✍️ विष्णु नगर
अनुवाद : बलराम तिमसिना

सुँगुरलाई सायद
आनुवंशिक रूपबाटै थाहा हुन्छ होला
मानिसको आँखामा‌ ती
कुकुर,बिराला र मुसाभन्दा पनि गएगुज्रेको हुन्
त्यसैले ती मानिससँग कुनै अपेक्षा राख्दैनन्
तिनीहरूको थुतुनो,
तिनीहरूको घाँटी
र तिनीहरूका आँखा
भुइँमा‌ केही खोजी गर्दै
सँधै उँधै हुन्छ
सायदै तिनीहरूले
कुनै मानिसको अनुहार देखेका होलान्।

आफ्ना छोटा पुच्छरलाई
पेण्डुलम‌ जसरी घुमाएर
लामखुट्टे भगाउँदै
तिनीहरू
त्यो स्थानमा पनि केही खोज्छन्
र खाइरहेका देखिन्छन्
जहाँ केही हुने कल्पना
मानिसले त गर्नै सक्दैन ।

तिनीहरू
लखेटिने र गाली खानेमा
यति धेरै बानी परिसकेका हुन्छन् कि
चिच्याउँदै भाग्ने बाहेक
तिनीहरूलाई केही आउदैन
तिनीहरू
यति दरिद्र र पददलित छन् कि
तिनीहरूका बच्चाप्रति
नागार्जुन जस्ता कविमा मात्रै
प्रेम पलाएको थियो ।

यसरी,
गिध्दहरू जसरी नै एक दिन
ती पनि हाम्रो संसारबाट विपत्ता हुन थाल्ने छन्
किन कि
त्यो बेलासम्म
हामी यति ‘सभ्य’ भैसक्ने छौं कि
उनीहरूलाई डुल्नका लागि
कुनै ठाउँ नै बाँकी रहने छैन
अनि तिनीहरूले केही कुरा कहाँ खोज्लान ?

तर एक दिन यो संसार
एकाएक दुर्गन्धले भरिने छ
जब उभिन पनि गाह्रो हुन थाल्नेछ
त्यसपछि
ती दरिद्रहरूलाई
कहीँबाट फेरि ल्याइने छ
अनि
तिनीहरू
कहीँ गएकै थिएनन् जसरी
उसैगरी
टाउको निहुराएर
फर्केर आउने छन्

प्रतिक्रिया

सम्बन्धित खवर