✍️ सन्तोष सरील
(१)
परदेशमा पसिना बेचेर
थोरै दशैँ बोकेर घर हिडेको थियो परदेशी ।
केही दिनपछि दसैँले उसको घर बोकेर हिड्यो।
(२)
छोराले कानमा सिउरिएको जमरा हातमा लिदैँ सोध्यो
बा ! किन पहेँलो हुन्छ जमरा ?
उसले एकपटक आफ्नो अनुहार ऐनामा हेर्यो।
अर्कोपटक श्रीमतीको आँखामा हेर्यो।
भोलिपल्ट छोरा नउठ्दै –
लालपुर्जा साहुकोमा राखेर घरबाट हिड्यो।
(३)
उसले त्यो दिन देखि नै दसैँ मनाउन छाडेको हो।
जब एक दिनको रातो टिकाको लागि
बर्षभरी मुटु फुटाएर रगत बगाउन पर्यो।
(४)
दैलोमा मेरो पैतालाले टेकेपछि
मेरि आमाको अनुहारबाट
पर्खाइको अत्यासलाग्दो झरी उघ्रन्छ।
तपाईंहरूलाई थाहा छ–
एक बर्ष मा म जतिपटक
आमाको काखमा शिर टेकाउछु
त्यति नै पटक / त्यति खेर नै
दसैँले मेरी आमासंग बास माग्छ।
(५)
मृत्युु यस्तो निरर्थक पनि नहोस् –
जस्तो हरेक दसैँमा
देवीलाई चढाइएको बोका
र हरेक आन्दोलनमा
गोली खाएर बनेका सहिदको जस्तो।
प्रतिक्रिया
-
४
