✍️ बिष्णु वाग्ले

 

मुक्तक – एक

हमेसा जोखिम उठाउन रुचाउने मान्छे
दुस्मनको पनि दिलमा छाउने मान्छे
मर्दैन उ जिउँदो नभए पनि यत्ति बुझ्नुस्
अरुको हाँसोमा आफ्नो खुशी पाउने मान्छे

मुक्तक – दुई

जोडेर दिल एकातिर पाइला अन्तै चाल्ने भन्दा
दियोमा तेल थपी राख्ने महान लाग्छ बाल्ने भन्दा
सम्बन्धलाई टुक्र्याउन कानमा विष हाल्नेहरू
अपराधी नै लाग्छ अचेल खानामा विष हाल्ने भन्दा

मुक्तक – तीन

संसार लुट्यौ सँस्कार दिने कुरा गरेपछि
जिउँदै मरेँ सिन्दुर अनी चुरा हरेपछि
भाग्य यसै काटिएछ अब गर्धन काट्ने होला
अंश बन्डा गर्दा भागमा छुरा परेपछि

मुक्तक – चार

अनेक सपना बोकेर परदेश भासिएँ
निस्केका आँशु रोकेर परदेश भासिएँ
बसुँ गास त जाउँ फर्कने आश छैन
मुटुमा किला ठोकेर परदेश भासिएँ

मुक्तक – पाँच

बिचलित हुँदैनन र भरोसा पालेर बस्छन्
चोखो प्रेमको खातिर जवानी फालेर बस्छन्
तिनका खुशी रातो कफनमा नपठाइदे इश्वर
दैलो उघारै राखि साँझमा दियो बालेर बस्छन्

प्रतिक्रिया

सम्बन्धित खवर