✍️ पराजित पोमु

कविता बुझ्न पहिले कविलाई बुझ्न पर्छ।कविलाई बुझ्न पहिले उसले उभिएको समय, उसले टेकेको भुगोल, बाचेको धरातल र उसको सभ्यता बुझ्नु पर्छ । सभ्यता एक ब्रमान्ड हो, कविता बुझ्न कवि उभिएको सभ्यता बुझे काफी हुन्छ ।

नेपालको सुदुर पूर्वी किरात सभ्यता भित्र राई समुदायको बाक्लो बसोवास रहेको खोटाङबाट झुल्किएकी रानाहँमा प्रवासी थलो कोरियामा बसेर काव्य कर्ममा पार्ट टाइमर कविका हकमा कविता लेखनको संभावना आमाको तास संग्रहका कविताहरूले देखाएको छन्।

आधुनिक विकास र समृद्धिसित जीवन डिजिटल सिडीमा छ, मानवता भित्र चेतना, संवेदना र मान्छेत्व बिच विभक्ति बढ्दै गएको बेला आजको आधुनिक दुनियालाई पुनः सुदुर अतितमा डोर्याऊदै छ यस काव्य संग्रहले । चाहे पानी तास फोटो होस या त रिलमा खिचिने तास फोटो होस् कुनै बेला कैचिले काटेर आफ्नो पर्सको जेबमा खादेर हिड्ने प्रचलन या,आफूलाई मन परेको मायालुलाई फोटो साटासाट गर्न हाटबजार गएर खिचेर ल्याई पठाऊने समयको स्मृतिसम्म पुग्न सकिन्छ । आमाको हुर्कन्दो चल्तीको जोवानी उमेरलाई कवितामा उतारेको मात्र छैनन् बुबालाई समेत आफ्नो ढल्कदो उमेरमा पुरानो आमासंगको चल्तीको प्रेमिल सुदुर अतितमा चुर्लुम्म डुलाएको छिन्–

साकेला गीत गाऊदै ÷ जीवनको सिली फेर्दै
रहरे सेल्टीहरूसँग नजर जुधे पनि
आपाकै मन प्रेमले जितेर
आमाको गर्भबाट म जन्मिएँ हुँला । (आमाको तासफोटो, पृ. ५९)

हामीले हाम्रो सौन्दर्य, संस्कृतिको मिमांसालाई लेख्दा मुन्टो घुमाएर किनारा लागेर हिड्नेहरूको पनि कमी छैन । तै पनि कविले आफु हुनुको बोधमा आफ्नो संस्कार र संस्कृति मान्यतालाई कवितामा यसरी पोखिन्छिन् –

म रूँदा मलाई फकाउन
आपाले बजाएको बिनायोको धुन
त्यही धुनमा झुल्दै हुर्किएकी हुँ म
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म । (आदिवासी, पु. १०७)

भनिन्छ जब गाऊ,घर देशको माया जति नजिक हुदा भन्दा टाढा हुदा प्रगाढ हुन्छ भने झै गाऊका उकाली ओराली भञ्याङ् देऊरालीहरूमा डुलाएकी मार्दै आफ्नो परमपरागत संस्कार आस्थालाई हस्ताक्षर गरि कविताबाट आफूलाई इश्वरको आस्तिक रूपमा पनि यसरी उभ्याएको छन् ।

गर्नु बिजुवाको टुङगो
राख्नू घरमा चिन्ता
राखेर एक मुठी अछेता
हेराऊनू जोखना परदेशीको…। (कचुर, पु.१२०)

समय सधै सपेक्षतामा रहन्दैन समय एक अनन्त यात्रा हो यहि यात्राक्रम भनौ या त सपनाले डोर्याएको बाटोमा डोरिन्दै कोरियालाई आफ्नो कर्म थलो बनाएको मात्र छैन्न। प्रवासको भोगाइका तितामिठा अनुभुतिहरूलाई गमलामा रोपेर सुन्दर फूल फुलाएको छन् कविले कविताको ।
कम्तिमा १२ घन्टा कामको लछारोले थकित, असन्च हुदा पनि घरदेशबाट कसैले खबर सोधे सन्चै छु भन्ने कस्मेटिक उत्तरहरू दिनु परेको वनावटी ओठमा मुस्कान छरेर हिड्नु परेको तितो यथार्थ आम प्रवासी कामदारहरूको साझा कर्मलाई समेत कविले कवितामा यसरी पोख्छन्–

‘विन्दास छ !’
यो त तिमीले सोध्ने खबरको जवाफ हो
केवल जवाफ
यथार्थमा हालखबर पुरै बन्धकीमा छ। (हालखबर पृ.७६)

देशको राजनीति अस्वस्थ्यताले देश गम्भिर थलिएको छ, स्वास्थ्य। शिक्षा, रोजगागी सोचे भन्दा पर छ, दिनानुदिन शिक्षित युवा बर्ग बिदेसिने क्रम बढ्दो छ, अभाव, अशान्ति,भोक,रोगको क्षेत्रफल बढ्दो छ त्यसैले यस्ता आयतनलाई घटाऊन आफू पनि प्रवास लागेको तर झन भोकको ब्याप्त सहर मेसिनको शहरमा पुगेको बताऊछन् कवि।।। मेसिनको सहरमा पुजिवादले निर्माण गरेको मानव निर्मित रोवर्टले मानवलाई पुनः रोवर्ट जस्तै बनाऊदै लगेको भाव कविताका अनुभुतबाट सजिलै बुझ्न सकिन्छ–

एकोहोरो !
यन्त्रकै आसपास बित्ने गर्छ समय
घामले पर्दा खोल्नु पहिल्यै
धरतीमा जूनले चियाऊनुअघिसम्म
यन्त्रका ध्वनीहरूकै नेपथ्याबाट
लाग्छ कसैले जुलुस लगाई रहेछ जिन्दगीकै
लाग्छ जिन्दावाद र मुर्दावाद भनि रहेछ यन्त्रकै । (यन्त्रको जिन्दगी पृ.५३)

कला र विचारको मध्यमार्गी बाटोमा ऊभिएको छन् कविताहरू । पहिचान बिषय मिश्रित पक्षमा उठेको पाइन्छ,नारी संवेदना, बिद्रोह र समयसित भोगाईका जीजीविषाबाट कविताको प्लट उठान पाइन्छ ।कविता बणनात्मक शैलीमा बुनिएको छ एकाध विम्ब र मिथ सम्रिसणले कविताको उचाई र गहनतामा आशा राख्ने प्रयाप्त ठाऊ छ। सरल र सुलिलत शब्दहरूको समायोजन विम्ब र प्रतिकहरूको आयोजना र मिथकहरूको समन्वयता कविताको दर्विलो पक्ष हुन् सक्छ उनको काव्य चेतनाले कविको बॅाकी लेखन यात्रा लागि ।

कविता जीवनको समालोचना हो ।– मैथ्यु अर्नाल्ड को भनाई जस्तै जीवनका सिलिहरूलाई टिपेको छन् समयसित यात्रा गरेकी छिन् ।समग्र जीवन र जगतलाई नजिकबाट चियाऊने प्रयत्न गरेको पाईन्छ काव्यका हरफहरूमा।

केहि कविताहरूमा भने पिडं खेल्न लट्ठारोमा झुन्डीएर जबरजस्त मच्याऊन खोजेको हो की जस्तो, गहिराईको निसानामा पोखरीमा बाडं्काटे हानेर पौडिएको लय जस्तो कविता पढ्दै जादा पाठकहरूमा भान पर्न सक्छ।माया एन्जेलाको भनाईलाई उद्धृत लिने हो भने कुनै बेला सागर भन्दा पानी धेरै हुन्छ भने झै केहि कवितामा कविले पुनः पठन र पुनः लेखनमा कन्जुस्याई गरेको ठम्याऊन सकिन्छ। समग्रमा पठनिय वनेको छ आमाको तास फोटो कविता संग्रह ।अन्तत् आगामी दिनका लेखन यात्राको लागि शुभकामना । तथास्तु ।।

कृति – आमाको तासफोटो (कविता संग्रह),कवि – सुष्मा रानाहँमा, प्रकाशक – फिनिक्स (काठमान्डौँ संस्करण – पहिलो,२०७७ पुस, मूल्य – रु.२७५ / पृष्ठ. १२२

प्रतिक्रिया

सम्बन्धित खवर