर फर्किन् । छोटो तर महसुस हुने समयको मौनतापछि आफूलाई सम्हाल्दै पुनः रवितिर फर्केर आँखा नजुधाइकन भनी, ’ओ हो, कति वर्षपछि भेट भयो । सञ्चै हुनुहुन्छ, सर ?’ सामान्य वाक्यलाई असामान्य स्वरमा प्रकट भई ऊ ।
‘एकदिन सरलाई लिई आउँछु भनेकै थिएँ नि । आज त्यतै जानु पर्ने थियो, मौका प¥यो । मलाई एक छिन् बाहिर जानै पर्ने भयो, बस्दै गर्नोस् है, सर ।’ हातको घडी हेर्दै हतार स्वरमा भन्दै प्रकाश बाहिरियो ।

‘केही खाएर जा, भोक लाग्दैन ?’ उनले भनिन् तर उनको कुरालाई बाइकको स्टार्ट गर्दाको आवाजले नसुनेर हो कि, पछि नफर्की गयो प्रकाश ।
‘कहाँ थियौ त यतिका वर्ष ? काहीँ न काहीँ त भेट होला भन्ने सोच्दै थिएँ ।’ रविले मनमनै भन्यो तर मुखले चाहिँ भन्यो, ‘तिमी सञ्चै छौ ?’
‘खोइ, सञ्चै त भन्ने होला ।’ यसको भन्दै गर्दा उसको मन भने विगततिर पुगिसकेको थियो । ‘त्यो बेलाको बोली त फेरिएकै रहेनछ ।’ उसले पुलुक्क हेरी ।
‘कहाँ थियौ यतिका वर्ष ?’ रविले सोध्यो ।
‘खोइ, कता कता, मुँग्लानहुँदै यहाँ आइयो ।’ निनाउरो स्वरमा भनी ।
रचनाको बोली भुइँमा खस्न सायद पाएको थिएन, भर्खरकी महिला स्कूले झोला बोकी भित्र पस्दै भनिन्, ‘नमस्कार ।’
‘नमस्कार’ भन्दै रविले उनलाई हेर्दै भन्यो, ‘अनि उनी बुहारी कि?’
‘मैले त चिनेकै छैन, कसरी चिन्नु भो मलाई ?’ ती महिला बोलिन् ।
‘मलाई प्रकाशले भनेका थिए ।’
‘ए ए । उहाँसँग भेट भइसकेको थियो ? मैले पनि चिनूँ न ।’
‘रचना मेरी चेली,’ भन्न मन थियो तर ऊ बोलेन बरु रचनातिर हे¥यो ।
‘उहाँ मेरो गुरु हुनुहुन्छ । हामी धेरै वर्षपछि भेट भएका, आज ।’ रचनाले रविलाई चिनाइन् । ‘यी मेरी जेठी बुहारी हुन्, सर ।’ रवितिर फर्केर उनले भनिन् र बुहारीतिर फर्केर सोधिन््, ‘नातिनी खोइ त?’
‘पल्लो घर कोपिलासँग खेल्न थाली । आउली नि ।’ बुहारीचाहिँले भनी ।
अहिले सामान्य कुराकानी चल्दैथियो बुहारी भित्र पसिन् र तुरुन्तै बाहिरिँदै सोधिन्, ‘सर, हजूरलाई चियामा चिनी हुन्छ कि ?’
‘हिजोआज चियाको पारखी छैन तैपनि चिनी नभए उत्तम ।’ रवि बोल्यो ।
कुराकानीको क्रममा रविले रचनाको अनुहार राम्ररी चियाउँन खोज्यो तर ऊ झल्याकझुलुक मात्र देखिई अनुहार तर्काउन नै रुचाएजस्तो गरीे । उसले मनमनै हिसाब ग-यो ‘रचनालाई नदेखेकै अठार बीस वर्ष भयो होला । यो समयमा यसको स्वभाव नै बदलियो होला कि आज मात्र होला ?’
… … …
‘कहाँ थियौ रचना यतिका वर्ष, प्रष्टै भन न ?’ रविले मुख खोल्यो ।
‘खोइ सर, हुरीले जताजता लग्यो उतै हराएजस्तो भयो । धेरै वर्ष त असमको सिलोङमा बिते । पछिल्ला केही वर्ष गुवाहाटीतिर स¥यौं । दिन छँदासम्म त जहाँ पनि टिकिँदोरैछ अबका दिन भने आफन्त पनि चाहिन्छन् भन्ने लाग्यो । यहाँ आएको पनि दुई वर्ष भयो । तर पनि बल्ल भेट भयो ।’ उसले पुलुक्क रविको अनुहारमा हेर्दै बोली । मुखबाट कुनै अतिरिक्त आवाज नआए पनि उसको वाक्यको अन्त्यमा खुइ®य आएजस्तो लाग्थ्यो ।
रविले क्वाक्र्वार्ति उसको मुखमा हे¥यो तर रचानाले भने आँखा हटाईरही उसको नजरबाट । आँखाका कोशहरूमा त चाउरी हुने नै भए, गाला र निधारसमेत बाँकी रहेनछन् । यो देखेपछि उसले अड्कल ग¥यो, ‘रचनाको जिन्दगीले साच्चै नै दुःखका भारी खेपेछ ।’
उनीहरू चिया पिउँदै थिए नातिनी आइपुगी । रविको मनमा भने रचनासँका आरोही अवरोही विगत सल्बलाइरहे ।
… … …
‘सर, म त पटक्कै रमाउन सकिनँ यो स्कूलमा । तपाईंहरूसँग रमाइरहेकी म त्यस स्कूलमा गएपछि त सबै बिरानाजस्ता लाग्छन् । केही नबुµदा सोध्न पनि सक्तिनँ । सोधिहाले पनि समाधान पाउँदिनँ ।’ कक्षा पाँचमा प्रथमस्थान प्राप्त गरी नजिकैको माध्यमिक विद्यालय गएकी रचनाले कतै भेटिहाले रविसँग यस्तै गुनासो गर्थी । उसले बिस्तारै बानी पर्छ भन्दै सम्झाउँथ्यो । कुनै कुरा नबुµदा बहिनीसँग प्रश्न लेखी पठाउँने गरी । रविले बिस्तारमा बुझिनेगरी लेखी पठाउँथ्यो । यसो गर्दै एकवर्ष बिते । वार्षिक परीक्षामा कृपाङ्कमा उत्तीर्ण भइछ । बाटोमा यदाकदा देखिँदा रवि प्राय साइकलमा हुनेगथ्र्यो । ऊ भने क्रस गरेको केही बेरसम्म उसलाई हेर्दै उभिन्थी र बाटो लाग्थी ।

एउटै गाउँका बासिन्दा भए पनि ओल्टोकोल्टो पर्ने भएकोले भेटघाट पातलो हुने गथ्र्यो । कक्षा आठ उत्तीर्ण गरेपछि ऊ विद्यालय जान छाडी भन्ने सुन्यो रविले । एउटी तीक्ष्ण छात्राको पढाइ छुटेकोमा नरमाइलो मान्दै एक दिन उसको घरमा पस्यो, ऊ ।
‘रचनाको पढाइ राम्रो थियो । किन छुटाउनु भयो ?’ रविले सोध्यो ।

‘क्यार्ने मास्साप, उसलाई मात्र पढार’नि भएन । योबाहेक पाँच बहिनी छन्, एउटा भाइ पनि जन्मेको छ । उसलाई यसो घरमा हेर्दिई भने आमाले खेतीपातीमा सघाउली । यी केटा’टी पनि पाल्नु प¥यो । भगवानले दिए’सि माया मार्न पनि भएन । क्यार्नुन्च ?’ उसका बाबुले दुखेसो पोखे ।
‘मैले त जति दुःख खपेर पनि नछुटाऊँ भनेकै थियाँ, तँलाई दुःख भयो भन्नों । के गरम् मास्साप । पढाइ भन्यो कुरा हामीजस्तालाई होइन्च ।’ उसकी आमाले भनिन् । रविले भन्न पो के सक्थयो र ? ‘हो त नि !’ भन्यो, रचनाको मलिनो अनुहार हे¥यो र बाटो लाग्यो ।
… … …
दिनबित्दै गए । पुषमाघताका राष्ट्रिय निकुञ्जमा खरखडइका लागि एक महिने पुर्जी खुल्थ्यो । त्यो समय कम्तीमा पन्द्र दिनका लागि विद्यालयहरू विदा गरिन्थे । घरखडइ काट्ने माचो थियो । टाढाका बासिन्दाहरूले नारायणीको तिरमा खरका मुठा जोडेर भित्तो र तिनैको छानो बनाई न्यानो हुनेगरी अस्थायी बास बनाउँथे । साँझपख खरखडाइ काटी थकित एवं भोका मानिसहरूका लागि होटल व्यवसाय गने बानी परेकाहरू विभिन्न खाले खाजा होटल चलाउन आउँथे । एकदिन रवि कता गएको थियो साँझपख फर्की आउँदा आमालाई एउटी केटीले डो¥याउँदै लिई आएको देख्यो । नजिकै गएपछि चिन्यो, उही रचनाले आमालाई डो¥याउँदै आएकी रहिछ । ‘के भयो आमा तपाईंलाई?’ रविले हत्तपत्त सोध्यो । आमा भने राम्ररी बोल्न पनि सकिनन् । पिँढीमा ओच्छ्याएको गुन्द्रीमा पल्टिन् । आमालाई के भएको थियो भन्नुभन्दा पनि आमालाई भित्रको न्यानोमा लगी रचनाले, उसले सघायो ।
‘आमा, डुङ्गाबाट भारी झार्दा बगरमा ढुङ्गा चिप्लिएर लोट्नु भयो । मैले आमालाई उठाएर डो-याउँदै आएँ । अरूले पानीमा खसेको खरको भारी डीलतिर तान्दैथिए ।’ यो सुनेपछि उसले आमालाई सोध्यो, ‘आमा, कतै चोटपटक पो लागेको छ कि ?’

‘सबै ज्यान दुखेको छ, भनन रिङ्गाएको छ । पेट पोलेको छ । चोट त छैन कि !’ आमाले सकीनसकी भनिन् । सानैदेखि पेटकी रोगी, बाबुआमा दुवै भएर पनि टुहुराजस्ता भएका नाबालक छोराछोरी पाखुराको भरमा हुर्काउँनुको व्यथाले थिलोथिलो भएकी आमालाई सानो समस्याबाट उम्कनसमेत निकै समय लाग्ने गथ्र्यो । रचनाले कतिबेला भान्सामा पसेर पानीमा च्युरा भिजाएर अलिकति गुण राखी ल्याएर दिई ।
‘किन रचना, मैले बनाइदिन्थें नि ।’ रविले भन्यो ।

‘के भयो र ? आमा भोकाउनु भयो । हजूर आमासँग कुरा गर्दै हुनुहुन्थ्यो ।’ उसले मायालु स्वरमा भनी ।
रविले पुलुक्क हे-यो मात्रै । प्रकट रूपमा केही नभने पनि मन भने बोलिरह्यो, ‘कति मायालु छ, यो नानी ! घरमा यत्तिकै सहयोगी भए पनि केही हल्का हुन्थ्यो ।’

‘सर अब म जान्छु है ।’ माघ महिनाको गोधुली झम्के साँझमा फेरिँदै अँध्यारो हुन खोजेको थियो । उसले ‘जाऊ’ भन्नुको बिकल्प थिएन । ऊ आँगनको डील कट्दासम्म पछि फर्केर हेर्दै गई । उसले परसम्म हेरिरह्यो ।
… … …
‘सर, ममीको दुःखको कुरा नगर्नोस् । मलाई त के थाहा भयो र आमाबाट अलिकति र इष्टमित्रहरूबाट धेरै कुरा थाहा पाएँ । हिजोआज त कहाली लाग्छ ।’ प्रकाशले रोकिइरोकिई भन्न लाग्यो, ‘हामी दुई बालक छोरा, बाबाको जागिरको भरमा बस्ने गरेका, बाबा नै नभएपछि, बाबाले तिर्नुपर्ने भनी आउने मानिसले केही भएको पनि उठाइ लगिदिँदा के भयो होला ?’ आफन्त जस्तो भइसकेको प्रकाशलाई रविले एकदिन आँटै गरेर सोधेको थियो उसको बाल्यकालका बारेमा ।

हेर्दा त प्रकाश क्याम्पस पढ्दै गरेको अल्लारे ठिटो देखिन्थ्यो तर उसको व्यावहारिकता देखी रवि आश्चर्यमा प¥यो । ‘सर, आज त म बस्न सक्तिनँ अब । मेरो समय भयो ।’ उसले भन्यो ।
‘के काम गर्छौ र प्रकाश ?’

‘सरलाई किन झुटो बोलूँ, म यहाँ आएदेखि नै दूध बोक्ने गर्छु । पचासजति ग्राहक छन् । तिनलाई बिहानैबेलुका समयमै पु¥याइदिनु पर्छ । यी अहिले दुई बजिसक्यो । अब जानै पर्छ ।’ उसको कुरा सुन्दै रवि टोलाइरहेको थियो ।

केही दिनपछि गुवाहाटीमा बसी आएको एक मानिससँग रविको कुराकानी हुँदै थियो । उनीहरू पनि पहिले सिलङमा गाई पालन गरी बसेका र पछि गुवाहाटी आई व्यापार गरी बसेका रहेछन् । कुरैकुरामा प्रकाश वा रचनाको छिमेकी नै भई बसेको कुरा गरे उनले ।
‘विचराहरूको कुरा नगरौं, सर । ठाकुरको जागिर राम्रो थियो । एकाउन्टेनजस्तो मान्छे, कम्पनी पनि राम्रो, तलब पनि राम्रो, जागिरको मात्र भरमा बस्नु पनि नपर्ने, अरू प्राइभेट व्यापारीले पनि एक छिन् हिसाब हेरिदिएवापत राम्रो पारिश्रमिक दिन्थे । तर दुःखको कुरा उसको पियक्कड बानीले गर्दा रचनाले कुकुरले नपाउने दुःख पाइन् ।’ उसले भन्दै थियो । रवि भने उसका दुःख आफैँले पाएजस्तै महसुस गर्दैथियो ।
‘ओ हो, यो कुरा त मैले बल्ल पो सुनें ।’ रविले आश्चर्य मान्यो ।

‘पियक्कड त अरू पनि हुन्छन्, ऊ त राति अबेला घर आउने, किन हो भनी सोध्ने नै भइन्, अनि त उसैलाई पिटेर धुलो पाथ्र्यो । जिउँदै हुँदा त दुःख पाइन् पाइन् मरेपछि झन् दुःख पाइन् । सडकमा बेवारिसे लासझै भेटियो । कसैको आक्रमण थियो कि ! पुलिस केस त भयो, तर कसले गरोस् र उसको खोजी, त्यो पराइ मूलुकमा ! त्यसपछि झन् बेहाल भयो, मेरो यति छ भन्दै एउटा आयो, अर्को त्यसै भन्दै आयो । अलिकति फण्डमा जम्मा भएको र कम्पनीले दिएको सारा पैसाले तिर्न पनि पुगेन, ‘छोडिदिएँ’ भन्दै गए कति त । ऊ गर्भवती थिई । सुत्केरी भई कुनोबाट उम्कन पनि उसलाई धौ धौ भयो । एक महिनाको छोरो बोकी अर्काका भाँडा माजेर, लुगा धोएर, घर पुछेर गुजारा गरिन् । धन्न छोराहरू सज्जन भए, दुःखसुख पढे र अहिले यहाँ टेकेका छन् ।’ उसले भन्यो ।

यो सुनेपछि रविको मन विरक्तियो, तर के भनोस्, ‘विचरा, मान्छेलाई कति दुःख पर्न सक्छ है ?’ भन्यो । यो कथाले त उसको विगत झन्झन् गाढा भएर आयो । ऊ पुनः बिगततिरै फक्र्यो ।
… … …
‘मास्साप, अब त तपाईंले विवाह गर्नैपर्छ । कसरी चल्छ यो घर ? भ्याउनुहुन्छ ?’ शुभचिन्तकहरूले त सामान्यतया भन्थे तर उसले भने अलिक बेला आएको छैन कि !’ भन्थ्यो । आज भनें उसका एक मात्र काका पर्ने सुदर्शनले जोडै दिएर भने, ‘मलाई भन त । कसरी थाम्छस् तेरो जागिर ? कति दुःख दिन्छस् रोगी आमालाई ? आमाप्रति तेरो कुनै कर्तव्य छैन ?’

काकाको कुराले मुटुमै चोट परेको अनुभव ग-यो रविले, ‘काका, मैले आमामाथि अन्याय नै गरें र ?’ ऊ बोल्यो ।
‘हो, रवि, आमामाथि अन्याय भयो । सोच त तेरानिम्ति आमाले के गरिनन् ? अहिले आमालाई पानी तताएर दिने मान्छे छैन ।’ उनले रविको काँधमा हात राख्दै भने, ‘हेर बाबु, तँलाई मन पर्ने केटी छ । बाबुआमा पनि खुसी भएको पाएको छु ।’ काकाको कुरा सुनेपछि को रहेछ भनी सुन्न मन लागेको थियो उसलाई तर सोध्ने आँट भने गरेन ।

‘तपाईं भाग्यमानी नै हुनुहुँदो रहेछ, रवि सर । हार्दिक बधाई !’ शिवले भन्यो ।
‘किन ? मैले त बुझिनँ ।’
‘हुनसक्छ, चलन यस्तै त छ ।’ अर्को साथी केशव बोल्यो । ‘जे होस, एउटी असल जीवनसाथी पाउने हुनुभएछ । बधाई छ, मेरो पनि !’
‘को रहेछ त्यो अभागी ? मैले पनि चिनौ न ।’ रविले अनायास भनिदियो । तुरुन्तै ऊ आफैँले आफैँलाई प्रश्न ग¥यो, ‘हँ, किन ? कसरी अभागी हुन्छन् मसँग विवाह गर्ने मान्छे ?’ तर उसले यसरी मुख खोलेन ।
‘ल, के भन्नुहुन्छ ? रचानासँग सबै कुरा मिलिसक्यो भन्ने कुरा छ त !’
‘मेरो विषयमा, मलाई पत्याउनु हुन्छ कि गाउँलाई ?’ उसले भन्यो तर रचनाको नामसँगै उसको मन उसैतर्फ तानियो, हिजो स्कुल किन नआउनु भाको सर ? मुस्काउँदै भन्दाको अनुहार धपक्कै बल्यो । बाटोमा क्रस हुँदा टाढा पुग्दासम्म जहाँको तहीँ उभिएर टोलाएर हेरिरहेको दृश्य आयो । आमालाई डो¥याएर घरसम्म ल्याई खाटमा सुताएको दृश्य आयो । सर अब घर जान्छु है भन्दै बाहिरिएकी उसको गम्भीर अनुहार आयो ।
‘त्यसो त तपाईंलाई नै पत्याउनु प¥यो नि ।’ आकाश बोल्यो ।

‘हो, त्यसो भए यो सब हल्ला मात्र हो ।’ रविले भन्दै कक्षातिर गयो ।
केही दिन यता रवि रुमलिएको थियो यही विषयमा । बेलुकातिर काका फेरि आए । ‘रवि, उताको कुरा त लगभग पक्का भयो । अब घरसल्लाह गर्नु प¥यो । केही नगरे पनि अलिकति खर्च त भइहाल्छ । केही जोहो त गर्नै प-यो ।’
‘काका, कसको कुरा गर्नुभयो तपाईंले ?’ रविले आश्चर्य मानेझैं गरी भन्यो ।
‘लौ, उही क्या लम्साल माहिलाकी ठूली छोरी । के रे ? नाम ? ए ए रचना हो कि ! कि तँलाई मन पर्दैन र ?’
‘मैले त बल्ल थाहा पाएँ । अनि उसले मानी अरे त ?’ उसले थाहा नपाएर्झै ग¥यो ।
‘ल, उसले किन मान्नु प¥यो ? बाबुआमा सबै तयार छन् । अब त टीका लगाउन मात्र बाँकी छ ।’
‘होइन काका, तपाईंको कुरा पनि ठीकै त होला, उसले खुसीसाथ नस्वीकार्दासम्म मैले हुन्छ, हुन्न भनेर के हुन्छ र ?’
‘लौ लौ भो, मै बसेर सोधाउने भएँ, भएन?’ भन्दै काका त फर्के तर रवि ?

‘के उसले मान्ली ? आफ्नै चेलीसँग कसरी विवाह गर्ने ? तर के मैले यत्तिकै सुशील केटी पाउँला अन्त ? ऊ नै भए त घरको अवस्था पनि बुझेकी छ, राम्रै हुन्थ्यो ।’ सोच्दै पल्टेको रवि कतिबेला निदायो थाहा पाएन ।

काका भोलिपल्ट बेलुका पनि आए । रविकी आमा टाउकोमा मजेत्रो बाँधी बसेकी थिइन् । काका बोले, ‘ल रवि, मैले जिम्मा लिएको काम पूरा गरें । उसकी आमाका अनुसार त मानेकी मात्र होइन, खुसी पनि छ अरे । अब पनि तेरो केही भन्नु छ ?’
‘मलाई पनि मन परेकी छ त्यो नानी । शील स्वभाव राम्रो छ त्यसको । यसले पनि त मान्नै पर्छ, बाबु ।’ रविकी आमाले आफ्ना देवरतिर हेर्दै भनिन् ।
‘तपाईंहरूको यस्तै विचार हो भने ठीकै छ । के के गर्नुपर्छ तपाईंले अघि बढाउनोस् । यसो गर्नुप¥यो भन्नोस् । म त्यही गर्छु ।’ रविले सहमति जनायो ।
… … …
‘सर नमस्कार ।’ प्रकाशले हात जोड्दै उठ्यो र उसलाई बस्ने इसारा ग¥यो । रवि त्यहाँ पुग्दा प्रकाश बैठक कोठामै थियो । उसले सोध्यो, ‘ममी खोइ त प्रकाश ?’

‘अलिक बिसञ्चो भएर भित्र आराम गर्दै हुनुहुन्छ । सरलाई हतार त छैन होला नि ।’ प्रकाशले भन्दै थियो रचना बाहिरिँदै भनी, नमस्कार सर ।’
‘नमस्कार रचना । प्रकाशका अनुसार सञ्चो छैन भन्ने सुनेर आएको थिएँ । कस्तो छ ?’ रविले भन्यो ।
‘त्यस्तो त खास केही होइन, अलिक टाउको दुख्ने, जिउ गह्रुङ्गो हुने भएको हो । यसले भनेछ ।’ उसले भनी । तर उसको हेराइ, बोलाई सामान्य थिएन आज पनि यद्यपि उनीहरूको भेट धेरै पटक भइसकेको थियो ।
… … …
‘कस्तो छ तपाईंलाई ? अलिक हल्का भयो त?’ उसकी श्रीमती सरिताले टाउकोमा हात राख्दै सोधी ।
रवि बिरामी भएर अस्पताल राखेको दुई हप्ता भइसकेको थियो । केही दिन आइ. सि. यु र पछिल्ला दिन सामान्य वार्डमा सारिएकोले इष्टमित्रहरू पनि अब त ठीक भइसक्यो भने ठानी कम आउन थालेका थिए । अरूले कति दिन पो रेखदेख गर्न भ्याऊन् र । भएका दुवै छोराछोरी देशबाहिर भएकोले उसको देखभालको पूरै जिम्मा सरिताकै थियो । पन्द्र बीस दिनसम्म घर छोडी अस्पतालमा बसेकी सरिता पनि अस्वस्थजस्तै भइसकेकी थिई ।
‘खोइ, कस्तो भयो भनूँ । टाउको उठाउँनै सकेको छैन ।’ रविले टाउकोबाट आफ्नी पत्नीको हात पञ्छाउँदै भन्यो ।
‘अलिकति केही खान मन छ कि ?’ उनले सोधिन् ।

‘केही हेर्न मन छैन ।’ रविले टाउको अर्कोतिर फर्कायो । त्यसै समयमा क्याबिनको ढोका ढक्ढकियो । सरिता उठेर ढोका खोली । देखी, आफ्नै उमेरकी एक महिला विधवा पोसाकमा ढोकामा पर्खिरहेकी थिई ।
‘कसलाई खोज्नुभयो ?’
‘रवि सरलाई । उहाँ यहीँ हुनुहुन्छ ?’
‘हुनुहुन्छ । आउनोस् न भित्र ।’ सरिताले उसलाई भित्र बोलाई ।
‘सर, नमस्कार । बिरामी हुनुभएछ । कस्तो छ ?’ ऊ सरासर रविको बिस्तारामा गएर सोधी । रविले पुलुक्क हे¥यो र आँखा बन्द ग¥यो ।
‘विसेक हुँदै गएको छ ।’ रवि बोल्यो ।

‘मलाई खबर भएन । अल्लि पहिले आउँथें नि ।’ यति भनी सरितातिर फर्की । ‘तपाईं म्याडम हुनुहुन्छ कि ?’ रचना बोली ।
‘हो ।’ सरिताले टाउको हल्लाई ।
‘नमस्कार ।’ रचनाले बल्ल औपचारिकता निभाउँदै बोली ‘म उहाँकी चेली हुँ, मेरो बालककालकी । केही समयपहिले मात्र भेट भएथ्यो । उहाँ बिरामी हुनुभएको आज मात्र थाहा पाएँ ।’

उनीहरूका बीच सामान्य कुराकानी भयो । आलोपालो नपाएकी सरिता बोली, ‘केही समय बस्न भ्याउनुहोला ? म रिपोर्ट लिएर आउँछु ।’
‘ए हुन्छ नि । केही अरू छ भने पनि गरी आउनोस् । म बस्छु ।’
‘हस् । त्यसोभए घरसम्म पनि पुगेर आउँछु’ भन्दै ऊ बाहिरिई ।

सरिताले आफैँले बनाई ल्याएको अलिकति जाउलो मुखमा राखिदिई । उसले रचनाको आँखासँग आफ्ना जुधाउँदै घुटुक्क निल्यो । तर के भयो, रचनालाई देख्नासाथ उसको अनुहारमा एकएक मलिनता छायो । सँगै, ऊ अकस्मात उही दिन ती दुई बीचमा ठडिएको पर्खालको परिक्रमा गर्न पुग्यो ।
… … …
‘रवि, आज बेलुकातिर टीका लगाउने कुरा भयो । तैले तयारी गर । बरु आज स्कूल नगए हुन्न ?’ काकाले भने ।
‘के गर्नु पर्ला र ? दिन लामा छन् । चार बजे आएपछि पनि त भ्याइएला नि । अरू त तपाईंले गर्नुभएकै छ’ भन्दै रवि स्कूलतिर गयो तर बाटैमा उसको मानसिकता फेरियो । केही समयमै ऊ विदा लिई फक्र्यो र काकालाई भेट्न गयो ।
‘ए आइस् ? तीन बजेतिरै राखेको ठीकै भएछ ।’
‘मैले अरू केही गर्नु छ र ?’ रविले सोध्यो ।
‘के होला र ? बरु, भिनाजुलाई बोला न । घरै गएस् है ।’
‘हस्’ भन्दै रवि फक्र्यो ।
… … …
रचना रविको बिस्ताराकै आडमा टुल राखेर बसी । स्लाइन दिनका लागि क्यानुला जोडिएको रविको हात छोएकी मात्र थिई । त्यो आफैँ उसको काखमा आएर तेर्सियो । उसले हातलाई चपक्क समाती । हत्केला मुसारी । पहेंला देखिएका हत्केलामा अलिकति लाली चढ्यो । ‘मैले केही पहिल्यै थाहा पाएकी भए पनि त हुन्थ्यो नि ।’ ऊ बिस्तारै बोली । रविले आँखा चिम्म गर्दै आँसु झा¥यो । ‘म अचानक ढलें । कसले गरोस् र खबर ?’ उसको सास बोल्यो । रचनाका आँखा फेरि बग्दै थिए उसबेला बाबुको बोली सम्झी, ‘कहाँको भारती सहरमा नोकरी गरेर टन्न कमाउँने मन्छे, कहाँ यो गरिब केटो । अलिअलि उमेर बढी त हो नि । तेरो र मेरै उमेर फरक छ, खोइ के भा’छ र ? धनै नभ’सि सुशील भएर, उमेर मिल्दो भ’र मत्रै हुन्छ ? धेरै जान्ने न हो तँ ।’ भान्सामा बाबुले आमालाई झपार्दै गरेको कुरा झलक्क आयो उसको मनमा ।
… … …
दिनको एक बजेतिर काका एक अर्का मानिससहित आए । ‘काका त कति छिटै आउनु भयो । केही काम होला ।’ सोच्दै थियो रवि । आमा मझेरीमा बसेकी थिइन् । मझेरीमै राखिएको खाटमा बस्दै काकाले टाउको उठाउँदै खुइ®य गरे । अर्काचाहिँ पनि आडैमा थिए । यो देखेपछि रविकी आमाले सोधिन्, ‘के भयो र बाबू?’
‘धोका भयो ।’ काका बोले ।
‘हँ ? कस्तो धोका ?’ उनी आश्चर्यमा परिन् ।
‘छोरीको लागि मिल्दो जोडीभन्दा धन रोजे उनीहरूले ।’ उनको कुरा सुनेपछि आमाको अनुहार अँध्यारो भयो । रवि भित्रै थियो । केही नबोली बाहिरियो ।
… … …
‘केही त बोल्नोस् न ।’ रचना धर्मराउँदो स्वरमा बोली ।
‘के बोलू ? कसरी बोलू ?’ ऊ सासले बोल्यो ।
रचनाको हातमा रहेको उसको हात आफ्नो अनुहारमा छुवाई । रविका औंला सक्रिय भए । तिनले रचनाको मुख, नाक, गालाहुँदि उसका औंला डुलायो । रचना जुरुक्क उठ्दै अलिकति घोप्टी परेर हेरी । बिस्तरामा लडिरहेको रविको अनुहार रसिलो भयो । दुवैका आँखा जुधे । थाहै नपाई दुवैका आँखा रसाएर बग्न थाले । उसले टुलुटुलु हेर्दै थिई । आँखालाई आँसुको बादलले टालिसकेको थियो । उसका आँखाबाट तप तप झरेका आँसुका ढीका अघि नै बग्न थालेका रविका ढीकासँग एकाकार हुँदैै अनुहारमा समयले बनाएका खोल्साहुँदै बग्न थाले एकैसाथ र पुगे रविको हृदयमा ।
उसले बिस्तारै बोलायो, ‘रचना ।’
उसले साउतीको स्वरमा भनी, ‘हजू … र ।’

प्रतिक्रिया

सम्बन्धित खवर