✍️ हर्कबहादुर लामगादे ‘रोहित’

 

मेरो चाहना, ठूलै छ,
हावाको पखेँटा बाँधी
बादलको क्षितिजसम्म
उडान भरेर
बसाइँ सर्ने मन छ।

त्यहाँ मेरो सानो घर होस्
जसमा
बादलको भित्तो होस्
सूर्यको ज्योति छानो होस्
इन्द्रधनुश सुरक्षा कवच होस्।

आकाशमा उन्मुक्त उडान भर्ने चरी
मेरा असल पाहुना हुन्
मैले चाहँदा बादलको अनुषंसामा
पानीको थोपा भई
नदी, सागर, झर्ना,
गाग्रो, प्यालो,
वन, उपवन चौरतिर डुलेर
बास बस्न यही घर आउन पाऊँ।

मेरो घर अगाडि
कालचक्रले जणित भव्य आसन होस्
त्यही आसनमा बसेर
धिक मरून्जेल
पृथ्वीको रमिता हेर्ने थिएँ।

प्रतिक्रिया

सम्बन्धित खवर