✍️ सन्तोष सरील
अभिमन्यु तनावमा छ। उसको तनावको मापन कोठामा उडेको धुवाँ र एस्ट्रेमा भरिएको चुरोटको ठुटाले गरिरहेछन्। उसलाई परिक्षाको चिन्ता भनुँ, भर्खरै समाजशास्त्रमा मास्टर सक्काएको छ।
अफिसको/ कामको चिन्ता भनुँ , कुनै अफिस/काममा आवद्ध छैन। त्यसो त बेरोजगार नभनीहालौँ उसलाई कहिले त खाना खाने फुर्सद हुँदैन । फुर्सद मिले पनि निश्चित समय हुँदैन ।
ता होला भन्ने अनुमान गर्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ किनकी उसको त्यसमा रुचि छैन। तर राजनीति प्रती सचेत छ।
उसको परिचय सम्म यहाँ को सोच पुग्न सकेन। मैले नै चिनजान गराए-
उ साहित्यकार हो।
अर्थात उ कवि अभिमन्यु हो।
अर्थात उ गजलकार/मुक्तककार अभिमन्यु हो।
अर्थात उ निबन्धकार/नियात्राकार अभिमन्यु हो।
अर्थात उ गायक/गितकार अभिमन्यु हो।
अर्थात कथाकार अभिमन्यु हो।
अर्थात उ …… अभिमन्यु हो।
यो परिचय उ आफैंले आफ्नो नामको अगाडि जोडेको होइन। जसरी केही धर्म गुरुले जोड्छन् । या कुनै त्यस्ता ब्यक्ति जसको तत् तत् क्षेत्रमा योगदान शून्य हुन्छ र पनि सम्बोधन मा सुन्न रुचाउँछन् /भन्न लगाउँछन् – शिक्षासेवी /समाजसेवी / अभियन्ता … फलानो।
अभिमन्युलाई यो उपनाम अरुले दिएका हुन् ।फेरि अरुले भन्दैमा जसरी नारायणगोपाल/ लक्ष्मीप्रसादहरुलाई जनताले उपनाम दिए, त्यस्तो होइन । उसलाई उसको आफ्नै सिमित सर्कलले ती सव बनाइदिए ।जो उ हो । जो उ होइन। र उ आफैं यसरी फसेको छ कि कुन भ्रम , कुन यथार्थ छुट्याउन सकेको छैन।
र उसको तनावको कारण
– दुईदिनपछी एउटा कविता बाचनका लागि काठमाडौं देखि पोखरा जानुछ।
– एउटा कथा प्रतियोगितामा कथा पठाउने अन्तिम म्याद भोलि सकिँदैछ र कथालाई फाइनल गर्नुछ।
– एउटा अनलाइन गजल प्रतियोगिताको लागि पनि गजल पठाउनुछ।
– केही अनलाइनले रचना मागेका छन् । त्यो पनि दिनु नै छ।
– चिनेको साथीले एउटा वियोगान्त गित लेखेर एक हप्ता भित्र पठाउनु भनेको छ।
– घरबेटीको छोरा ( कक्षा आठमा पढ्छ) ले आउँदो शुक्रवारका लागि एउटा बालकविता भनेको छ। मान्नैपर्यो सित्तैमा वाइफाई चलाइरहेको छ।
– अर्को हप्ता केटाहरु लाङटाङ जाने भन्दैछन् ।त्यसको लागि केटाहरुलाई जोस्याउने डबल मिनिङ वाला गजल / मुक्तक पनि लेख्नैपर्यो।
त्यसबाहेक पनि आफ्ना ब्यक्तिगत समस्या र समय ब्यबस्थापनको कुरा छदैँछ। उसको चिन्ताको अर्को कारण भोलि नै 3 बर्षपछि जापान बाट उसको गर्लफ्रेन्ड साधना आउँदैछे र उ नै भोलि पोखरा निस्कनुछ। उ एरपोर्ट सम्म लिन जान पाउनेछैन। “तिमीलाई लिन म आउनेछु।” भनेर उसले गरेको बाचा र ” “पहिलोपटक तिमीलाई भेट्नेछु।” भन्ने साधनाको प्रढ धरापमा परेको छ। जसले गर्दा उनी रिसाइरहेकी छ र फकाउनुछ।
र , प्रमुख कारण बाह्र दिनभित्र गित र कविताको रियालिटी शो को डिजिटल अडिसनका लागि भिडियो पठाउनुछ। नपठाउ पनि साथीभाइको दबाब छ। पठाउनु /जित्नु भन्दा पनि चर्चा गरिएको पुरस्कार राशीले उसलाई सकस दिईरहेछ।
**
अभिमन्यु बच्चैदेखी प्रतिभाशाली ।बोल्नमा पारङ्गत। शब्दहरु खेलाउनमा माहिर थियो ।किनकी सत्यनारायण पुजा /बिबाह या स्कुलको पिकनिक होस् या बादबिबाद/ वक्तृत्व कला सधैं प्रथम हुन्थ्यो नभए द्वितीय त ढुक्क।
करीब चार सय बिध्यार्थी भएको विध्यालयमा मुस्किलले चार जना हरेक क्रियाकलापमा सक्रिय थिए। यसअर्थमा पनि प्रथम देखि सान्त्वना पुरस्कार यहि चार बिचमा घुम्थ्यो।
कविता प्रतियोगिता आयो- चार कवि।
निबन्ध प्रतियोगिता आयो – चार निवन्धकार।
….. प्रतियोगिता आयो- ……..।
अर्थात् , कुनै अभिनेता जस्तो जुनसुकै प्रतियोगिता भए पनि प्रतियोगी यहि चार हुन्थे। अन्त कतै स्रोत केन्द्र स्तरिय या जिल्ला स्तरीय मा यहि चार मध्ये कुनै एक वा दुई छानिन्थे।
बिध्यालयमा कुनै सास्कृतिक कार्यक्रम भयो – यिनकै सायरी / गजलले “वान्स मोर” पाउथे।
कक्षामा कुनै शिक्षक अनुपस्थित भए- यिनिहरुकै ध्वनी गुन्जन्थ्यो।
आफ्नै र छिमेकी बिध्यालयका केटाकेटिहरु यिनिहरुका फ्यान थिए/ भए। र प्रेमपत्रहरुको चाङ कितावहरुको बिचमा बाक्लै थियो।
पिकनिक / भ्रमण / जात्रा/ पूजा/ बिबाह/ब्रतबन्धहरुमा यिनिहरुलाई विशेष निगरानीमा राख्नुपर्थ्यो। नभए कसैले तानेर वा कसैलाई तानेर कतै हराउन सक्थे। तर हराउने नै मामलामा अरु निकै पोख्त र अगाडि थिए।
उनिहरुमा दम्भ/ घमण्ड थिएन । तर भ्रम थियो। सिकाउने / सच्याइदिने कोहि थिएनन् ।उनिहरुले जे लेखे आफैं खोजेर ,सुनेर, पढेर लेखे। जे देखे, त्यही लेखे।
त्यो समय त्यति लेखिनु पनि ठूलो कुरा हो । (हुनत अहिले पनि लेख्नु ठूलो कुरा हो तर अलि अलि जान्ने भएकाहरुले जान्न खोजिरहेकाहरुलाई हात समाएर हिडाउनुको साटो खुट्टा तानेर लडाउँछन्।)
निरन्तरता र भ्रमले अभिमन्युलाई – अनेक पुरस्कार र प्रमाणपत्र दियो।
– आफ्नो बिध्यालय र गाउँ देखि अर्को बिध्यालय र जिल्ला सम्म चिनायो।
– कलेजमा उहि धेरैको नजरमा पर्यो।
– साहित्यिक कार्यक्रमहरुमा देखिन थाल्यो।
– एकाध साहित्यिक समूह र क्लबहरुको प्रतियोगिता जित्यो।
– प्रतिष्ठित ब्यत्तिहरुलाई भेट्ने अबसर पायो।
– फेसबुकमा धेरै साथी बनेका छन् र त पोस्टहरुमा लाइक , कमेन्ट , सेयरको बाक्लो उपस्तिथिती छ।
– उसलाई अरुले कवि जी। लेखक आदि इत्यादि जोडेर सम्बोधन गर्ने भएका छन् ।
– उसको आफ्नै सर्कल छ र त्यसको उ “नायक” बनेको छ।
उसलाई हेरेर लाग्छ सबै भ्रमहरु आफैंमा गलत हुँदारहेनछन् । तर, डर लाग्छ – उसलाई त्यो भ्रमहरुले छोडेको दिन के उ उहि रहला?
**
” समय फेरिएको छ ।” माफ गर्नुहोला गलत बोले। समय उहि हो ।दृश्य र परिबेश फेरिएको छ। फेरि पनि माफ गर्नुहोला । यो पनि गलत नै छ। सत्य के हो? त्यो तपाईंलेनै अनुभव गर्नुभएको छ।
बस् ! धेरै कुरा बदलिएको छ। अभिमन्यु पनि त बालापन र यौवनको थुम्का चढेर युवाअबस्था को पहाड फुटाउदैछ। पहिले उसका डायरीहरु धेरै भरिए।अहिले मोबाइलमा शब्दहरु खादखुद पारिरहन्छ।पहिले आँखा चिम्लन्थ्यो – जिब्रो तेर्साइहाल्थ्यो।अहिले आँखा तन्काउछ।मोबाइल तेर्साउछ।
पहिले सुनाए बापत ताली पाउथ्यो। अहिले कहि कतै खादा र खाजा पाउछ , भाइरल हुन्छ।
अहिले केही दिन बिराई उसका रचनाहरु अनलाइन पोर्टलमा कपि पेस्ट हुन्छन् । केही महिना बिराई पत्रिकाहरुमा छापिन्छन्।जहाँ जहाँ हजुर / ज्यू / यार/ दोस्त छन् त्यहाँ त्यहाँ पकड राम्रै छ।
उ मा फेरि पनि दम्भ छैन ।घमण्ड छैन। तडक भडक पनि छैन। छ त केवल भ्रम छ। मलाई डर यत्ती हो कि उसलाई यो भ्रमले कुन भड्खालोमा हाल्छ…!
हुनत अभिमन्युको मात्र के कुरा यो शहर नै भ्रममा छ। संसार नै भ्रमित छ।
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिवार नियोजन र गर्भनिरोधकका साधनहरुको बिज्ञापन धेरै सुन्यौ हेर्यौ। जस्तो कि ” झिल्के दाइ ..” ” हामीलाई पनि मायाले हेर… ”
तर यी बिज्ञापन बजाए आफैमा लागू गरेनन् या बुढापाका का आशिर्वाद लाग्यो- “सन्तानले डाडा काडा ढाकुन्।” नभए यति बिघ्न ” च्यानल” कसरी जन्मिए। अझै रोकिएको छैन।अझै बढ्दैछ र भाइरल वाला भाइरसले खोक्रो पार्दैछ सृजनालाई।अभिमन्यु यसै/ त्यसै रमाएको छ।
आँखा मा पर्न आकर्षक चाहिन्छ। अरु भन्दा पृथक देखिनुपर्छ। आँखा मा परेपछी न हृदयसम्म जाने बाटो कोरिन्छ। बिश्वास जित्यो भने मुटुमै बास गर्छ।यादमा राज गर्छ।
र त आकर्षक देखिने होडबाजीमा संसारभर होहल्ला फिजिइरहेछ। गित / संगीत र साहित्यमा पनि त केही ब्यक्ति र समुहको फाइदाको लागि अनेक ” शो” जन्मिरहेछ। चलिरहेछ।
उहिले केही थिएन थियो त रेडियो नेपाल , जो जो आज अमर छन्। कालजयी संगित छ – उहिबेलाको छ।
उहिले केही थिएन थियो त नेपाल टेलिभिजन , जो जो महान् कलाकार छन् – उहिबेलाको छन् ।
उहिले जेहि थिएन ।थियो त गोरखापत्र , जो जो आज पनि महान् साहित्यकार छन् -उहिबेलाका छन्।
अभिमन्युहरु कमजोर त कहाँ हुन् र !
अहिलेकाहरु को ध्यान छ त केवल – ब्राण्डमा । आकर्षक प्याकिङमा। बिजनेसमा।
मकैको स्वाद पपकर्न भन्दैमा पक्कै फरक हुन्न।
भुटेको भातलाई फ्राइ राइस भन्दैमा गुण बदलिन्न।
**
एक हप्ताको व्यस्त समयको सफल ब्यबस्थापन पछि अभिमन्यु साधना संग गोदावरीमा गोदावरी जस्तै मुस्कुराउदैछ।
डिजिटल अडिसनको भिडियो क्लिप (अन्तिम दिन) साधनाको हातबाट सेन्ड गरेको छ।
– तिमी मेरो लक्की चार्म हौ। अभिमन्यु उनको हात चुम्दै भन्छ।
– गफाडी …! उनी हात तान्छिन्।
– कसम। तिमी आएदेखी मैले सब चिज पाएको छु। उनी अभिमन्युको अङगालोमा लुटपुटिन्छे।
– मेरो लागि एउटा कविता ..
– भयो.. मायाका कुरा गरौंन।
– नाई सुनाउनुन। मेरो निम्ति लेखेकोछु भन्नू भएको होइन।
कहिलेकाही मक्ख पार्न भन्ने गरेको थियो।आज समस्यामा पर्यो।
मोबाइलको लक खोलेर खोज्न थाल्छ। साधनाको केश चलाउँदै सुनायो-
“अकस्मातको भेट
र जुधेका हाम्रो नजर ..
अपिल गर्दैछन् अन्जानमै फूलेको प्रेमले
बिर्सिएर बन्धनहरु,
च्यातेर चेतनाको पातलो पर्दा
आउ!
सुरुवात गरौं
प्रेमिल स्पर्शको गन्तव्य सम्मको यात्रा।
लजाउदै /झुक्दै/ लुक्दै
मलाई नै हेरिरहने तिम्रा आँखा
प्रेमको उर्लदो बेगले
तन्कन खोज्दै फेरि रोकिदैं काँपिरहेका तिम्रा ओठ ,
फिलिङ्गो भएका ती गाला ,
तिमी भित्र उर्लिरहेको प्रेम
छिटो छिटो फूल्दै / खुम्चदै गरेको मुटु
र तिम्रो तातो सासको रापले
मलाई “म ” भइरहन दिदैंन।
आउ प्रिय !
एकसाथ मायाको आकाशमा
बादलले जस्तै लडिबुडी खेलौं।”
अभिमन्युको केही दिन साथिभाई संगको छोटो जमघट र प्रेयसी संगको बाक्लो भेटघाट मा बित्यो। अब उसलाई आफ्नो सर्कलका साथीले किताब निकाल्न उक्साउदै थिए। उ फेरि अर्को भ्रमको कुहिरो भित्र रुमल्लियो।
**
चिया गफमा ब्यस्त अभिमन्युलाई एउटा फोनकलले शान्त बनाउँछ। केही उत्साहित र छिनमै संयमित हुन्छ। सामान्य बन्छ।
– साथीहरु म निस्किए।
– कता ? कमल ले प्रश्न गर्छ।
– पछि भन्छु। उ निस्कन्छ।
– पक्कै भाउजुको कल हो। साथीहरुले उडाउछन्।
अभिमन्यु सरासर आफ्नो कोठामा गयो। फर्मल ड्रेस लगायो र डिल्लिबजार तिर हानियो।
गित को रियालीटी शो को डिजिटल अडिसन पार गरेको जानकारी पाउँछ।
अब दोश्रो चरणको सुरुवात , त्यस अघि सम्झौता पत्र सहित केही कार्यक्रम निर्माताहरु रायन कार्की , हेमन्त थापा र करुणा श्रेष्ठ बसेका छन् ।
– बधाई छ, अभिमन्यु जी। करुणाले बोलिन्।
– धन्यवाद म्याम।
– कस्तो महसुस भइरहेछ। रायन कार्की मुस्कुराउदैं सोध्छ।
– खुशिको सिमा छैन।
– अझै सफलताको कामना। हेमन्त थापा मोबाइल टेवलमा राख्छ।
– धन्यवाद सर।
” हाम्रो रियालिटी शो अरु भन्दा फरक छ। फरक गर्ने कोसिसमा पनि छौँ । उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्नका लागि कुनै पनि कुरामा हाम्रो केही कम्परमाइज हुने छैन। ” करुणा श्रेष्ठ हेमन्त तिर आँखा घुमाउछिन्।
” दोश्रो चरण पछि भोटिङ सुरु हुन्छ। त्यो यहाँको मिहेनतमा भर पर्छ। कस्तो प्रस्तुति दिनुहुन्छ र कत्तिको प्रभाव पार्न सक्नुहुन्छ। अनि अर्को कुरा कति लगानी गर्न सक्नुहुन्छ, त्यसमा निर्भर रहन्छ।”
हेमन्तको कुरा काट्दै अभिमन्यु बोल्छ- मेरो आजसम्म को सक्रियताले राम्रै छाप छोडेको छ। धेरैमा , धेरै ठाउँमा ।
रायन थप्छ – त्यो भन्दा महत्वपूर्ण कुरा दोश्रो चरणका लागि कति लगानी गर्न सक्नुहुन्छ ?
– बुझिन । दोश्रो चरणमा त निर्णायकको निर्णयनै अन्तिम हुन्छ होइन ?
रायन हास्दै- हुन्छ…। तर हाम्रो निर्देशनअनुसार। तिमीमा सम्भावना देखेर नै यसरी भेटेका हौं । पहिलो चरणबाट पचास जनाको बन्द सुचि तयार गरेका छौँ । त्यसमध्य अठार जनालाई विशेष रुपमा राखेका छौ। त्यसअन्तर्गत तिमी पर्छौ।
– म छानिन , मैले नै पैसा तिर्नुपर्ने । मेरो प्रतिभाले हुँदैन ?
– हामीले प्रतिभाको कदर गरेकै कारण यसरी समय दिइरहेछौ। बीउ नरोपी बोट उम्रन्छ त? करुणाले कुटिल मुस्कान फ्याक्छिन् ।
” भोलि सम्मको समय छ। बिचार गर। “रायन बसेको ठाउँबाट उठ्छ।
अभिमन्युले खुशिको सगरमाथा यसरी गर्ल्याम्म ढल्छ भनेर सोचेको थिएन। प्रतिभाको पदोन्नतिका लागि पैसा… !उसलाई फिटिक्कै चित्त बुझ्दैन। घरमा आइपुग्नासाथ सम्पुर्ण अवार्ड र प्रमाणपत्रहरु फिजाउँछ।
अचम्म – धेरैजसो अवार्ड र प्रमाणपत्रहरु दिने संस्था पहिले नै चिनजान भएकाहरु मात्र थियो। र उ जहाँ जहाँ असफल भयो त्यहाँ उसको कुनै सम्बन्ध कतैबाट थिएन।
सबै प्रमाणपत्रहरुलाई ठूलो सिल्भरको बाटा मा राख्छ। किचेन र्याक को ड्रअर बाट लाइटर निकाल्छ।
बिस्तारै प्रमाणपत्रहरु जल्छन्। दनदनी बल्छ।
” कुखुरी काँ !” चारपटक मोबाइलबाट कृतिम भाले बास्छ। पसिनै पसिना भएर अभिमन्यु झल्यास्स बिउझिन्छ।
बिहानको पाँच बजेको अर्लामले उसको सपना त टुट्छ तर सपनाको प्रभाव गहिरो पर्छ।
कालो चिया पिउदैं सपनामा जस्तै गरि फिँजाइएको प्रमाणपत्रहरु सुम्सुम्याउँछ।आफ्ना पुराना डायरीहरुलाई पल्टाउँछ।अनौठो असन्तुष्टिको धर्सा निधारमा देखिन्छ।
उ दिनभर कोठाबाट निस्कदैंन। न कसैको फोन उठाउँछ। प्रमाणपत्र र डायरी छुदैं / पढ्दै मात्र गरिरह्यो।
करिब चार बजे पुनः चौबिसौं पटक मोबाइल बज्छ।
सेभ नगरिएको ल्याण्डलाईन नम्बर हुन्छ।
कल उठाउँछ।
– नमस्कार अभिमन्यु जी बोल्दै हुनुहुन्छ?
– हजुर।
– बधाई छ । यहाँको कविता डिजिटल अडिसनमा उत्कृष्टमा पर्न सफल भएकोछ। र अब दोश्रो…. ।
गितको रियालिटी शो को सपनाले बिहान देखि मौन र चिन्तित अभिमन्युले पूरा कुरा नसुनी फोन काट्छ।
उसको अनुहारमा रहस्यमय चमक देखिन्छ।
प्रतिक्रिया
-
४